महंगो भयो भान्सा, लकडाउन खुलेकाे एक सातामै तरकारीको भाउ २००% सम्म बढ्यो



काठमाडौं । लकडाउनको समयमा सस्तिएको तरकारीको मूल्य लकडाउन खुलेसँगै आकासिएको छ । सरकारले गत ७ साउनबाट सुरक्षाका उपायहरू अपनाई व्यवसाय चलाउन भन्दै पूर्णरुपमा लकडाउन हटेको जानकारी गराएको थियो ।

त्यसपछि बन्द भएका कलकारखाना खुल्न थाले भने आर्थिक गतिविधि बढ्न थाल्यो । त्यससँगै तरकारीको मूल्यमा भारी वृद्धि भएको छ ।

कुन-कुन तरकारीमा बढी मूल्यवृद्धि
बजारमा प्राय सबैखालका तरकारीको मूल्यमा वृद्धि भएको छ । जस्तै, नेपालीहरूको सबैभन्दा बढी भान्सामा प्रयोग हुने रातो आलु गत सातासम्ममा प्रतिकेजी औसत मूल्य ४८ मा बिक्री भएको थियो । तर, अहिले त्यसको मूल्य बढेर ६९ मा पुगेको छ । त्यसैगरी, प्रति केजी औसत मूल्य ४८ मा बिक्री हुने मुडेको आलु बढेर ५६ पुगेको छ । यी दुई आलुको क्रमशः २७ र १६ प्रतिशतले वृद्धि भएको समितिले जनाएको छ ।

साथै, सबै खालका तरकारी पकाउँदा प्रयोग हुने सानो गोलभेडाको मूल्य पनि सामान्य अवस्थाको भन्दा निकै बढेको छ । गत सातासम्ममा औसत मूल्य १५ केजीमा बिक्री हुने गोलभेडा २०० प्रतिशतले बढेर औसत मूल्य ४५ पुगेको छ । त्यसैगरी, गत साता औसत मूल्य २० मा बिक्री हुने गोलभेडा सानो (टनेल) पनि २१० प्रतिशतले बढेर ६२ पुगेको छ ।

यस्तै, बन्दा, बोडी, भन्टा लाम्चो, घिउ सिमी (लोकल, हाइब्रिड), तितो करेला, लौका, परवर, लौका, घिरौला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातमा निकै मूल्य वृद्धि भएको छ ।

किन बढ्यो मूल्य
हरेक वर्षझैं यो वर्ष पनि वर्षातको समयमा तरकारी उत्पादन कम हुने तथा ढुवानीमा समस्या हुने भएकाले तरकारीको मूल्यमा वृद्धि हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

‘यो समयमा उत्पादन कम भएपछि बजारमा पनि अभाव हुन्छ, जसले गर्दा तरकारीको मूल्य वृद्धि हुने नै भइहाल्यो,’ उनले भने ।

केही साताबाट अविरल वर्षाका कारण बाढी, पहिरोले बाटो अवरुद्ध भई तरकारी ढुवानीमा समस्या आएकाले पनि यो साता तरकारी महंगो भएको उनको भनाइ छ ।

गत साताअघिसम्म बजारमा तरकारीको मूल्य निकै सस्तो थियो । लकडाउनको समयमा उपत्यकामा मानिसहरूको उपस्थिति कम भएकाले पनि केही हदसम्म तरकारी सस्तो खाना पाएको उनको बुझाइ छ । साथै, लकडाउन खुकुलो भएसँगै मानिसहरू चाप बढ्न थालेपछि मूल्य वृद्धिमा असर परेको उनले बताए ।

उपत्यकामा सबैभन्दा बढी हरियो तरकारी छिमेकी जिल्ला काभ्रे, काठमाडौं, चितवन, मकावनपुर, धादिङलगायत अन्य जिल्लाबाट भित्रिने गर्दछ । लकडाउनको अवधिमा यी जिल्लाहरूबाट नै धेरै तरकारी आयात भएका छन् । त्यसैगरी, आलु, प्याज, कागती, माछा भारतबाट आयात हुन्छ । तर, भारतबाट भने हरियो तरकारी आउन नसकेको उनले जानकारी दिए ।

यी तरकारीको मूल्य यथावत
धेरैजसो तरकारीको मूल्य निकै आकासिए पनि केही तरकारीको मूल्य भने यथावत छ । जसमा सलादको रुपमा खाना रुचाउने लोकल गाजरको मूल्य यथावत छ । जसको औसत मूल्य ५८ रुपैयाँ छ ।

त्यसैगरी, च्याउ, कुरिलो, चुकुन्दर, पुदीना, इमली, तामा, तोफु, गुन्दुक, स्स्याउ (झोले) सउा (फूजी) केरा, मेवा (भारतीय), खुर्सानी हरिया (माछे), सुकेको खुर्सानी, भेडे खुर्सानी, लसुन हरियो, लसुन सुकेको नेपाली र विभिन्न बजारमा पाइने माछाको मूल्य भने यथावत छ ।

केही तरकारीको मूल्य घटेको पनि छ
बजारमा पाइने अधिकांश हरियो तरकारी नेपालमा उत्पादन भएको मात्र आयात भइरहेको समितिले जनाएको छ । हाल लकडाउन र वर्षातको कारणले भारतबाट आयात हुने हरियो तरकारी ठप्प भएको उनले बताए ।

त्यसैगरी, गतसाताको भन्दा यो सातामा केही तरकारीको मूल्यमा घटेको देखिन्छ । जसमा सेतो मूलाको मूल्य गत साताभन्दा निकै कम भएको पाइन्छ । जसमा लोकल र हाइब्रिडको औसत मूल्य क्रमशः १४ र १० रुपैयाँले घटेको छ ।

त्यसैगरी, भटमासकोसा औसत मूल्य ४१, न्यूरो १०, हरियो खुर्सानी १३, हरियो खुर्सानी (बुलेट) १३, हरियो धनिया ३० ले घटेको छ ।


क्लिकमान्डु