८० प्रतिशत उद्योगी व्यवसायी बैंकबाट कर्जा लिने योजनामा, २६.४१ प्रतिशतले अझै कर्मचारी कटौती गर्ने



काठमाडौं । लकडाउनले थलिएका ८० प्रतिशत उद्योगी व्यवसायी बैंकबाट कर्जा लिने योजना बनाएका छन् । लकडाउनमा ठप्प भएको व्यवसायलाई पुन सूचारु गर्न उद्योगी व्यवसायीले बैंकबाट कर्जा लिने योजना बनाएको राष्ट्र बैंकले सर्वेक्षणले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा सर्वेक्षण गरेको थियो । जसमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरु सहभागी भएका थिए । सहभागी उद्योगी व्यवसायीमध्ये ८० प्रतिशतलाई पुनः सामान्य अवस्थामा व्यवसाय ल्याउन बैंकबाट कर्जा लिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार उद्योगी व्यवसायीले वित्तीय श्रोत व्यवस्थापनका लागि दोस्रो, तेस्रो र चौथो विकल्पको रुपमा क्रमशः खर्च घटाउन कर्मचारी÷तलब कटौती गर्ने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने बताएका छन् ।

सर्वेक्षणमा सहभागी उद्योगी व्यवसायीमध्ये ७९.९७ प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, २६.४१ प्रतिशतले खर्च घटाउन कर्मचारी/तलब कटौती गर्ने बताएका छन् । यस्तै, १२.६१ प्रतिशतले सहकारी संस्थाबाट ऋण लिने १०.९८ प्रतिशतले नयाँ लगानी साझेदार खोज्ने र ६.५२ प्रतिशतले केही नगर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सर्वेक्षणमा सहभागी करिब ७० प्रतिशत उद्योग÷व्यवसायहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी/कामदारको रोजगारीलाई पूर्णरुपमा निरन्तरता दिन सकिने बताएका छन् ।

एक चौथाईभन्दा बढी (२५.९ प्रतिशत) उद्योग/व्यवसायीले आंशिक रुपमा मात्र निरन्तरता दिन सकिने बताएका छन् भने ४.२ प्रतिशतले सो सुविधा प्राप्त गरेतापनि कर्मचारी/कामदारलाई निरन्तरता दिन नसकिने बताएका छन् ।


क्लिकमान्डु