पहिलो बन्ने एनआइसी एशियाको सपना पूरा भयो, पहिलो त्रैमासमा कुन बैंकले कति व्यवसाय बढाए ?



काठमाडौं । कोरोना कहरका बाबजुत पनि एनआइसी एशिया र प्रभु बैंकले उल्लेख्य मात्रामा व्यवसाय विस्तार गरेका छन् । कतिपय बैंकहरु अवस्था अफ्ठ्यारो छ भनेर चुपचाप बसिरहेको अवस्थामा केही बैंक भने आक्रमक देखिएका छन् ।

कोरोना कहरमै एनआइसी एशिया र प्रभु बैंकले निक्षेप संकलन र कर्जा विस्तारमा छलाङ मारेका छन् । यो सँगै एनआइसी एशियाले प्रायः व्यवसाय विस्तारमा अब्बल स्थानमा रहने राष्ट्रिय वाणिज्य बैंकलाई समेत निक्षेप संकलन र कर्जा विस्तारमा पछि पारको छ ।

गत असार मसान्तमा राष्ट्रिय वाणिज्य बैंक निक्षेप संकलनमा पहिलो स्थानमा थियो भने ग्लोबल आइएमई बैंक दोस्रो र एनआइसी एशिया बैंक तेस्रो स्थानमा रहेको थियो । साथै, कर्जा प्रवाहतर्फ समेत असार मसान्तसम्म ग्लोबल आइएमइ पहिलो, एनआएसी दोस्रो र तेस्रोमा आरबिबि रहेको थियो ।

तर चालु आवको पहिलो त्रैमासमा आइपुग्दा एनआइसी एशिया बैंकले व्यवसायीक छलाङ मार्यो । यद्यपि बैंकरहरुले एनआइसी एशियाले अरुको बिजनेश खोसेको आरोप लगाएका छन् ।

बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार ३ महिनाको अवधिमा सबैभन्दा बढी निक्षेप संकलन (३५ अर्ब) र कर्जा लगानी (२९ अर्ब) दुबैतर्फ पहिलो स्थान एनआइसी एशियाले ओगटेको छ ।

सो अवधिमा निक्षेप संकलनतर्फ दोस्रो स्थानमा नेपाल इनभेष्टमेन्ट बैंक (१९ अर्ब) र तेस्रो स्थानमा ग्लोवल आइएमइ बैंक (१३ अर्ब) रहेको छ ।

पहिलो त्रैमासमा कुन बैंकको कतिले व्यवसाय बढ्यो ?

संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये २३ वटा वाणिज्य बैंकले असार मसान्तको तुलनामा ०.८९ प्रतिशतदेखि १७.४१ प्रतिशतसम्मले निक्षेप संकलन बढाएका छन् । साथै सो अवधिमा २२ वटा वाणिज्य बैंकहरुले ०.०४ प्रतिशतदेखि १७.१९ प्रतिशतसम्म कर्जा प्रवाह वृद्धि गरका छन् ।

संघबाट उपलब्ध तथ्यांकअनुसार उक्त अवधिमा व्यवसाय विस्तारमा सबैभन्दा अगाडि एनआइसी एशिया बैंक छ । पहिलो त्रैमासमा नै बैंकले २९ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत असार मसान्तसम्म बैंकले १ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमा बै.कले १७. १९ प्रतिशतले वृद्धि गरी असोज मसान्तसम्म २ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ पुर्याएको हो ।

यसैगरी, कर्जा विस्तारमा आक्रमक हुनेमा प्रभु बैंक दोस्रो नम्बरमा छ । बैंकले पहिलो त्रैमासमा नै १५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असार मसान्तसम्म बैंकले १ खर्ब ३ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमा बैंकले १५ प्रतिशतले वृद्धि गरी असोज मसान्तसम्म १ खर्ब १८ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको हो ।

चालु आवको पहिलो त्रैमासमा कर्जा विस्तार बढी गर्ने बैंकहरुको तेस्रो नम्बरमा एनएमबी बैंक रहेको छ । पहिलो त्रैमासमा नै बैंकले १२ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असार मसान्तसम्म बैंकले १ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमा बैंकले ९.९९ प्रतिशतले वृद्धि गरी असोज मसान्तसम्म १ खर्ब ३३ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको हो ।

सो अवधिमा निक्षेप संकलनतर्फ सबैभन्दा १७ प्रतिशतले सिभिल बैंक वृद्धि अर्थात् १० अर्ब ४७ करोड रुपैयाँ गरेको छ । बैंकले पहिलो त्रैमासमा १७ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । साथै सो अवभिमा बैंकले ९.५७ प्रतिशतले कर्जा प्रवाह वृद्धि गरेको छ ।

गत असार मसान्तसम्म ५३ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले ३ महिनामा नै ५ अर्ब १५ करोड रुपैयाँले कर्जा लगानी बढाएर ५८ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको हो ।

गत आवको असार मसान्त यता चालु आवको पहिलो त्रैमासमा सेञ्चुरी बैंक १७.१४ प्रतिशतले निक्षेप संकलन र ९.५२ प्रतिशतले कर्जा लगानी बढाएको छ । बैंकले ३ महिनामा १२ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको हो ।
पहिलो त्रैमासमा व्यवसाय घटाउने बैंकहरु
चालु आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ५४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपालमा गत वर्षको चैतदेखि शुरु भएको कोरोना कहरले ५ वटा वाणिज्य बैंकको व्यवसाय घटाएको छ । असार मसान्तयता असोज मसान्तसम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकको १४.०५ प्रतिशतले अर्थात् १३ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन र ७.१६ प्रतिशत अर्थात् ४ अर्ब १२ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ । आसार मसान्तसम्म बैंकले ९९ अर्ब ११ करोड निक्षेप संकलन गरी ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जुन असोज मसान्तमा आइपुग्दा ८८ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा प्रवाह ५३ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ ।

यस्तै, सो अवधिमा नेपाल एसबीआई बैंकको ३.५६ प्रतिशत कर्जा लगानी घटेको छ । बैंकले गत असार मसान्तसम्म ९४ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरकोमा ३ महिना अर्थात् असोज महिनामा आइपुग्दा ३ अर्ब ३६ करोड रुपैयाँले घटेर ९० अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । साथै सो अवधिमा हिमालयन बैंकको ३.११ प्रतिशत, नेपाल बंगलादेश बैंकको १.२५ प्रतिशत र लक्ष्मी बैंकको १.५८ प्रतिशतले कर्जा प्रवाह घटेको छ ।

औषतमा पहिलो त्रैमासमा वाणिज्य बैंकहरु

कोरोना कहरमा पनि बैंकहरुले औषतमा ४ प्रतिशत बढीले व्यवसाय विस्तार गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले ४.५७ प्रतिशत निक्षेप र ४.०२ प्रतिशतले कर्जा प्रवाह बढाएका हुन् ।

नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार संचालनमा रहेका २७ वाणिज्य बैंकहरुले चालु आवको ३ महिनामात्रै १ अर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

गत आवको असार मसान्तसम्म बैंकहरुले ३४ खर्ब ८९ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकल गरी २९ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालु आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ५४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


पुष्प दुलाल