हिमालयन बैंकका लगानीकर्ताको क्रस होल्डिङः नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी बैंकमा
काठमाडौं । वाणिज्य बैंकहरुको मर्जरको चर्चाले यतिबेला वित्तीय बजार तातेको छ ।
नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंकहरुलाई मर्जरको निर्दशन दिने भनेसँगै फोर्सफूल्ली बिग मर्जर गर्ने चर्चा चलेको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले एकाघर परिवार तथा संस्थाका समान सेयर स्वामित्व भएका बैंकहरुलाई मर्जरको निर्देशन दिइने उल्लेख गरेको छ । यसबीचमा राष्ट्र बैंकले बैंकहरुसँग संस्थापक सेयरधनीहरुको विवरण माग गरिसकेको छ ।
राष्ट्र बैंकले गत आर्थिक वर्षमै बैंक तथा वित्तीय संस्थाहरुसँग सेयर स्वामित्वको विवरण पेश गर्न निर्देशन दिएको थियो ।
तर सो समय बैंकहरुले पठाएको तथ्यांकमा क्रस होल्डिङ नदेखिएको राष्ट्र बैंकले निष्कर्ष निकालेको थियो ।
राष्ट्र बैंकले आन्तरिक अध्ययन गरी वाणिज्य बैंकहरुमा क्रस होल्डिङको आशंका गरेको छ । जसकारण मौद्रिक नीतिमनै क्रस होल्डिङ भएका बैंकहरुलाई मर्जरमा लैजाने नीतिगत व्यवस्था गरी फेरि विवरण मागेको छ ।
क्रस होल्डिङ भएको बैंकहरुलाई मर्जरमा जान निर्देशन दिइने भनिए पनि राष्ट्र बैंकले कति प्रतिशतसम्मको क्रस होल्डिङलाई मर्जरमा जान निर्देशन दिइने भनेर उल्लेख भने गरेको छैन ।
तर राष्ट्र बैंकले गत साउन १४ गते नै बैंक तथा वित्त कम्पनीलाई २०७७ असार मसान्तसम्म संस्थामा भए सबै संस्थापक सेयरधनीको विवरण माग गरेको छ ।
पहिलो पटक बैंकहरुको क्रस होल्डिङ हेर्दा ०.५ प्रतिशबाट हेरिएको हुँदा यसपटक पनि सोही अनुसार हेरिने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
‘अहिले सबै वाणिज्य बैंकहरु ८ अर्ब बढी पुँजी भएका छन्, सो परिमाणमा पुँजी भएको बैंकको ०.१ प्रतिशत क्रश होल्डिङ पनि धेरै हो,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘पहिलो पटक विवरण माग्दा ०.५ प्रतिशतलाई क्रस होल्डिङ मानेर छानबिन भएको थियो, अहिले पनि त्यही रेसियोमा क्रस होल्डिङ हेरिन सक्ने सम्भावना छ ।’
तर हालसम्म राष्ट्र बैंकमा यति प्रतिशतलाई नै क्रस होल्डिङ मान्ने भन्ने विषयमा केही औपचारीक निर्णय भने अहिले नभएको उनले जानकारी दिए ।
लक्ष्मी, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रस होल्डिङ
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले मर्जरको निर्देशन दिने भने भनेपछि प्रत्यक्ष एकाघर परिवार र संस्थाको सेयर स्वामित्व भएका बैंकहरु बीचको मर्जरको आँकलनका चर्चा सबैतिर छ । जसमा हिमालयन, नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी बैंकको चर्चा बढी पाइन्छ ।
हिमालयन बैंकका ठुला लगानीकर्ताहरुमा पाकिस्थानको बैंक लिमिटेडको २० प्रतिशत र कर्मचारी सञ्चाय कोष १४ प्रतिशत सेयर स्वामित्व बैंकमा छ ।
यससंगै बैंकका ठुला लगानीकर्ताहरुमा हिमालय शमशेर जबराको तर्फबाट आभा इन्टरनेशनलको ११.३५ प्रतिशत, भीम पाँडे र पृथ्वी पाँडेको तर्फबाट छायाँ इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत र नरसिंह बहादुर श्रेष्ठ, आनन्दभक्त राजभण्डारीको तर्फबाट एन ट्रेडिङ कम्पनी १२.७१ प्रतिशत र म्युचुअल ट्रेडिङको ११.८५ प्रतिशत लगानी छ ।
हिमालयन बैंकका ठुला लगानीकर्ताहरु एन टे«डिङ कम्पनी र छायाँ इन्टरनेशनल हो । हिमालयन बैंकको ठूला लगानी गर्ने कम्पनीमध्ये छायाँ इन्टरनेशनलको नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि लगानी छ । छायाँ इन्भेष्टमेन्ट प्रालि, इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाडेँ समूहको हो । छायाँ इन्भेष्टमेन्टको हिमालयन बैंकमा ८.८९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकमा ६.६५ सेयर स्वामित्व छ ।
छायाँ इन्टरनेशनल व्यापार तथा लगानी गर्ने उद्देश्यले वि.स.२०४८ सालमा स्थापना भएको हो । जसको सञ्चालकमा प्रचण्डबहादुर क्षेष्ठ, सञ्जन राजभण्डारी, मैयादेवी श्रेष्ठ, मेनुका श्रेष्ठ र मनोज बहादुर श्रेष्ठ छन् ।
यसैगरी, इन्भेष्टमेन्ट बैंकसँग प्रत्यक्ष क्रस होल्डिङको अनुमान गरिएको हिमालन बैंकको लक्ष्मी बैंकसँग पनि क्रस होल्डिङ देखिन्छ ।
खेतान समूहबाट प्रवद्र्धित म्युचुअल ट्रेडिङ कम्पनीमार्फत् हिमालयन बैंक र लक्ष्मी बैंकमा क्रस होल्डिङ देखिन्छ । वि.स. २०४५ सालमा व्यापार र लगानी गर्ने उद्देश्यले स्थापना भएको म्युचुअल ट्रेडिङ कम्पनीको सञ्चालक प्रेमलता खेतान हुन् । उनी राजेन्द्र खेतानकी आमा हुन् । हिमालयन बैंकमा म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत सेयर स्वामित्व छ । त्यसैगरी खेतान परिवारकै अन्जु खेतानको हिमालयन बैंकमा ०.७७ प्रतिशत सेयर स्वामित्व छ ।
लक्ष्मी बैंकको सबैभन्दा बढी सेयर स्वामित्व लक्ष्मी कर्प नेपालको छ । लक्ष्मी कर्पको बैंकमा १४.०९ प्रतिशत सेयर लगानी गरेको छ । तर लक्ष्मी बैंकको ठूलो लगानीकर्ता भने खेतान ग्रुप हो ।
खेतान ग्रुपको अध्यक्ष राजेन्द्र खेतान उनकी श्रीमती र छोरीको गरी २२.५९ प्रतिशत सेयर स्वामित्व छ । लक्ष्मी बैंकमा राजेन्द्र खेतानको जेठी छोरी स्नेहा खेतानको १०.७३ प्रतिशत सेयर स्वामित्व छ ।
यसैगरी राजेन्द्र खेतानको श्रीमती सारिका खेतानको नाममा ७.८२ प्रतिशत र राजेन्द्रको नाममा ४.०४ प्रतिशत सेयर स्वामित्व लक्ष्मी बैंकमा छ ।
मौद्रिक नीतिमार्फत् एकाघर परिवार तथा संस्थाबाट एकाघर परिवार र संस्थाको सेयर स्वामित्व (क्रस होल्डिङ) भएका बैंकहरु पाइएमा फोर्स मर्जर गराउने उल्लेख गरेको छ ।
लक्ष्मी, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकमा ०.५ प्रतिशतभन्दा माथि सेयर स्वामित्म भएका सेयरधनीको विवरण
क्रस होल्डिङ भएका बैंकमा वित्तीय समीक्षा
राष्ट्र बैंकले आधिकारिकरुपमा यतिनै प्रतिशतलाई क्रस होल्डिङ भनेर नभने पनि अबको फोर्स मर्जर ०.५ प्रतिशत बढी सेयर स्वामित्वले गराउने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
यसरी क्रस होल्डिङ बैंक आधारमा राष्ट्र बैंकले मर्जरको निर्देशन दिने हो भने हिमालयन बैंक, इन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकको वित्तीय स्थितिको अध्ययन र व्यवसायको अवस्था हेरेर मर्जरमा जान निर्देशन दिनसक्छ ।
हाल हिमालयन बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड र रिजर्भमा ५ अर्ब ६६ करोड रुपैयाँ छ । साथै, इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड, रिजर्भमा ११ अर्ब ४१ करोड रुपैयाँ र लक्ष्मी बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड, रिजर्भमा २ अर्ब ५४ करोड रुपैयाँ छ ।
यस्तै, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकलाई नैै नेपालका बलिया र लक्ष्मी बैंकलाई मध्यम वर्गका रुपमा हेरिन्छ । यी बैंकहरुको गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा पनि यी बैंकहरुले अर्ब बढी खुद नाफा कमाएका छन् ।
गत आवको असार मसान्तसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये इन्भेष्टमेन्ट बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा ५औं, ब्याज आम्दानीमा ६औं, पुँजी क्यापिटल एडुकेसी रेसीयोमा १६औं, रिटर्न अन इक्विटीमा १४औं र वितरणयोग्य नाफामा २०औं स्थानमा छ ।
यस्तै, खुद नाफामा हिमालयन बैंक गत आवको असार मसान्तसम्म वाणिज्य बैंकमध्ये निक्षेप संकलन १३औं र कर्जा प्रवाहमा १४औं स्थानमा छ । सो अवधिमा बैंक ब्याज आम्दानीमा ११औं, पुँजी पर्याप्तता अनुपातमा ७औं, रिटन अन इक्विटी ३औं र वितरणयोग्य नाफामा १०औं स्थानमा छ ।
साथै, सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये गत आर्थिक वर्षको असार मसान्तसम्म लक्ष्मी बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा १९औं स्थानमा छ । बैंक सो अवधिमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमा ब्याज आम्दानीमा २२औं, पुँजी क्यापिटल एडुकेसी रेसीयोमा २५औं, रिटन अन इक्विटीमा १९औं र वितरणयोग्य नाफामा २३औं स्थानमा छ ।