डाक्टर बन्न नसकेका उपेन्द्र यसरी बने बैंकको सीइओदेखि अध्यक्षसम्म, ग्रिनलेजका साथीको नविलमा भेट

क्लिकमान्डु २०७७ असोज २३ गते १२:४९ मा प्रकाशित

काठमाडौं । उपेन्द्र पौडेल अर्थात् पैसा खेलाएर पैसा उत्पादन गर्ने व्यक्ति ।

यत्तिमात्रै भन्यो भने उपेन्द्रलाई अन्याय हुन्छ । र, थप भन्नै पर्छ, ‘३० वर्षको सक्रिय बैंकिङ छाडेर निष्कलंक छवि बनाउँदै बिदा भएको एउटा सफल र अनुभबी बैंकर ।’

२०७३ चैत १ गतेदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट बाहिरिएका थिए, उनी ।

सक्रिय बैंकिङमा नरहने घोषणा गरेका उनी ३ वर्षअघि नविल बैंकको सञ्चालकमा नियुक्त भए । र केही दिन अघि अध्यक्ष बने । नेपाली बैंकिङ उद्योगका एक सफल, अनुभवी र बिबादरहित कुशल व्यवस्थापक बैंकिङमा योगदान दिन फर्किएका छन् अध्यक्षकोरुपमा ।

तत्कालीन ग्रिनलेज (स्ट्यान्डर्ड चार्टर्ड)मा उपेन्द्रसँगै काम गरेका अनिल शाह बैंकको सीइओ छन् ।

ग्रिनलेछ डोडेर हिँडेपछि पौडेल र शाहले कहिल्यै पनि एउटै संस्थामा काम गरेनन् । दुई भेट्रान बैंकरलाई नविल बैंकले एकै ठाउँमा अटायो । एउटालाई सीइओ र अर्कालाई सञ्चालकहुँदै अध्यक्षको रुपमा छ ।

दुबैजना एउटै उद्योगमा अब्बल सावित भए । दुबै जना वाणिज्य बैंकहरको छाता संगठन नेपाल बैंकर्सए संघको अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

नविल बैंक आफैंमा अग्रणी र अब्बल बैंक हो । यसको नेतृत्व गर्ने अध्यक्ष र सीइओ पनि अब्बल नै छन् । उपेन्द्र पौडेल र अनिल शाहको क्यामेष्ट्रीले बैंकलाई अझ बढी शशक्त बनाउने लगानीकर्ताहरुको विश्वास छ ।

अध्यक्षकारुपमा पौडेललाई स्वागत गर्दै सीइओ शाहले भनेका छन्, ‘हामीलाई विश्वास छ कि उपेन्द्रजीको नेतृत्वमा नविल बैंकले आगामी वर्षहरुमा अभूतपूर्व सफलता प्राप्त गर्नेछ ।’

ग्रिनलेजमै रहँदा पनि शाहभन्दा पौडेल सिनियर थिए ।

‘मैले बैंकिङ सुरु गर्दाको र अहिलेको बैंकिङमा आकाश-जमीनको अन्तर छ’ पौडेल भन्छन् । अबको बैंकिङ भनेको अझै प्रविधियुक्त र जनमूखी हुन जरुरी देख्छन् उनी ।

बैंकिङ क्षेत्रमा रहँदा पौडेलले धेरै सुधारका कामहरु गरे । जुन कामले आगामी पुस्ताका बैंकरलाई मार्गदर्शन गर्नसक्छ ।

उनको ज्ञान, सीप र अनुभवको उच्चतम प्रयोग गर्न सफल भएको छ नविल बैंक । नविल बैंकका सबैभन्दा ठूलो सेयरधनी चौधरी ग्रुपले उनलाई बैंकको सञ्चालक हुँर्दै अध्यक्षसम्म बनाएको हो ।

‘नविल बैंकको सञ्चालक समितिमा हाइली प्रोफेशनल सञ्चालक हुनुहुन्छ, सीइओ पनि प्रोफेशनल र दुखसुख भोगेको व्यक्ति हुनुहुन्छ,’ पौडेलले भने, ‘जसकारण मेरो नेतृत्वमा बैंकलाई अझ शशक्त र बलियो बनाउन सक्ने संभावना देखेर नै मलाई अध्यक्षको जिम्मेवारी दिइएको हुनसक्छ ।’

आफू हिँजोका दिनमा सीइओ रहँदा दुख गरेर बिजनेश खोज्ने गरेको र त्यो भोगाईले धेरै कुरा सिकेको उनको भनाइ छ ।

‘सञ्चालक समितिमा बसेर मैले हिँजो पनि काम गरिरहेकै थिएँ, अहिले अध्यक्ष भएको छु, सञ्चालक समितिले नीति र रणनीति बनाएर व्यवस्थापनलाई कार्यान्वयन गर्न दिने हो,’ उनले भने, ‘अब हामी रिटेल र एसएमइ बैंकिङलाई पनि मयासिभली अघि बढाउँछौं । बैंक अझ बढी शशक्त र बलियो हुन्छ ।’

लामो समय बैंकको व्यवस्थापनमा रहेका काम गरेकाले बैंकिङका समस्या, चुनौति, अबसरका बारेमा उनले राम्रोसँग बुझेका छन् ।

‘त्यो अनुभवबाट प्राप्त ज्ञानको भरपूर उपयोग गर्छु,’ उनले भने ।

डाक्टर बन्न नसकेपछि बनेका बैंकर

बाल्यकालदेखि नै डाक्टर बन्ने सपना थियो उपेन्द्रको । जब उनले एसएलसी पास गरे, त्यहीबेला शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर अध्ययनका लागि ८ जनाको सिट खुलेको थियो । रातदिन नभनी पढेर परीक्षा त दिए उनले । तर फेल भए ।

अनि मोडियो उनको करियरको यात्रा । डाक्टर बढ्ने परीक्षमै फेल भएपछि सरस्वती क्याम्पसमा व्यवस्थापन पढ्न थाले ।

‘डाक्टर बन्न दिएको परीक्षामा फेल भएपछि म्यानेजम्यान्ट पढ्न सुरु गरेँ, त्यसबेलासम्म बैंकर हुन्छु भन्ने त सोचेको पनि थिइँन,’ उनी सम्झन्छन् ।

सपना नबोकी आएको पेसामा पनि सफल बनेर देखाइदिए उनले । यो सफलताको सूत्र हो, बैंकिङ करियर सुरु गरेपछि त्यसैमा रमाउनु ।

‘सोचेजस्तो हुन्न जिबन, जस्तो भोग्यो त्यस्तै हुन्छ, रोजेजस्तो हुन्न जिबन,‘’ पौडेलले सुनाए ।

४ सय ६१ देखि ८ लाख २० हजार

सन् १९८० को कुरा हो, मासिक ४ सय ६१ रुपैयाँ तलब बुझ्थे उपेन्द्र । त्यसबेला उनी सोल्टी होटलको फाइनान्स डिपार्टमेन्टमा काम गर्थे ।

पछिल्ला केही वर्षयता उनको मासिक तलबरभत्ता साढे ८ लाख २० हजार रुपैयाँ थियो । र, यो पनि भन्नै पर्छ, एनएमबि बैंकबाट आफूले बुझ्ने तलबको ३५ प्रतिशत अर्थात करिब अढाई लाख रुपैयाँ राज्यलाई कर तिर्थे उनी ।

पौडेलको बैंकिङ करियर सन् १९८६ मा तत्कालीन ग्रिनलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बाट सुरु भएको हो । त्यसबेला उनको तलब महिनाको २८ सय रुपैयाँ पुगिसकेको थियो । उनले ग्रिनलेजमा १४ वर्ष अर्थात् सन् २००० सम्म काम गरे ।

‘म ग्रीनलेजमा आवद्ध भएको महिना दिनपछि पर्शुराम कुँवर, अजय श्रेष्ठ, उदय उपाध्याय र सुदेश खालिङले काम सुरु गरे,’ उनले सुनाए, ‘अलि पछि अनिल शाह पनि मभन्दा जुनियर भएर जोडिए ।’

सँगसँगै जस्तो करियर सुरु गरेका कुँवर, श्रेष्ठ, उपाध्याय र खालिङ भिन्ना भिन्नै वाणिज्य बैंकको सिइओ भइसकेका छन् । उपेन्द्र भने एनएमबि बैंकको सिइओ भएर पनि रिटायर्ड भइसकेका छन् ।

यो रिटायर्डमेन्ट पनि उनको आफ्नै निर्णयका कारण हो । उनलाई अरु बाणिज्य बैंकले सिइओकै लागि अफर नगरेका पनि होइनन् । उनी कार्यरत एनएमबिले अर्को कार्यकालको लागि सिइओ बनाउछु भनेर प्रस्ताब गरेकै थियो ।

ग्रीनलेजमा जागिर सुरु गरेको अर्को वर्षमा आयोजित सेमिनारमा उच्च व्यवस्थापनले उपेन्द्रलाई सोध्यो- तिम्रो सोच के छ ?

उनले फ्याट्ट जवाफ दिए,- पाँच वर्षमा विभागीय प्रमुख र १० देखि १५ वर्षमा सीइओ बन्ने ।

हतारमा कतै गलत जवाफ पो दिएँ कि भन्ने उनको मनको एक कुनामा नलागेको पनि होइन । तर, ‘मनमा जे आयो ‘अनेस्ट्ली’ त्यही भनेको हूँ, जे पर्छ पर्छ भन्ने सोचेर मन दह्रो बनाएँ,’ उनी त्यो क्षण सम्झँदै भन्छन् ।

परिणाम यस्तो भइदियो कि उनले दिएको त्यही जवाफ व्यवस्थापनलाई साह्रै चित्त बुझ्यो । र, उपेन्द्रको करियरको स्टेयरिङ मोडियो । गियर बदलियो । अनि गति तीब्र बन्यो ।

ग्रिनलेजले उनलाई पदोन्नति गर्यो । ५/७ वर्षपछि नै उनी बैंकको सिनियर म्यानेजर भए ।

ग्रिनलेजको बिराटनगर शाखामा काम गर्दा त्यहाँका माडबारी समुदायसँग अच्छा दोस्ती बनाएका थिए उपेन्द्रले ।

एक दिन बिराटनगरका व्यापारी पबन गोल्यानले उपेन्द्रलाई भेट्न बोलाए । र, नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीइओ बन्न प्रस्ताब गरे ।

गोल्यानको प्रस्ताबले उपेन्द्रको मनमा ठूलै अन्तरद्धन्द्ध ल्यायो । भूइँचालो गएँझैं उनको मन हल्लियो– फाइनान्सको सीइओ बन्न जाउँ कि नजाउँ भनेर ।

उनले फाइनान्सका सबै वित्तीय सूचकांकहरु हेरेर विश्लेषण गर्दा कम्पनीको अवस्था चित्तबुझ्दो पाए । अनि ग्रिनलेजको जागिर छाडेर नेपाल मर्चेन्ट फाइनान्सको सीइओ बने ।

सन् २००८ मा फाइनान्स स्तरोन्नति भए एनएमबि बैंक बन्यो ।

उनी प्रवेश गर्दा फाइनान्सको चुक्ता पुँजी ७ करोड थियो । उनले छाड्दा बैंकको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ पुगेको थियो । लगानीकर्ताको पुँजी पनि राम्रैसँग बढाइदिए उपेन्द्रले ।

धेरैलाई करोडपति बनाए

यो अबधिमा धेरै सामान्य व्यक्तिलाई आफूले करोडपति बनाइदिएको उपेन्द्र बताउँछन् ।

‘मैले ऋण उपलब्ध गराएर धेरैलाई करोडपति बनाएको छु, जसले मलाई आत्मसन्तुष्टि मिल्छ,’ उनले सुनाए ।

तर, फेरि पनि डाक्टरकै उदाहारण दिए उनले । ‘बिरामीको उपचार सफल हुँदा डाक्टरलाई जति सन्तुष्टि मिल्छ, आफूले ऋण दिएको व्यक्तिले ऋणको सदुपयोग गरी कमाएको देख्दा बैंकरको मन त्योभन्दा बढी सन्तुष्ट हुन्छ,’ पौडेलले भने ।

उनको यो उदाहरणमा आफू डाक्टर बन्न नपाएकोमा कुनै पछुतो थियो वा थिएन उनै जानुन् ।

त्यो बैंकिङ र यो बैंकिङ

‘मैले बैंकिङ सुरु गर्दाको र अहिलेको बैंकिङमा आकाश-जमीनको अन्तर छ’ पौडेल भन्छन् । अबको बैंकिङ भनेको अझै प्रविधियुक्त र जनमूखी हुन जरुरी देख्छन् उनी ।

बैंकहरुले पूर्वाधार, साना तथा मझौला व्यवसाय र उर्जामा लगानी बढाउनुपर्ने उनको धारणा छ । परियोजना धितोमा कर्जा दिन सक्ने र दिने व्यवस्था मिलाउने लविङमा लागिरहने उनी बताउँछन् ।

र, नेता पनि

०७१ मंसिरमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए उनी । उनको कार्यकालभर संघमा कुनै पनि विबाद सतहमा आएन ।

मधुसुदन र सोमना पौडेलको पहिलो सन्तानका रुपमा ०१५ सालमा काठमाडौंको बत्तीसपुतलीमा जन्मिएका उपेन्द्रले ०४९ मा त्रिविबाट व्यवस्थापनमा मास्टर्स गरेका थिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स