कोरोना कहरः भाडामा बस्ने मानिसहरु कोठा छोड्दै



काठमाडौं । काठमाडौं उपत्यकामा घरभाडामा बसिरहेका र व्यवसाय गरिरहेका अधिकांश मानिसहरू कोठा तथा सटर खाली गर्न थालेका छन् । कोभिड–१९ महामारीले गर्दा कलकारखाना तथा आर्थिक क्रियाकलाप बन्द भएपछि भाडामा बसेका मानिसहरू घर छोड्न थालेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारणले विभिन्न औद्योगिक क्षेत्र, साना उद्योग, होटल तथा रेष्टुराँ, पर्यटन क्षेत्र, कन्सलटेन्सीलगायत अन्य सबै प्रकारका व्यवसायहरू प्रभावित भएका छन् ।

व्यवसाय बन्द भएका कारण व्यवसायीहरूले घरभाडा तिर्न सकेका छैनन् । जसले गर्दा व्यवसाय नै बन्द गरी घर छोड्ने अवस्था सिर्जना भएको छ ।

लकडाउनले गर्दा कतिपय मानिसहरू गाउँ गएर काठमाडौं फर्कन सकेका छैनन् । कतिपय मानिसहरु लकडाउन लम्बिएसँगै बिचैमा कोठा छोडेर गएका छन् ।

जसले गर्दा घरबेटीहरू मार्कामा परेको मानव कल्याण कोषको अध्यक्ष समर केसीले जानकारी दिए । उनका अनुसार गाउँ गएर नफर्केका मानिसहरूलाई घरबेटीले नै भाडा नदिएको भन्दै कोठा छोड्न दबाब दिइरहेका छन् ।

त्यसैगरी, अहिले कोरोनाको अवस्था सामान्य भएतापनि मानिसहरूले भाडा तिर्न भने सकेका छैनन् ।

९० प्रतिशत भाडावालाले छुट पाएनन्
कोरोना माहामारीले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै सरकारले घरबेटीहरूलाई भाडा छुट दिन आग्रह गरेका थिए । तर, काठमाडौं उपत्यकामा बसोबास तथा व्यवसाय गर्ने ९० प्रतिशत मानिसले घरभाडा छुट नपाएको केसीले जानकारी दिए ।

चार महिना लकडाउनका कारण अधिकांश व्यापार व्यवसाय बन्द भएर आम्दानी गर्न नसकेता पनि घरबेटीले भने छुट दिन सकेका छैनन् ।

उपत्यकामा बसोबास गर्ने १० प्रतिशतले मात्रै घरभाडामा छुट पाएको केसीले दाबी गरे । तर, यो वर्ष अधिकांश घरबेटीले घरभाडा भने बढाउन नसकेको उनको भनाइ छ ।

‘कोरोनाले गर्दा भाडा बढ्न सकेको छैन, विगतमा जति छ त्यतिमै सीमित भएको छ,’ उनले भने ।

त्यसैगरी, मानिसहरू लकडाउनमा गाउँ फर्केका र गाउँबाट फर्किन नसकेको कारणले गर्दा घरबेटी निकै चिँढिएको केसीले बताए ।

उनका अनुसार भाडा तिर्न सक्नेले व्यापार नभएता पनि भाडा दिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । तर, कतिपय घरबेटीले भाडा नतिरेको भन्दै पुरानोलाई निकालेर नयाँ मानिसहरु खोजेर भाडामा दिइरहेको केसीले जानकारी दिए ।

सबैभन्दा बढी प्रभावित स्थान
सरकारले विभिन्न व्यवसायहरू खुल्ला गर्ने घोषणा गरे पनि मानिसहरूको चहलपहल भने विगतको भन्दा निकै कमी देखिन्छ । काठमाडौंको मुख्य क्षेत्रमा व्यवसायीहरुले व्यवसाय सुचारु गरेका छन् । तर, आम्दानी भने गर्न नसकेको व्यावसायीहरू बताउँछन् ।

‘सटर मात्र खोलेर के गर्नु मानिसहरू आउँदैनन्,’ रामशाहपथस्थित रहेको ग्लोब्यान्सी ग्लोवल कन्सल्टेन्सीका कार्याकारी व्यवस्थापक ज्याक्लिन श्रेष्ठले बताइन् ।

उनका अनुसार कार्यालय खोलेको तीन हप्ता भयो तर मानिसहरूको चहलपहल भने निकै कम छ । सटर खोलेर मात्र यही अवस्था रहिरह्यो भने व्यवसाय बन्द गर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।

हाल काठमाडौंको व्यापारिक क्षेत्र बागबजार, कालिमाटी, न्यूरोड, पुतलीसडक, ठमेल, लाजिम्पाट, लगनखेल, नयाँबजार, बौद्ध, नयाँ बानेश्वरलगायत अन्य स्थानमा कोठा खाली हुन थालेका छन् । साथै, अधिकांश सटरहरू बन्द अवस्थामा छन् ।

त्यसैगरी, शैक्षिक परामर्शदाता रहेकापुतलीसडक, बागबजार, नयाँ बानेश्वर क्षेत्रमा यतिबेला ६० प्रतिशत कार्यालय बन्द छन् । अहिले बन्द अवस्थामा रहेको केसीले बताए ।

साथै, लकडाउनले गर्दा विगतको भन्दा अहिले धेरै घरबेटीले भाडामा लाउनु पर्यो भन्दै फोनहरु र एसएमएस आइरहेको उनको भनाइ छ ।


क्लिकमान्डु