रुसले कोरोना भाइरस भ्याक्सिनको रिसर्च चोरी गर्न खोजेको भन्दै बेलायत, क्यानडा र अमेरिकाले लगाए आरोप



रुसको इन्टेलिजेन्स सर्भिससँग जोडिएको एक साइबर जाजुसी समूहले अमेरिका, बेलायत र क्यानडामा भइरहेको कोरोना भाइरसको भ्याक्सिन रिसर्च ह्याक गर्न खोजेको बेलायतको राष्ट्रिय साइबर सेक्युरिटी सेन्टरले बताएको छ ।

बेलायतको उक्त रिपोर्टमा अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले समेत सहमति जनाएको छ ।

‘सन् २०२० भरी नै एटीपी२९ ले क्यानडा, अमेरिका र बेलायतमा कोरोना भाइरसको भ्याक्सिन उत्पादनमा जोडिएका विभिन्न संस्थामा आक्रमण गरेको छ । उनीहरुले भ्याक्सिन सम्बन्धि बौद्धिक सम्पत्ति चोरी गर्न खोजेको देखिन्छ,’ बेलायतको एनसीएससीको रिपोर्टमा उल्लेख छ ।

‘द डुक्स’  र ‘कोजी बियर’का नामले समेत परिचित ‘एटीपी २९’ रसियाको खुफिया सेवासँग सम्बन्धित भएको एफबीआईले सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रिपतिको निर्वाचन मूल्यांकनमा उल्लेख गरेको थियो ।

‘यो कुनै पनि हालतमा स्वीकार्य छैन कि रुसको खुफिया सेवाले कोरोना भाइरससँगको युद्धका बेलामा यो काम गरिरहेको छ,’ बेलायतका परराष्ट्र सचिव डोमिनिक राबले भने, ‘जहाँ अरु आफ्नो स्वार्थ पूर्तीका लागि काम गरिरहेको समयमा बेलायत र यससँग सम्बन्धि देशहरुले कोरोना भ्याक्सिन पत्ता लगाउन र विश्वको स्वास्थ्यलाई बचाउनका लागि लागिरहेको छन् ।’

बेलायतले तयार पारेको रिपोर्टमा एटीपी२९ ले निरन्तर कोभिड १९ को भ्याक्सिन रिसर्चमा आक्रमण गर्न सक्ने संकेत समेत गरेको छ ।

एनएसए साइबर सेक्युरिटीका निर्देशन आन नेउबर्जरले उक्त रिपोर्टले यस विषयमा अझ बढी सचेत रहन मद्दत मिलेको बताए । उनले एटीपी २९ ले लामो समयदेखि सरकारी, कुटनीतिक, बौद्धिक वर्ग, स्वास्थ्यकर्मी तथा उर्जा क्षेत्रको बौद्धिक सम्पत्तिमा आक्रमण गरिरहेको बताए ।

गत मे महिनामा अमेरिकाको एफबीआई र साइबर सेक्युरिटी र इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीले चिनियाँ सम्मिलित साइभर एक्टर र नन ट्रेडिसनल कलेक्टरहरुले कोरोना भाइरसको भ्याक्सिन र उपचारको रिसर्च चोरी गर्न खोजेको बताएको थियो ।


क्लिकमान्डु