व्यक्तिगत कर्जामा ब्याजदर फिक्स्ड गर्दै बैंकहरु, मुद्दतिमा १० प्रतिशतसम्म ब्याज दिन तयार



काठमाडौं । व्यक्तिगत कर्जामा बैंकहरुले फिक्स्ड ब्याजदर निर्धारण गर्न थालेका छन् । घर कर्जा, गाडी कर्जा, सेयर धितो कर्जा, शैक्षिक कर्जा लगायतमा बैंकहरुले निश्चित समय तोकेरै स्थीर ब्याजदर सार्वजनिक गर्न थालेका हुन् ।

राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थीर बनाउन निर्देशन दिएसँगै बैंकहरु यसको कार्यन्यवन गर्न तर्फ लागेका हुन् ।

केन्द्रीय बैंकले एकीकृत निर्देशिका-२०७७ मार्फत् आगामी महिनाका लागि निक्षेपमा लागू हुने ब्याजदर सम्बन्धी सूचना नेपाली महिना शुरु हुनुपूर्व प्रकाशित गरिसक्नुपर्ने उल्लेख गरेको छ ।

त्यससँगै अधिकांश बैंकहरुले असोज महिनादेखि लागू हुने नयाँ निक्षेप तथा कर्जाको ब्याजदर भदौ मसान्तसम्ममा नै गरिसकेका छन् ।

नयाँ ब्याजदर सार्वजनिक गर्दा बैंकहरुले नियामक निकाय राष्ट्र बैंकको स्थीर ब्याजदर सम्बन्धी निर्देशनलाई पालना गरी १० वर्षसम्मको घर, सवारी, शैक्षिक, सेयर धितो लगायतका कर्जामा फिक्स्ड ब्याजदर निर्धारण गरेका छन् ।

साथै, बैंकहरुले फिक्स्ड ब्याजदरमा कर्जा प्रवाहका लागि स्रोत व्यवस्थापनमा १५ वर्षभन्दा माथिका मुद्दति खाताहरु पनि शुरु गरेका छन् ।

असोज १ गतेबाट लागू हुनेगरी ब्याजदर सार्वजनिक गरका बैंकमध्ये केही बैंकहरु फिक्स्ड ब्याजदरमा व्यक्तिगत कर्जाका साथै लामो समयका उच्च ब्याजदरमा मुद्दति खाता समेत ल्याएका हुन् ।

एनएमबी बैंकले ८.९९ प्रतिशतमा २ वर्षे र १०.७५ प्रतिशतमा ५ वर्षे घर कर्जा प्रवाह गर्ने भएको छ । साथै बैंकले घरको छानामा राख्ने सोलार कर्जा १० वर्षको लागि ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

फिक्स्ड ब्याजदरमा कर्जा प्रवाह गर्न बैंकले लामो समयसम्मका लागि स्रोत व्यवस्थापनतर्फ पनि अग्रसर भएको छ । एनएबीले १५ वर्षभन्दा माथिका व्यक्तिगत मुद्दति खातामा ९.२५ प्रतिशतभन्दा बढी ब्याज दिने भएको छ । साथै विभिन्न प्रकारका मुद्दति खातासमेत शुरु गरी आर्कषक ब्याज दिने घोषणा गरेको छ ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले बैंकले न्यूनतम १ वर्षदेखि १० वर्षसम्मका फिक्स्ड ब्याजदरमा पनि कर्जा प्रवाह गर्ने भएको छ । जसमा एक वर्षे फिक्स्ड ब्याजदरमा इको लोन, एसएमई लोन, सेयर धितो कर्जा, सुनचाँदी धितो कर्जा, कृषि कर्जा र घर कर्जा ९.९९ प्रतिशत ब्याजदरमा दिने घोषणा गरेको छ ।

बैंकले ७ वर्षे र १० वर्षे घर कर्जाको क्रमशः १०.५० प्रतिशत र १२.५० प्रतिशत ब्याजदरमा निर्धारण गरेको छ । साथै, बैंकले ७ वर्षे र १० वर्षे सवारी कर्जाको ब्याजदर क्रमशः ११ प्रतिशत र १३ प्रतिशत निर्धारण गरेको छ ।

यस्तै, नबिल बैंकले एक वर्षका लागि न्यूनतम ७.४९ प्रतिशतदेखि ११.५ प्रतिशतसम्म फिक्स्ड ब्याजदरमा विभिन्न व्यक्तिगत कर्जा ल्याएको छ । बैंकले लामो समयसम्मको लागि स्रोत व्यवस्थापनमा १० वर्षसम्मको लागि व्यक्तिगत मुद्दतिमा ९.५० प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

यस्तै, असोज महिनाबाट लागू हुनेगरी सार्वजनिक गरेको ब्याजदरमा मुद्दति निक्षेपतर्फ माछापुच्छ्रे बैंकले ५ वर्षभन्दा माथिको मुद्दति खातामा व्यक्तिगतर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशतसम्म बयाज दिने घोषणा गरिसकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षसम्मका लागि ६.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । साथै, एभरेष्ट बैंकले १ वर्षदेखि १० वर्षसम्मको मुद्दति खातामा संस्थागतलाई ६.५० प्रतिशत र व्यक्तिगतमा ७.२५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

नेपाल एसबीआई बैंकले १० वर्षे मुद्दति खाता शुरु गरेको छ । असोज १ गतेबाट लागू हुने गरी बैंकले १० वर्षे मुद्दति खातामा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याज निर्धारण गरेको छ । साथै सानिमा बैंकले ५ वर्षे मुद्दतिमा ६.६० प्रतिशतसम्म ब्याज दिने भएको छ ।

एनसीसी बैंकले ५ वर्षभन्दा माथिको मुद्दति खातामा संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८.२५ प्रतिशत ब्याज दिने भएको छ ।

मुक्तिनाथ विकास बैंकले व्यक्तिगत र संस्थागत दुबै १० वर्षे मुद्दति खाताको ब्याज ९.७५ प्रतिशतसम्म दिने घोषणा गरेको छ । साथै, बैंकले मुद्दति खाता कै मुक्तिनाथ पेन्सन योजना र आवर्ती निक्षेपको १० प्रतिशतसम्म ब्याज दिने भएको छ । साथै, मुद्दति खातातर्फ महालक्ष्मी बैंकले १० वर्षसम्मका लागि व्यक्तिगतमा ८ प्रतिशत र संस्थागतमा ६.७५ प्रतिशत ब्याज दिने भएको छ ।

लुम्बिनी विकास बैंकले ५ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दति खातामा ९.२५ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।


क्लिकमान्डु