असोजमा घरजग्गाको कारोबार बढ्यो, ५ अर्बभन्दा बढी राजस्व संकलन



काठमाडौं । देशभर कोरोना भाइरस महामारी तीव्र रुपमा बढी रहेको समयमै लकडाउनपछिको असोजमा सबैभन्दा बढी घरजग्गाको कारोबार भएको छ ।

असोज महिनामा देशभरका १ सय ८ वटा मालपोत कार्यालयहरूबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपि जस्ता कार्यगरी कुल एक लाख ७० हजार १ सय १ को कारोबार गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ ।

विभागअन्तर्गत १ सय २६ कार्यालयमध्ये अनलाइन प्रणाली सञ्चालन भएका १ सय ८ कार्यालयहरूको मात्रै कारोबार भएको तथ्याङ्क समावेश रहेको विभागले जनाएको छ ।

साथै, अनलाइन प्रणाली लागू नभएका बाँकी १८ कार्यालयहरूको कारोबार यसमा समावेश गरिएको छैन । तर, यी १८ वटा मालपोत कार्यालयमा पनि दशैंपछि अनलाइन प्रणाली लागू गर्ने विभागको भनाइ छ ।

त्यस्तै, देशभरका मालपोत कार्यालयबाट असोज महिनामा ५६ हजार ८ सय ३८ लिखित पारित, ३ हजार ४ सय ८३ नामसारी, ४ हजार ५२ संशोधन, ५८ हजार ४ सय ७१ रोक्का र ३३ हजार ७ सय ८० फुकुवा गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्याङ्क अनुसार असोज महिनामा सबैभन्दा बढी कारोबार गरेकोमा भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर–झापा रहेको छ । जसमा भद्रपुर झापाले असोज महिनामै ६ हजार ८ सय ८१ कारोबार गरेको छ ।

त्यसैगरी, बेलाबारी– मोरङले ५ हजार ८ सय ८४, नेपालगञ्ज–बाँकेले ५ हजार ५ सय ९१, भक्तपुरले ४९ हजार ९, जनकपुरधाम–धनुषाले ४ हजार ८ सय ७३ लगायत अन्य देशभरका मालपोत कार्यालयले असोजमा उल्लेखनीय कारोबार गरेको छ ।

५ अर्ब राजस्व संकलन
कोरोनाको महामारीले सुस्ताएको घरजग्गाको कारोबार असोज महिनामा उल्लेखनीय कारोबार भएसँगै सरकारले ५ अर्ब २७ करोड २० लाख ५३ हजार राजस्व संकलन गरेको छ । कोरोनाले लकडाउन भएपछिको सबैभन्दा बढी कारोबार तथा राजस्व संकलन भएको तथ्याङ्क हो ।

सरकारले देशभरको मालपोत कार्यालयबाट सेवा करवापत ३७ करोड ९१ लाख ४१ हजार, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ९१ करोड ५२ लाख १४ हजार, पूँजीगत लाभ करबाट १ अर्ब ३३ करोड २१ लाख ८५ हजार र बिलम्ब शुल्कबाट ३१ लाख ५१ हजार ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

लगनखेल मालपोत कार्यालयबाट सबैभन्दा बढी राजस्व संकलन
असोज महिनाको हेर्दा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय ललितपुर–लगनखेलबाट सरकारले राजस्व संकलन गरेको छ ।

ललितपुर–लगनखेनबाट मात्रै ४४ करोड ५ लाख ८३ हजार राजस्व संकलन गरेको छ । जसमा उक्त कार्यालयबाट रजिष्ट्रेशन शुल्क मात्रै २८ करोड ७५ लाख १३ हजार र सेवा करवापत १ करोड ६९ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी, मालपोत कार्यालय डिल्लिबजारले ३८ करोड ८८ लाख १९ हजार, कलंकीले ३४ करोड १५ लाख ४४ हजार, भक्तपुरले ३२ करोड ६६ लाख ७ हजार, चावहिलले २९ करोड ६ लाख ६३ हजार राजस्व संकलन गरेको छ ।

त्यसैगरी उपत्यकाबाहिरमा सबैभन्दा बढी कारोबार गर्नेमा कास्की अगाडि रहेको छ । कास्कीले असोज महिनामा १७ करोड ८४ लाख ८४ हजार राजस्व संकलन गरेको छ । त्यस्तै, विराटनगर–मोरङले १७ करोड २६ लाख ८६ हजार, चितवनले १० करोड ३० लाख १ हजार, नेपालगञ्जले ९ करोड ४५ लाख १८ हजार राजस्व संकलन गरेको छ ।

यस्तो छ कारोबार बढ्नुको कारण ?

कोरोनाले मालपोत कार्यालय कहिले बन्द कहिले खुल्ला भइरहेको अवस्थामा असोज महिनामा विना कुनै रोकावट सेवा प्रवाह भएकाले राम्रो कारोबार भएको विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन् ।

उनका अनुसार देशभरका सबै मालपोत कार्यालयहरूले प्राथमिकतामै राखेर कोरोनाको समयमा पनि उच्च सतर्कता अपनाई सेवा प्रवाह दिएको बताए ।

‘कोरोना संक्रमितको संख्या बढे पनि दशैं नजिकिएको कारणले गर्दा पछि बन्द हुन्छ की भनेर सबै कार्यालय खुलेर कारोबार ग¥यो,’ उनले भने, ‘विगतको दिनमा रोकिएको काम पनि असोजमा भएकाले सबैभन्दा बढी कारोबार र राजस्व संकलन भएको हो ।’

त्यसैगरी, वर्षा (असार, साउन, भदौ) को बेलामा कारोबार कम हुने र असोजदेखि कारोबार बढ्दै जाने भएकाले पनि बढी कारोबार हुन पुगेको उनको भनाइ छ ।

यसका साथै, कोरोनाले गर्दा दशैंपछि कार्यालय खुल्दैन भन्ने चिन्ताले पनि मानिसले रोकिएको काम कार्यालय खुलेको बेला गर्नुपर्छ भन्ने मानसिकताले पनि कारोबार बढेको उनले अनुमान लगाएका छन् ।


क्लिकमान्डु