मर्जरको पाइपलाइनमा १४ बैंक तथा वित्तीय संस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकमा १४ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको स्वीकृतिका लागि पाइपलाइनमा छन् । ती संस्थाहरुले पार्टजर खोजेर मर्जर तथा एक्वायरका लागि अनुमाति माग्दै राष्ट्र बैंकमा आवेदन दिएर स्वीकृतिको पर्खाइमा बसेका हुन् ।

राष्ट्र बैंकको मर्जर नीतिलाई सहयोग गर्दै एकिकृत कारोबारका लागि सम्पूर्ण प्रकृया पूरा गरेका ती संस्थाहरुलाई केन्द्रिय बैंकले अन्तिम स्वीकृति दिन ढिलाइ गरेको हो ।

पाइपलाइनमा रहेका १४ वटा बैंक तथा वित्तीय संस्थामध्ये १० वटा लघुवित्त संस्था, २ वटा वाणिज्य बैंक र २ वटा फाइनान्स कम्पनीहरु छन् । जसमध्ये १० वटाले सैद्धान्तिक सहमति पाएका छन् भने ४ वटा बैंक तथा वित्तीय संस्था सैद्धान्तिक सहमतिको पर्खाइमा छन् ।

जसमा समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरको सम्झौता गरी २०७७ असार १ गते राष्ट्र बैंकमा सैद्धान्तिक सहमतिको लागि निवेदन दिएका थिए ।

त्यसैगरी, मिर्मिरे लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरको सहमति गरी २०७६ फागुन १३ गते राष्ट्र बैंकमा स्वीकृतिको लागि आवेदन दिएका हुन् ।

यसैगरी मर्जर तथा प्राप्तिका लागि आपसमा सम्झौता गरी सैद्धान्तिक सहमति पाएर अन्तिम स्वीकृतिको पर्खाइमा रहेका १० वटा बैंक तथा वित्तीय संस्थाहरु छन् । जसमा स्वारोजगार लघुवित्त र जनकपुर लघुवित्तले ०७७ जेठ २२ गते, जलपा लघुवित्त र महिला सामुदायिक लघुवित्तले ०७७ असार ५ गते, युनिक नेपाल लघुवित्त र बुद्ध ज्योति लघुवित्तले मर्जरको लागि सैद्धान्तिक स्वीकृति पाएका हुन् ।

त्यसैगरी, सनराइ बैंक र सिर्जना फाइनान्सले ०७६ चैत ४ गते र नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्प्रेस फाइनान्सले ०७६ चैत ३० गते प्राप्तिको सैद्दान्तिक स्वीकृति पाएर अन्तिम स्वीकृतिको पर्खाइमा छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन र दबाब दिइरहेको छ । जसअनुसार संस्थाहरु मर्जरमा जाने सम्झौता गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका हुन् ।

अन्य कामको लोडका कारण मर्जर र प्राप्तिको स्वीकृतिका लागि संस्थाहरुले दिएको आवेदनमाथि राष्ट्र बैंकले मर्जरको नीतिअनुसार अनुसार छलफल गरी चाँडो निर्णय गर्न नसकेको राष्ट्र बैंककै अधिकारीहरु स्वीकार गर्छन् ।

देशभर हाल २७ वटा वाणिज्य बैंक २१ वटा विकास बैंक २२ वटा फाइनान्स कम्पनी र ८९ वटा माइक्रोफाइनान्स कम्पनीहरु सञ्चालनमा छन् ।


पुष्प दुलाल