कोरोनाले कारोबार नै ठप्प भएको होटलमा सेयर लगानीकर्ताको आकर्षण
काठमाडौं । सरकारले गरेको लकडाउनमा ९७ दिन बन्द भएर खुलेको सेयर बजारमा होटल समुहमा लगानीकर्ताको ध्यान तानिएको छ ।
हाल नेप्सेमा ३ वटा होटल सूचिकृत रहेका छन् । जसमा ओरियन्टल होटल, सोल्टी होटल र तारागाउँ रिजेन्सी रहेका छन् ।
लकडाउन खुलेपनि होटल समुहका लगानीकर्ताको ध्यान तानिएको छ ।
असार १५ गते १ हजार ५३०.२६ अंकमा रहेको होटल समुहको सब इन्डेक्स साउन ८ गतेसम्म आईपुग्दा १४३.०९ अंकले बढेर १६७३.३५ बिन्दुमा पुगेको छ ।
नेप्सेमा सूचिकृत रहेको ओरियन्टल होटलको सेयर मूल्य असार १५ गते प्रति कित्ता ३०६ रुपैयाँ रहेको सेयर बिहीबार (८ गते) प्रति कित्ता ९३ रुपैयाँले बढेर ३९९ रुपैयाँ पुगेको छ ।
असार १५ पछि यो होटलको सेयर मूल्यमा क्रमिक रुपमा बढोत्तरी नै देखिएको छ । यस्तै तारागाउँ रिजेन्सी होटलको पनि सेयर मूल्यमा बढोत्तरी देखिएको छ ।
असार १५ गते प्रतिकित्ता ५० रुपैयाँले बढेर २३१ रुपैयाँ पुगेको छ । असार १५ पनि बढेको सेयर मूल्य असार २३ गते बढेर प्रतिकित्ता २१५ रुपैयाँ पुगेको थियो । त्यसपछि पुन गिरावट आएपनि बिहीबारसम्ममा पुन फर्केर २३१ रुपैयाँ पुगेको छ ।
यता सोल्टी होटलको सेयर मूल्यमा सुधार आएपनि अपेक्षाकृत सुधार भने हुन सकेको छैन । असार १५ मा १६३ रुपैयाँ प्रतिकित्ता रहेको सेयर मूल्य घटेर १४४ रुपैयाँमा पुगेको थियो । त्यसपछि पुन केही समय करेक्सन देखिएको थियो । यो साताको सूरुदेखि बढेको सेयर मूल्य अहिले प्रतिकित्ता १७३ रुपैयाँ रहेको छ । यो मूल्य असार १५ को तुलनामा प्रति कित्ता १० रुपैयाँले बढेको हो ।
बिहीबारको कारोबारमा तारागाउँ रिजेन्सीको कारोबारमा सकारात्मक सर्किट नै लागेको छ । तारागाउँको बजार मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यो दिन उक्त होटलका लगानीकर्ताले सेयर बेचेर मनग्य आर्जन गरेका छन् ।
सेयर बजारका जानकारका अनुसार कोरोना कारण बन्द प्राय रहेका होटलहरुले अब २ वर्ष न्यून (सस्तो) ब्याजदरमा ऋण पाउने भएपनि होटलको नाफा बढछ भन्ने मनोविज्ञान लगानीकर्तामा परेको छ ।
राष्ट्र बैंकको मौद्रिक नीतिमा ‘कोभिड–१९ को कारण ग्रेस अवधि भित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न/संचालन हुन नसकेको अवस्थामा पर्यटक स्तरीय होटलको हकमा अधिकतम २ वर्ष, अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्था मिलाइने छ’ भन्ने उल्लेख गरेको छ ।
राष्ट्र बैंकले ३ प्रतिशत पुनकर्जा पाउने भएपछि त्यसले नाफामा हिट गर्ने अपेक्षामा लगानीकर्ता रहेका छन् । त्यसले बजार बढाउन सहयोग गर्ने वा नगर्ने भन्ने प्रष्ठ थाहा पाउनको लागि गत आवको चौथो चौमासको वित्तीय विवरण आएपछि लगानीकर्ताले विश्लेषण गर्न सक्ने तर्क पनि अघि सारिएको छ ।