दशैंका लागि अग्रिम टिकट बुकिङबारे अन्योल व्यवसायी भन्छन्- अग्रिम बुकिङ आवश्यक छैन



काठमाडौं । सामान्य अवस्था हुँदो हो त यतिबेला बजारमा दशैंको रौनक छुट्टै हुन्थ्यो । दशैं नजिकिँदै गर्दा मानिसले दशैंको लागि नयाँ लुगा किन्ने, नयाँ सामान जोड्ने र गाउँ जानका लागि अग्रिम बुकिङ गर्न बस काउन्टरहरूमा मानिसको भिड हुन्थ्यो ।

त्यसैगरी, दशैंमा घर जान टिकट बुकिङ गर्नका लागि बिहान २/३ बजे उठेर टिकट काट्नको लागि बसपार्कमा पुग्नुपथ्र्यो ।

तर, यो वर्ष कोरोना महामारीका कारण दशैंमा उपत्यका बाहिर जानेको संख्या निकै न्यून भएका कारण यातायात व्यवसायीहरूमा उत्साह छैन ।

दशैंको माहोलमा यातायात व्यवसायीको सबैभन्दा बढी आम्दानी गर्ने सिजन हो । तर, यो वर्ष कोरोनाले गर्दा सबै यातायात व्यवसायी मारमा परेको व्यवसायीहरूले बताएका छन् ।

करिब ६ महिना पूर्णरूपमा बन्द अवस्थामा रहेको सवारी साधन गत असोज १ गतेबाट सञ्चालनमा ल्याएता पनि यातायात व्यवसायी भने खुसी छैनन् ।

त्यसैगरी, दशैं आउन करिब १० दिन मात्रै बाँकी छ । तर, दशैं मनाउन उपत्यकाका बाहिर जाने मानिसको लागि अग्रिम बुकिङ खुलाउने वा नखुलाउनेबारे अहिलेसम्म टुङ्गो लागेको छैन ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले यसबारे विभिन्न छलफल तथा बैठक गर्दै आएता पनि हालसम्म ठोस निर्णय हुन सकेको छैन । साथै, महासंघले भोलि (बिहिबार) देशभरका अध्यक्षलाई बोलाएर बैठक गर्ने भएको छ ।

उक्त बैठकमा देशभरका अध्यक्षसँगको कुराकानीबाट निर्णय गरेर यातायात व्यवस्था विभाग र मन्त्रालयसँग छलफल गर्ने महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले जानकारी दिए ।

उनका अनुसार उक्त बैठक र छलफलबाट अग्रिम बुकिङ खोल्ने वा नखोल्ने भन्नेबारेमा आधिकारिक धारणा आउने बताए ।

गत वर्ष दशैंको बेला २० लाख मानिस उपत्यका बाहिरिएका थिए । साथै , मानिसको चाप र सवारी साधनको चाप पनि त्यति नै हुन्थ्यो ।

तर, यो वर्ष मानिसको चाप निकै न्यून भएकाले करिब ५ लाख मानिस पनि उपत्यका नबाहिरिने महासंघले अनुमान लगाएका छन् । यसले गर्दा उपत्यकाका बाहिर जानको लागि अग्रिम बुकिङ बिनानै सहज तरिकाले सवारी साधनले धान्ने अध्यक्ष कर्माचार्यको भनाइ छ । साथै, अग्रिम बुकिङ आवश्यक नरहेको उनले बताए ।

त्यसैगरी यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार कोरोनाले गर्दा करिब ५ लाख पनि मानिस नबाहिरिने भएकाले नियमित गाडीले पुग्ने दाबी गरे ।

व्यवसायीहरूबाटै अग्रिम बुकिङ आवश्यक नरहेको कुराहरू पनि आइरहेको हुनाले छलफलबाट आधिकारिक धारणा आउने उनले बताए ।

यसैगरी स्वास्थ्य मन्त्रालयले जहाँ छ त्यही बस्न आग्रह गरेकोले कोरोनाको समयमा नियमित गाडीले लै पुग्ने उनको भनाइ छ ।

पूर्णसीटमा यात्रु राख्नुपर्ने व्यवसायीहरूको माग

करिब ६ महिना पूर्णबन्द अवस्थामा रहेको यातायात व्यवसायीले असोज १ गतेबाट ५० प्रतिशत यात्रु राख्ने र ग्राहकहरूबाट ५० प्रतिशत भाडा बढी लिई सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

तर ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउँदा धेरै व्यवसायीले असहमति जनाएको महासंघका अध्यक्ष कर्माचार्यले बताए ।

‘अहिले कोरोनाले गर्दा ५० प्रतिशत पनि यात्रु छैनन्,’ उनले क्लिमान्डूसँग भने, ‘व्यवसायीहरूले यात्रुहरू निकै न्यून भएका कारण यातायात चलाउन सकिँदैन भनेर दैनिक हजारौं फोन आउँछ ।’

अहिले सरकारले तोके बमोजम यातायात व्यवसायीहरूले सञ्चालनमा ल्याएता पनि पूर्ण रूपमा घाटा व्यहोरेर चलाइरहेको उनको भनाइ छ ।

यस्तै, कोरोनाले आर्थिक मन्दी खेपिरहेको अवस्थामा यात्रुबाट ५० प्रतिशत भाडा बढी लिनु अन्याय रहेको उनले बताए ।

‘सार्वजनिक यातायात भनेको वास्तविक मध्यम र निमुखा मानिसको लागि हो । सार्वजनिक यातायात चढ्नेले प्लेन पनि चढ्न सक्दैनन्, निजी गाडी पनि किन्न सक्दैनन् र ट्याक्सी रिजर्भ गरेर पनि जान सक्दैनन् । यसले गर्दा ५० प्रतिशत भाडा बढाएर ग्राहकलाई आर्थिक भार थप्नुहुन्न,’ उनले भने ।

त्यसैले ५० प्रतिशत भाडा पनि थप नगर्ने र पूर्ण क्षमताको सिटमा राख्न पाउनुपर्नेमा महासंघले माग गरेका छन् ।

यसबारेमा सीसीएमसीमा कुरा राख्ने भनिएता पनि कुनै आधिकारिक निर्णय नआएको उनले गुनासो पोखे । उपत्यकाबाट सबैभन्दा बढी आवतजावत हुने नाका नागढुङ्गाबाट करिब १० देखि १२ हजार यात्रु आवतजावत भइरहेको उनले जानकारी दिए ।

विगतको वर्षमा यो बेला एक लाख बढी मानिसको आवतजावत हुने गर्दथ्यो । तर, अहिले निकै न्यून मानिसको आवतजावत भएकाले नियमित यातायातले पुग्ने अनुमान गरेको उनले बताए ।

अनलाइनबाट टिकट बुकिङ गर्न विद्युतिय सफ्टवेयर सञ्चालनमा ल्याउँदै

उपत्यका बाहिर जानको लागि सँधै टिकट काट्न भिड हुने भएकाले ग्राहकहरूको सहजताको अनलाइन टिकट बुकिङको लागि विद्युतिय सफ्टवेर यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याउने भएको छ । कोरोनाले गर्दा पनि अति आवश्यकताको विषय बनेको विभागका प्रवक्ता भुसाल बताउँछन् ।

विगतको दिनमा भिड भएता पनि लाइनमै बसेर टिकट काट्दा कुनै समस्या थिएन् । तर, कोरोनाले गर्दा सुरक्षाको मापदण्ड अपनाउनुपर्ने भएकाले अहिलेको समयमा निकै महत्वपूर्ण रहेको उनको बुझाइ छ ।

‘हाल पर्यटन क्षेत्रका सवारी साधन यातायात व्यवसायीमा भने अनलाइनमार्फत टिकट बुकिङ सञ्चालनमा आइसकेको छ,’ उनले भने, ‘बाहिरको सामान्य सवारी साधनको लागि अनलाइनमार्फत बुकिङ गर्नेबारे विभागबाट एउटा निर्देशिका तर्जुमा गरेर मन्त्रालय पठाइसकेको छ । यसबारे मन्त्रालयबाट सहमति जनाएर स्वीकृत भएमा छिट्टै कार्यन्वयनमा ल्याउँछौं ।’

साथै, विभागले यातायात व्यवसायीहरूलाई प्रविधिको उपयोग गर्न आग्रह गरेको उनले बताए । त्यसैगरी, विभागमा पनि अनलाइन सिस्टमको मोनटरिङ गर्ने सफ्टवेयर बनाइरहेको उनले जानकारी दिए ।

अनलाइनमा एकैचोटी जान नसक्ने भएकाले विभागले असोजभित्रै सञ्चालनमा ल्याउने भनिएता पनि तिहारसम्ममा आइसक्ने उनको भनाइ छ ।


पुष्प दुलाल