लकडाउनले पिल्सिएको ‘व्यापारिक हव’ न्यूरोड कहिले फर्केला लयमा ?



काठमाडौं । सधैजसो गुल्जार हुने काठमाडौंको ‘नयाँ सडक’ यतिखेर झरी परेको दिन जस्तै निराश र निरश छ । मानिसहरुमा कुनै उत्साह छैन । उनीहरु फगतः उभिएका छन् । लाग्छ, सबै आशाहरु सकिए । उनीहरु भन्छन् ‘विपदले हामीलाई नराम्ररी खायो ।’

साउनको याम विगतमा नयाँ–नयाँ सामानको खोजीमा पुग्थे । व्यापारी पनि खुसीले पुलकित हुन्थे । ग्राहकलाई भगवान मान्ने उनीहरु सकेसम्म मान मनितो पनि पुर्याउँथे ।

गत पुसको दोस्रो सातादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले धेरैका सपना खोसेको छ । धेरैको चाहनामाथि तातो पानी खन्याइ दिएको छ । व्यापार व्यवसाय चौपट छ । निराश भएकाहरुको मनमा अझै आशा भरिएको छैन ।

एकातिर घरभाडा अर्को तिर व्यापार नहुँदाको पीडा, साँच्चै दुःखद वर्तमान उभिएको छ उनीहरुका अगाडि । सधै भरिभराउन हुने न्यूरोड, महाबौद्ध र असन बजार किन यस्तो भयो होला ? उत्तर सहज छ, विपद घटेको छैन, बरु बढ्दै फैलदै गएको छ ।

एकाध किलोमिटर पर रहेको सिंहदरबारले दिएको आदेश शिरोपर गरेर व्यापारीले पसल खोले । पसल खोल्नु र ग्राहक आउनु फरक कुरा रह्रयो । व्यापार नभएपछि पसल खोल्नुको कुनै अर्थ नरहेको उनीहरुको भनाइ छ ।

सरकारले लकडाउन खुकुलो गरेपनि व्यापार ठप्प रहेको व्यावसायीले बताएका छन् । सँधैजसो भीडभाड र व्यस्त रहने न्यूरोडमा अहिले मानिसहरूको चाप निकै कम भएको देखिन्छ ।

धेरै जसो पसल सुनसान छन् । कोही विरक्त मानेर बसेका छन् । कोभिड–१९ महामारीका कारण गत ११ चैतमा सरकारले लकडाउन गरेसँगै व्यापार व्यवसाय पूर्ण रुपमा ठप्प हुन पुगेको थियो । लामो समयपछि सरकारले लकडाउन खुकुलो बनाएपश्चात न्यूरोडका सबै व्यापार व्यावसाय खुले । तर गति भने लिन सकेको छैन ।

मानिसहरूको किनमेलको मुख्य केन्द्र न्यूरोडमा अहिले भिडभाड कम छ । जसले गर्दा व्यवासायीहरू निराश हुँदै पसल खोल्न बाध्य भएका छन् । व्यापार भने असाध्यै न्यून, अझ भन्दा छँदै छैन भन्दा नै हुन्छ । अधिकांशको आम्दानी ठप्प भएको उनीहरूको भनाइ छ । कोरोनाले व्यापारमा निकै प्रभावित बनेको व्यवसायीहरूको भनाइ छ ।

के भन्छन् व्यावसायी ? 

रुपा खड्का जोशी, रुबेका इम्पेक्स–न्यूरोड


मैले न्यूरोडमा कुर्ता सुरुवालको पसल खोलेको १० वर्ष भयो । पूरै तीन महिना पसल बन्द भएको यो पहिलो पटक हो । हिन्दु नारीको महान चाडपर्व तीज नजिकिँदै छन् । तर, कोरोनाले गर्दा व्यापार पूरै ठप्प छ । मैले असार अन्तिमबाट पसल खोल्न थालेको हो । तर, अहिलेसम्म राम्रोसँग आम्दानी भएको छैन ।

२०७२ सालमा भूँइचालोले गर्दा पनि व्यापार प्रभावित भएको थियो । त्यसपछि व्यापार राम्रोसँग नै चलिरहेको थियो । तर, अहिले कोरोनाले गर्दा व्यापार निकै प्रभावित भएको छ । कुनैबेला एकदुई जना ग्राहक आउने जाने भइरहेको छ । कहिले एक जना पनि ग्राहक पसलमा आउँदैनन् । जसले गर्दा पसल बन्द गर्नुपर्ने अवस्था आएको छ ।

दीपक कुमार श्रेष्ठ, वाल्क विथ अस–न्यूरोड


अहिले भनेको विश्वव्यापी रुपमै लकडाउनको समय हो । मानिसहरू व्यापार व्यावसाय छोडेर घरमा बसिरहेको अवस्था छ । कोरोनाको कारण धेरै मानिसहरू बिरामी र मर्ने भएकाले चलायमान हुनै गाह्रो छ । आर्थिक मन्दिको अवस्थाले गर्दा मानिस बजारमा आउन सकेका छैनन् ।

कोरोनाभन्दा अगाडि १० बजे पसल खोल्थे । तर, अहिले जति बजे खोल्न मन लाग्यो त्यति बेला आएर पसल खोल्ने गरेको छु । मानिसको भीडभाड कम भएपछि विहानै आएर के गर्नु ?

मैले पसल खोलेको एक महिना पुग्न लाग्यो । लकडाउन खुकुलो बनाएपनि ५ प्रतिशत व्यापार गर्न सकेको छैन । हाल ३ प्रतिशत मात्रै ग्राहक बजारमा आएका छन् । मेरोमा स्टाइलिस ब्याग, पर्स तथा हिल जुक्ता पाइन्छ । तर, अहिले मानिसहरू सामान किन्न आउन नै छोडेका छन् । सबै व्यावसाय र विभिन्न संघसंस्थाहरूले भाडामा छुट हुनुपर्ने माग गरिरहेको हो । छुट दिएर वा अन्य गरेर सहज तरिका बनाउनुपर्छ ।

कोरोनाले गर्दा सबै मार्कामा छन् । आम्दानी ठप्प भएको छ । व्यवसाय धारासायी भएको छ । लगानी डुब्ने अवस्थामा छ । मानिसहरू बेरोजगार हुने अवस्थामा छन् । यो बेला घरमा बसेर के गर्नु भनेर पलसमा आएर बस्छु ।

भगवती चन्द, सौभाग्य श्रृंगार–तावाहल


पहिले दिनमा ५ हजारसम्म आम्दानी हुन्थ्यो । अहिले दुई तीन सयमा झरेको छ । कोरोनाले गर्दा गत साउनबाट पसल खोल्न थालेको हो । तर, पसलमा केही आउँदैनन् । हिन्दु नारीहरूको महान चाड तीज नजिकिँदै गर्दा पनि श्रृंगारको सामानहरु किन्न कोही आएका छैनन् । विगतको दिन यसबेलामा पसल निकै भीडभाड हुन्थ्यो । तर, अहिले त्यो रहेन । मैले यही ठाउँमा व्यावसाय शुरू गरेको तीन वर्ष भयो । तर, अहिलेको जस्तो सुनसान कहिले महसुस गरेको थिएन ।

शंकर रिमाल, न्यू एजी कलेक्सन

कोरोनाले गर्दा ग्राहक निकै कम आउन थालेको छ । अहिलेको काम भनेको बिहान आउने पसल खोल्ने अनि जाने भइरहेको छ । सामानहरू बिक्री हुन पाएको छैन । पसल खुल्न थालेको एक महिना पुग्न लाग्यो । तर मानिसहरूको चाप भने बढ्न सकेको छैन् । व्यापार पूरै ठप्प छ । विगतको दिनमा ३०÷३५ हजार आम्दानी हुन्थ्यो अहिले ३,४ हजारमा झरेको छ । कुनै दिन त एक रुपैयाँ पनि आम्दानी हुँदैन ।

कृष्ण रेग्मी, गोल्डस्टार पसल–पुतलीसडक


सरकारले घरबेटीलाई व्यवसायीको भाडामा छुट दिन आग्रह गरेको छ । तर, मेरो घरबेटीले छुट नदिने भनेको छ । व्यापार व्यावसाय ठप्प भएको बेला कसरी भाडा तिर्नु ? लकडाउन भएदेखि भाडा तिरेको छैन । महिनाको ३१ हजार भाडा छ । तर, अहिले ३१ सय आम्दानी नहुँदा धेरै मार्कामा परेको छु ।

अहिले पसल खोल्ने मात्र भइरहेको छ । आम्दानी हुँदैन् । ग्राहकहरूको आवतजावत ठप्प छ । कहिले मान्छे एक दुई जना आउँछन् । कहिले हुँदैहुँदैन । असारको १३ गतेबाट नै पसल खोलेको हो । तर, खोलेदेखि एक दुई जोर मात्र जुत्ता बेचेको छु । यहि स्थिति रहिरह्यो भने निकै कठिन अवस्था सिर्जना हुनेछ ।

सन्तोष भण्डारी, भृकुटीमण्डप


मैले गत १५ असाबाट पसल खोल्न शुरू गरेको हो । संधै भीडभाड हुने भृकुटिमण्डप अहिले खालीखाली छ । कहिले आम्दानी हुन्छ भने कहिले आम्दानी हुँदैन । विगतको दिनमा यो समयमा भ्याइ नभ्याइ हुन्थ्यो अहिले भने को आउँछ भन्दै बाटो कुर्नुपर्ने अवस्था आएको छ ।


क्लिकमान्डु