जाने होइन त ‘डे टुर’मा चम्पादेवी ?
घामको झुल्कोसँगै चोभारको डाँडामा भेट्ने भने पनि शनिबार बिहान परेको सिमसिमे पानीले धोका दियो । अघिल्लो दिन कार्यालय बिदा हुने बेला ७ नपुग्दै चोभार पुग्ने र घाम चर्किँदासम्म चम्पादेवी पुगिसक्ने योजना पानीले भिजाउँदै थियो ।
बिहान साढे ५ बजे उठ्दै गर्दा झ्यालको पर्दा सरक्क तानेर हेरेँ, बाहिर समसिम पानी पर्दै थियो । यत्तिकैमा मोबाइलमा नोटिफिकेसनको घण्टी बज्यो । म्यासेज रहेछ, लेखिएको थियो, ‘पानी परिराछ, जान पाइँदैन कि के हो ?’
अघिल्लो साता पनि यही पानीले हाइकिङको तिर्खा मेट्न दिएको थिएन । सिमसिम परिरहेको पानी हेर्दै मनमनै सोचे, आज पनि जान पाइन्न होला । र, तुरुन्तै म्यासेजको रिप्लाइ गरे, ‘केही बेर हेरौं न पानी बन्द भइहाल्छ कि ?’
यसमा साथिगहरु कमल, एलबी, हेमन्त घिमिरेले सहमति जनाए । चोभारको डाँडामा भेट्ने समय १० बजेलाई बनायौं । यतिञ्जेल खाना पनि खाइसकिन्छ भन्ने भयो । नभन्दै ९ बजेतिर पानी रोकियो, हाम्रो बाटो खुल्यो । मन हौसियो ।
बिहान परेको पानीले मन खिन्न भए पनि हाइकिङका लागि भने उपयुक्त बनिदियो । पानी परेर मौसम सफा भएको थियो । जंगलको हरियालीले अझ बढी निखारता पाएको थियो । पानी परेपछिको माटाकमो सुगन्ध पनि उत्तिकै मीठो ।
काठमाडौंको दक्षिण पश्चिममा पर्ने चम्पादेवी जाने रुट धेरै रहेछन् । वर्षाको समय भएकाले सजिलो हुने गरी हात्तिवनको रुट रोजेका थियौं । प्रस्थानविन्दु भञ्ज्याङमा मोटरसाइकल राख्यौं, पिठ्युँमा झोला बोक्यौ र उकालो लाग्याैं ।
हामी सबै जागिरे । साताका ६ दिन कार्यालयको काममै बित्छ । काठमाडौंको अस्तव्यस्त ट्राफिकलाई छिचोल्दै कार्यालय पुग्ने र फर्कने एकैनासे दैनिकीको स्वाद बदल्न पनि हाइकिङ हाम्रा लागि उपयुक्त विकल्प हो ।
थकित शरीर र मस्तिषकलाई फ्रेस बनाउन हाइकिङभन्दा अर्को उपाय के नै होला र ? एक त काठमाडौंबाट बाहिर जान नपर्ने र सबैभन्दा राम्रो कुरा त सिक्न पाइने । हाइकिङ जानका लागि यहाँभन्दा हामीलाई अरु के चाहियो ?
बाइक राखेर करिब १० मिनेट मोटरबाटो हिँडेपछि हामी चम्पादेवी डाँडा जाने बाटो पहिल्यायौं । अलिक बेर उकालो लागेपछि सल्लेरी पुगिने रहेछ । सल्लेरीमा मोबाइलबाट केही फोटो खिच्यौं । हाइकिङ आउन पाएको गर्व गर्दै केही शब्द खर्चियौं । र, पक्कै पनि हिँड्दै गर्दा सेल्फी नलिने त कुरै भएन । त्यसमाथि अचेल टिकटक थपिएको छ, सानो भिडियो पनि लिनैै पर्यो ।
केहीबेर उकालो लागेर जंगल पुग्दै गर्दा गोरेटो बाटो पनि हरायो । केही बेर त अलमलमा पर्यौ । हाइकिङ जाने रुट भएर पनि लकडाउन र पानी परिरहेकाले उन्यूँ र केही झारपात उम्रिँदा गोरेटोले पहिचान गुमाएको रहेछ । त्यही पहिचान हराइसकेको गोरेटोलाई पछ्याउँदै केही बेरमा हात्तिवन रिसोर्ट पुग्यौं ।
ठाडै उकालो चढेपछि बल्ल हात्तिवन रिसोर्ट पुग्यौं । हरियो चौर देख्दा मनै आनन्द भो । सुस्ताउने बाहानामा केही थान फोटो लियौं पनि । यत्तिकैमा तलबाट हुरहुरी कुहिरो माथि तिर आयो र एकैछिनमा छपक्कै छोप्यो ।
कुहिरोले छपक्कै छोपेको त्यो क्षण साच्चिकै रमाइलो थियो । ललितपुरको सहरलाई दायाँ पार्दै बिस्तारै उकालो चढेका थियौं । कँक्रिटले भरिएको सहरबीच आफ्नो अस्तित्व जोगाएका हरिया रुखहरुको दृश्य गज्जब थियो ।
हाइकिङको सबैभन्दा राम्रो पक्ष के हो भने, साथिहरुका रमाइला किस्सा सुन्न पाइन्छ । विगतका कुरा कोट्याउँन पाइन्छ । अतितमा पुगेर चुर्लुम्मै डुब्न पाइन्छ । साथि कमलले किस्सा सुनाउँदै गए, नुवाकोट र बुटवल बस्दाका रमाइला क्षण एकाएक मनभरी आयो ।
एलबीले बाते पिच्छे हसाउँने । उनका कहिले कृषि क्रान्तिका कुरा त कहिले बिजनेस आइडियाका कुराले हाइकिङको उकालोमा पाइला कसरी अघि बढे थाहै पाइएन् ।
हाइकिङको बीचतिर पुगेका थियौं, सानो डाँडोमा पुग्दा हाइकिङको गज्जब ट्रेल देखियो । मन र शरीरमा स्फूर्तीको सञ्चार दौडियो । चम्पादेवीको ट्रेलमा सिँढी उक्लदै गर्दा पानीले गज्जब तरिकाले स्वागत गर्यो । उकालो चढ्दै गर्दा तातेको शरीरलाई केही छिटा पानीले सितल बनायो । साथि हेमन्त वर्षातमा पानीमा अलिअलि त भिज्नु पर्छ भन्दै अगाडि बढ्दा हामी तीनजना उनका पछिपछि लाग्यौं ।
चम्पादेवी पुग्दै गर्दा बनाइएका सिँढीमा हाइकिङ हिँडेका हामी जस्तै सहयात्रीलाई भेटायौं । कोही उकालो लाग्दै गरेका थिए त केही ओरालो झर्दै । यात्रामा सुसेली हाल्दै आफूलाई मन परेको गीतहरु गाउँदै हिँड्दा मन त्यसै आनन्दित हुन्छ ।
जंगल चराहरुको चिरबिरसँगै यसै मुखबाट निस्कने गीतहरु गुन्गुनाउँदै डाँडाबाट देखिने काठमाडौं उपत्यकाको दृश्य अवलोकन गर्दै उकाली चढ्यौं । घाम खासै नलागे पनि प्यास मेट्न पानी पिउँदै आफूले ल्याएका खाजा खाँदै मोबाइलको गीत घन्काएर केहीबेर बाटैमा नाच्यौं पनि ।
हाइकिङमा सबैभन्दा आनन्द लाग्ने भनेकै यस्तै यस्तै पलहरु त हुन् । नाच्न मन लागे नाचे भयो, गाउन मनलागे मनभरी गाए भयो । प्रकृतिको खुला संसारमा हामी पनि मनमौजी बन्दै गयौं । सायद प्रकृतीसँग निकट बनाउने तत्वहरु यी र यस्तै त हुन् । ठूलो पानी पर्दा र थकिन ज्यानलाई आरम दिन बाटोमा मनकारीहरुले पौवा बनाएका रहेछन् । आराम गर्दै हामी यात्रामा अगाडि बढ्यौं ।
दिउँसोसम्म हामी २३०० मिटर उचाइमा रहेको चम्पादेवी पुगिसकेका थियौं । त्यहाँबाट काठमाडौं उपत्यका पानीका कारण देख्न सम्भव भएन । मन्दिर खुला भएकाले हामी पानीबाट जोगिनका लागि मन्दिर दर्शन नगरी सिधै पौवातिर लाग्यौं । पानी ओत्ने भए पनि बस्ने व्यवस्था नहुँदा थाकेर फतक्कै गलेको ज्यान उभिएरै भए पनि आराम गर्यौ ।
हुलका हुल हाइकर्स ओतका लागि आउन थाले । एकैछिनमा पौवा भरियो । भोक मेट्न चाउचाउ, चिप्स झिकेर खान थाल्यौं । अझै मनमा खड्किरहेको कुरो त फोहोर फ्याँक्ने डस्टबिनको । यात्राभर कुनै पनि ठाउँमा एउटा पनि डस्टबिन देखेंनौं, बेवारिसै फोहोर फ्याक्न पटक्कै मन लागेन । त्यसैले फोहोर जति झोलामै कोच्यौँ ।
धेरै ठाउँमा यत्रतत्र छरिएर रहेका नेपकिन पेपर, पानीका बोतल, चाउचाउ, बिस्कुट अनि चक्लेटका खोलहरुले हाइकिङको त्यो सुन्दर रुप बिगारेको भान भयो ।
वर्षाको मौसम भए पनि बाटो राम्रो भएकाले चम्पादेवी हाइकिङ आउनेको समूह थुप्रै थिए । कोही विद्यार्थी, कोही पत्रकार, कोही जागिरे सबै शनिबारको फूर्सदको समयको सदुपयोग गर्दै आएको बताउँथे ।
सिमसिमे पानी कै बीचमा मन्दिरको दर्शन गर्यौ । सम्झनाका लागि केही फोटो पनि खिच्यौं ।
बिस्तारै समयले नेटो काट्दै जाँदा घरतर्फको गन्तव्यका लागि ओरालो लाग्यौं । ओरालो लाग्दै गर्दा फेरि पानी पर्यो । यसपाली अलिक ठूलो पर्यो ।
हत्तपत्त झोलाबाट रेइनकोट र छाता ओढ्दै बाटो ततायौं । केही ओरालो झरेपछि एलबीले बाटो बिर्सिएको संकेत गरे । म निश्चिन्त थिएँ । किनकी म हाइकिङमा जाँदा जहिले म्यापको प्रयोग गर्नेगर्छु ।
अघिल्लोपटक तारकेश्वर हाइकिङ जाँदा नेटले काम नगरेकाले यसपाली अफलाइन म्याप राखेको थिए । मैले भनेँ म्यापले यही बाटो नै देखाएको छ । कमल अलि अगाडि दौडिएर बाटो पहिल्याउँन लागे । बल्ल ढुक्क भइयो, उकालो चढ्दा भेटिएको रातो च्याउँ भेटियो ।
करिब तीन घण्टाको यात्रापछि हामी चौकी भञ्ज्याङ झर्यौ । र, फेरि पनि यसैगरी अर्को हाइकिङ जाने भन्दै घर फर्कियौं ।