कोरोनाकै समयमा अपार्टमेन्टको मूल्य वृद्धि, नयाँ अपार्टमेन्टको परियोजना ल्याउन सरकारी नीति बाधक



काठमाडौं । उपत्यकामा करिब ५ प्रतिशत अपार्टमेन्टको युनिट बिक्री हुन बाँकी भएसँगै अमापर्टमेन्टको मूल्य वृद्धि हुन थालेको छ । हाल देशभर ६४ वटा अपार्टमेन्ट छन् । त्यसमै भरपर्नुपर्ने भएकाले वर्षेनी अपार्टमेन्टहरूको मूल्य वृद्धि हुँदै गएको रियल स्टेट डेभलपरहरूले जनाएको छ ।

यस्तै, कोरोना महामारीमा अपार्टहरूको खरिद तथा बिक्री कम मात्रामा भएपनि मूल्य भने घट्न सकेको छैन् । कोरोना महामारी आर्थिक मन्दी भएकाले विगतको दिनमा किन्न तयार भएका ग्राहकहरू पनि कोरोनाले गर्दा काम रोकिरहेको रियल स्टेटका व्यवसायीहरूले बताएका छन् ।

२०७२ सालको भुकम्पपछि अपार्टमेन्टहरूको मूल्यमा कमी आउने सबैले आँकलन गरेको थियो । तर, अपार्टमेन्टहरूको मूल्य हालसम्म घट्दो क्रममा नभएर बढ्दो क्रममा रहेको प्रोपोर्टी ३६० नेपालका निर्देशक सन्तोष प्रधानले जानकारी दिए । उनका अनुसार पछिल्लो समय कोरोनाले गर्दा प्रभावित भयो भन्ने हल्ला भएता पनि यस क्षेत्रमा खासै असर नपरेको उनी बताउँछन् ।

मानिसहरूले कोरोनाको समयमा मूल्य घट्छ भन्ने अनुमान गरेका थिए । तर, त्यस्तो स्थिति नरहेको उनले बताए । यस्तै कोरोनाको समयमा पनि अपार्टमेन्ट किन्नेहरूको इन्क्वाइरी भने बढी रहेको उनको अनुभव छ ।

यसैगरी, भुकम्पपछिको निर्माण परियोजनामा सरकारले नयाँ नियम ल्याएसँगै बजारमा नयाँ अपार्टमेन्टको परियोजना नआएका कारण पनि भएका अर्पाटमेन्टरूको मूल्य वृद्धि हुने गरेको उनको बुझाइ छ । सो नियम ल्याएसँगै अबको दिनमा नयाँ परियोजनाका साथ निर्माण भएको अपार्टमेन्ट झन महंगो पर्ने उनले दाबी गरे ।

‘कोरोनाको अवधिमा पनि केही डेभलपरहरूले मूल्य वृद्धि गरेका छन्,’ उनले भने, ‘माग कम भएका कारण धेरै बिक्री हुन नसकेको सकेको छैन । तर कोरोनोको अघि र पछिमा अपार्टमेन्टको मूल्यमा केही डेभलपरहरूले मात्रै वृद्धि गरेको हुनाले खासै परिवर्तन भएको छैन ।’

त्यसैगरी, कोरोनाको समयमा कुरा भएतापनि खरिद बिक्री निकै कम भएको रेन्टल नेपालका संस्थापक सविना रिजालले जानकारी दिए । यही अवधिमा मूल्य बढाएता पनि खरिद बिक्री कम भएकाले मूल्य वृद्धि गरेर पनि कुनै असर नपर्ने उनले बताइन् । कोभिडको समयमा सोधपुछ गरेता पनि अपार्टमेन्टहरूमा लगानी गर्न डराईरहेको उनको अनुभव छ । हाल ६० प्रतिशतले किनबेच कम भएको उनी बताउँछिन् ।

डेभलपरहरूले वार्षिक रुपमा वृद्धि गर्दै आएका छन् । मानिसहरूको माग र बजारको स्थितिले गर्दा अपार्टमेन्टमा बसोबास गर्ने मानिस पनि वृद्धि हुँदै गएको छ । साथै, धेरै मानिसको रोजाइमा अपार्टमेन्टकाले पनि मूल्य वृद्धि हुन स्वाभाविक रहेको सिटी भ्यूका डेभलपर सविना रिजालले जानकारी दिइन् । साथै, प्रोपर्टीको गुणस्तर, लोकेसनले गर्दा पनि धेरै असर पर्न थालेको उनले बताइन् ।

‘अहिले सामुदायिक रुपमा बस्न रुचाउने भएकाले अपार्टमेन्टहरूको बढी माग आएको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘बाहिर घर बनाउँदा अपार्टमेन्टमा पाइने सुविधा नपाइने हुनाले अपार्टमेन्टमा सबै सुविधा पाउने भएकाले धेरैको मोह बढेको उनको बुझाइ छ । साथै, बाहिरी बसोबास गर्दा बाहिर झन्झटिलो भएका कारण धेरै प्रभाव परेको उनी बताउँछिन् ।

एकवर्ष अगाडि ५० लाखसम्म पाइने २ कोठे अपार्टमेन्टको मूल्य अहिले ६० लाखसम्म पुगेको छ । १ कोठे अपार्टमेन्ट नै अहिले ५० लाखमा पाउन मुस्किल भएको छ ।

नयाँ परियोजनाको नआउँदा समस्या

२०७२ सालको भुकम्पपछि नयाँ परियोजना नआएसँगै बजारमा अपार्टमेन्टहरूको अभाव हुन थालेको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मिनमान श्रेष्ठले जानकारी दिए । अहिले नेपालमा रहेको करिब ३ सय अपार्टमेन्ट बिक्री हुन बाँकी रहेको संघले जनाएको छ ।

नेपालमा संगठित आवास शुरु भएको १८ वर्षमा २१ हजारमात्रै घर तथा अपार्टमेन्ट बनेका छन् । पछिल्लो समय खासै नयाँ परियोजना बनेका छैनन् । जसले गर्दा पुरानो परियोजनामै भर पर्नुपर्ने संघका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘व्यवस्थित तरिकाले काम गर्नका लागि हामीलाई सरकारी प्रक्रिया पूरा गर्न मात्रै १५ महिना लाग्छ,’ उनले भने, ‘एउटा परियोजना ल्याउन २ वर्ष लाग्छ । जसकारण संगठित घरजग्गा व्यवसायीलाई काम गर्न कठिन छ ।’

साथै, अहिलेको सरकारी नीतिअनुसार नयाँ अपार्टमेन्टका परियोजना ल्याउन सक्ने अवस्था नरहेको उनले बताए । ‘भूकम्पछि सरकारले नीति परिवर्तन गरेअनुसार अहिले १७ मिटर अर्थात् ५ मिटरसम्म वरिपरि ५ मिटर जमिन छाड्दा हुन्छ । त्यसपछि हरेक तलामा १ मिटर जमिन छाड्दै जानुपर्छ । त्यसले गर्दा अपार्टमेन्ट बनाएर बेच्न सम्भव नै छैन्,’ उनले भने ।

साथै, नीति परिवर्तन नहुदासम्म अपार्टमेन्टको परियोजना आउन असम्भव रहेको उनले जानकारी दिए । यसले गर्दा वार्षिक रुपमा अपार्टमेन्टको मूल्य वृद्धि हुँदै जाने उनको भनाइ छ ।


क्लिकमान्डु