उद्योग राज्यमन्त्री दुगड भन्छन्- अब लकडाउन हुँदैन, अर्थतन्त्र छिट्टै रिकभरी हुन्छ



काठमाडौं । कोरोनाको संक्रमण बढ्न नदिन गत चैतदेखि गरिएको लकडाउन र पछिल्लो पटक गत साउनदेखि गरिएको निषेधाज्ञाका कारण आहत भएको उद्योग तथा व्यापार व्यवसायलाई समस्यामा पार्ने गरी पुनः निषेधाज्ञा लागू नगरिने भएको छ ।

लकडाउन र निषेधाज्ञाका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको, बेरोजगारी तथा अन्य संकटसमेत देखा परेको भन्दै सरकारले अब भने उक्त विकल्प लागू नगर्ने भएको हो ।

थाम्नै नसकिने गरी कोरोना संक्रमण फैलिएको खण्डमा भने अरु कुनै विकल्प बाँकी नरहँदा असाध्यै खराब निर्णय गर्नुपर्ने भएपनि तत्कालका लागि भने कुनै अप्रिय निर्णय नलिइएको सरकारको प्रष्टोक्ति छ ।

क्लिकमाण्डूसँग कुरा गर्दै उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अब निषेधाज्ञा वा लकडाउन मात्रै विकल्प नभएको बताए । उनले भने ‘गत चैतदेखिको लकडाउन र पछिल्लो पटक गरिएको निषेधाज्ञाका कारण अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव परेको छ । सरकारले अब त्यस्तो कुनै अप्रिय निर्णय लिँदैन ।’

उनले लकडाउन र निषेधाज्ञाका कारण व्यापार व्यवसायमा नकारात्मक असर परेको, बेरोजगारीको दर बढेको र मुलुकको आर्थिक वृद्धिमा समेत समस्या खडा भएकाले सकेसम्म अप्रिय निर्णय गर्न नहुने पक्षमा सरकार पुगेको जानकारी दिए ।

उनले विश्वका अन्य धेरै देश कोरोना नियन्त्रणका लागि लकडाउन वा अन्य कुनै पनि प्रकारको निषेधाज्ञा जारी गरेका कारण समस्यामा परेको, आर्थिक वृद्धिदर ऋणात्मक भएको बताए ।

छिमेकी भारतमा मात्रै झण्डै २४ प्रतिशतले कूल ग्राहस्थ उत्पादनमा गिरावट आएको भएपनि नेपालमा भने केही असर परेपनि समाल्न नसक्ने अवस्थामा भने नपुगेको बताए ।

उनले सानो अर्थतन्त्र भएको हाम्रो जस्तो देशमा कोरोनाको प्रभाव पनि हालसम्म सानै परेको बताए । ठुलो अर्थतन्त्रमा प्रभाव पनि ठूलै पर्ने भन्दै उनले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासले सम्हाल्न सकिने बताए ।

उनले भने ‘ हामी सबैले मेहनत गर्यौ र परिश्रम गर्यौ भने हामीले सम्हाल्न सक्छौ, सक्नुपर्छ ।’

विगतमा बन्द भएका सरकारी संस्थान तथा उद्योगलाई सार्वजनिक निजी साझेदारी मोडलमा चलाउने तयारीमा सरकार लागिपरेको छ

उनले देशभित्रै रोजगारीको वातावरण बनाउने र सकेसम्म विदेशमा रोजगारीको खोजीका लागि युवा जानु नपरोस् भन्ने तर्फ सरकार सचेत रहेको बताए ।

‘विप्रेषणको भरमा मुुलुक चलाउने तर्फ हामी लाग्नु हुँदैन, देश भित्रै रोजगारीको वातावरण बनाउनुपर्छ, हामी त्यसमा लागेका छौै’ राज्यमन्त्री दुगडले भने ‘विप्रेषणले ठूलो विकृति ल्याएको छ । अब हामी आफैं आत्मनिर्भर हुनेतर्फ केन्द्रीत हुनुपर्छ ।’

उनले विगतमा बन्द भएका सरकारी संस्थान तथा उद्योगलाई सार्वजनिक निजी साझेदारी मोडलमा चलाउने तयारीमा सरकार लागिपरेको बताए ।

सरकारले केही समय पहिले पूर्व सचिव दीपक सुवेदीको संयोजकत्वमा एक समिति बनाएको छ । सो समितिले रुग्ण उद्योग सञ्चालनको विभिन्न मोडलका बारेमा सरकारलाई सुझाव दिनेछ ।

उनका अनुसार सरकारको तर्फबाट बन्द भएका उद्योगमा भएको लगानीलाई स्वपूँजी मानेर निजी क्षेत्रबाट थप लगानी जुटाइनेछ ।

व्यवस्थापन निजी क्षेत्रलाई दिने सरकारको तयारी छ । सरकार र निजी क्षेत्रको समान सेयर स्वामित्व हुने गरी बन्द भएका उद्योग चलाउने तयारीमा सरकार रहेको राज्यमन्त्री दुगडले जानकारी दिए ।

‘सरकारको व्यवस्थापन भन्दा पनि निजी क्षेत्रले सम्पूर्ण व्यवस्थापन हेर्ने गरी बन्द उद्योग सञ्चालनको तयारी गरिएको छ । त्यसले नेपालको उद्योग क्षेत्रमा ठूलो प्रभाव पार्ने छ,’ राज्यमन्त्री दुगडले भने ।

सेयर स्वामित्वका बारेमा थप प्रष्ट पारिदिन क्लिकमाण्डूले गरेको आग्रहमा उनले थपे ‘सकेसम्म ५०/५० प्रतिशत सेयर स्वामित्व नै हुने गरी सोचेका छौ । बन्द भएका सबै उद्योग सञ्चालनमा आओस् र देशभित्र रोजगारी बढोस् भन्नेमा नै सरकार लागिपरेको छ ।’

लामो समयदेखि गोरखकाली रबर उद्योग, हेटौडा कपडा कारखाना, कृषि औजार कारखाना, विरगन्ज चिनी उद्योगलगायतका दुई दर्जन बढी उद्योग बन्द भएका छन् ।

यस्तै केही वर्ष अघिदेखि सञ्चालनमा आएको नेपाल औषधी लिमिटेडलाई समेत नयाँ ढाँचामा थप लगानी सहित सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको राज्यमन्त्री दुगडले जानकारी दिए । सो उद्योगले हाल स्यानीटाइजर, सिटामोल, जीवनजल उत्पादन गरिरहेको छ ।

आफू मन्त्री भएर आएपछि सरकार र उद्योगीको सम्बन्ध थप सुधार गरेको र औद्यौगिक वातावरण बनाएको उनले दावी गरे ।

निषेधाज्ञा हटेपछि देशभरका उद्योगमध्ये झण्डै ४० प्रतिशत सञ्चालनमा आएको र थप उद्योग समेत क्रमशः सञ्चालनमा आएको छ

आफूले उद्योगी तथा व्यवसायीलाई विगतदेखि नै ज्वाईलाई जस्तो सम्मान गर्नुपर्ने धारणा राखेको र सोही अनुसारको व्यवहार गरेको समेत उनको भनाइ छ ।

कोरोनाका कारण उद्योग क्षेत्रमा केही समस्या आएको भएपनि समाधान गर्नै नसक्ने समस्या भने नभएको बताए । निषेधाज्ञा हटेपछि देशभरका उद्योगमध्ये झण्डै ४० प्रतिशत सञ्चालनमा आएको र थप उद्योग समेत क्रमशः सञ्चालनमा आउने बताए ।

कोरोनाका कारण समस्यामा परेको उद्योगलाई विद्युत्को डिमाण्ड शुल्क हटाएको, पुनरकर्जाको सुविधा दिएको तथा व्याज तिर्ने समय पर सारेको जानकारी दिँदै राज्यमन्त्री दुगडले सरकारको तर्फबाट गर्न सक्ने सबै सुविधा उपलब्ध गराएको बताए ।

उद्योग व्यवसायीलाई राज्यको तर्फबाट उपलब्ध गराउन सकिने धेरै सुविधा उपलब्ध गराएको भएपनि पर्यटन र होटल क्षेत्रमा भने ठूलो प्रभाव परेकाले सो क्षेत्र लयमा आउन केही समय लाग्ने उनको भनाइ छ ।

अन्य केही उद्योगमा भारतीय कामदार भएका कारण पनि उद्योग सञ्चालनमा ल्याउन समस्या भएकाले अब देशभित्रै जनशक्ति तयार पार्ने तर्फ सरकार लागिपरेको, विभिन्न तालिम केन्द्रहरु सञ्चालनमा ल्याएको र केही ल्याउने तयारीमा रहेको जानकारी दिए ।

राज्यमन्त्री दुगले देशभित्र लगानी भित्र्याउनका लागि सहज बनाउने ध्येयका साथ स्थापना भएको एकल बिन्दु सेवा केन्द्रलाई समेत थप प्रभावकारी बनाइएको दावी गरे । एकल बिन्दु सेवा केन्द्रमा लगानीसँग जोडिने सबै संस्था हुने भएकाले समन्वयको भने अभाव रहेको बताए ।

नेपाल राष्ट्र बैंक, श्रम स्वीकृति, राहदानी, वन, कम्पनी रजिष्टार तथा अन्य सरकारी निकायका प्रतिनिधि एकै स्थानमा हुने भएपनि कहिलेकाँही समन्वय नहुने भएकाले थप प्रभावकारी बनाउन लागिएको र आफूहरुले सरकारी कर्मचारीलाई समेत थप जिम्मेवार बनाएको उनले बताए ।

म आफै उद्योगी पनि हुँ । उद्योगी व्यवसायीको समस्या के हो ? के गर्दा औद्योगिक वातावरण बन्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । त्यसकारण पनि मैले सकेसम्म प्रयास गरेको छु

‘सबैको साझा प्रयास भए मात्रै आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने भएकाले सोही मार्गमा क्रियाशिल हुन उनले उद्योगी व्यवसायीलाई समेत आग्रह गरे ।

‘ देशभित्र सियो स्क्रु डाइभर समेत देशभित्र बन्दैन , यो अवस्थालाई क्रमशः हटाएर आत्मनिर्भरता तर्फ लाग्नुको विकल्प छैन ’ राज्यमन्त्री दुगडले भने ‘ सरकारले क्रमशः वातावरण बनाइरहेको छ त्यसमा उद्योगी व्यवसायीको समेत साथ र सहयोग जरुरी छ ।’

उनले आफू मन्त्री भएर आएपछि उद्योगी व्यवसायीको पीर मर्का सुनेको र सकेसम्म समाधान गर्ने प्रयास गरेको समेत बताए ।

‘ म आफै उद्योगी पनि हुँ । उद्योगी व्यवसायीको समस्या के हो ? के गर्दा औद्योगिक वातावरण बन्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । त्यसकारण पनि मैले सकेसम्म प्रयास गरेको छु ’ उनले भने ‘ राजनीति मात्रै गरेकाले बुझ्ने र मैले बुझ्ने कुरामा आकाश जमिनको फरक छ ।’

राज्यमन्त्री दुगडले समस्यामा परेका सबैलाई आफूले सहयोग गरेको बताए । ‘मन्त्री भनेको सेवक हो भन्ने भावनाका साथ मैले काम गर्ने प्रयास गरेको छु’ उनले सुनाए ।

उद्योगी व्यवसायीलाई पनि के थाहा छ भने मोतीलाल दुगड आफू पनि नराम्रो काम गर्दैन, घुस खाँदैन, भ्रष्टाचार गर्दैन

राजनीतिलाई पनि सेवासँग जोडेर आर्थिक वृद्धिको मार्गमा लगाउनुपर्ने उनको भनाइ छ । सरकारी कर्मचारीलाई समेत विश्वासमा लिएर काम गराएको उनले दावी गरे ।

विगतमा उद्योगी व्यवसायीलाई राज्यको तर्फबाट हेर्ने दृष्टिकोणमा नै समस्या रहेको भन्दै आफूले त्यसमा सुधार ल्याएको र त्यसको प्रतिफल विस्तारै देखिदै जाने विश्वास व्यक्त गरे ।

‘ विशेष गरी कर्मचारी प्रशासनमा पनि समस्या थियो, उनीहरु विगतमा सकेसम्म काम सार्न खोज्थे, अहिले त्यसमा सुधार आएको छ’ उनले भने ।

‘उद्योगी व्यवसायीलाई पनि के थाहा छ भने मोतीलाल दुगड आफू पनि नराम्रो काम गर्दैन, घुस खाँदैन, भ्रष्टाचार गर्दैन भन्ने थाहा छ’ उनले भने ‘ त्यसकारण म आएपनि थप सहज वातावरण बनेको छ । उद्योगी व्यवसायीलाई विश्वासमा लिएर काम गरिरहेको छु । त्यसको सकारात्मक संकेत पनि देखिएको छ ।’


पुष्प दुलाल