शेखर गोल्छाबाट रिजल्ट खोज्ने हो भने उहाँले रोजेको टिम बनाइदिनुपर्छः पशुपति मुरारका



कोभिड १९ का कारण उद्योगी व्यवसायीको अवस्था असाध्यै नाजुक बनेको छ । यस्तो बेला नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार निर्वाचन हुन गइरहेको छ ।

यसबेला एक अर्काप्रति आरोप-प्रत्यारोप नगरौं । म किशोर दाईलगायतलाई आग्रह गर्न चाहन्छु कम से कम आफ्ना राम्रा कुराको मात्रै प्रचार-प्रसार गरौं । आज अर्को समूहको पनि उम्मेद्वारी घोषणा भएको छ ।

अर्को पक्षको उम्मेद्वारी घोषणाका क्रममा उठेका विषय पनि हामीले थाहा पायौं । त्यहाँ तपाईंहरु माथि विभिन्न आरोप लगाइएको छ । त्यो आरोप–प्रत्यारोपबाट उत्तेजित हुनु आवश्यक छैन । आत्मसंयमता राखौं। त्यसले अर्को पक्षलाई पनि संयमतामा आउन बाध्य बनाउँछ ।

हाम्रा मतदाता रहेका उद्योग व्यवसायीले सबैलाई चिनेकै छन् । राम्रै जानकारी राखेका छन् । को कस्तो काम गर्न सक्छ भन्ने कुरा सबैलाई थाहा छ । त्यसैले हामीले चर्को नारा दिएर ठूल्ठूला कुरा गरेर मत पाउछौं भन्ने कुरा नसोचौं ।

मत पाउने भनेको आफ्नो व्यवहार तथा कामबाट हो । त्यो देखाउनुस् । देखाउँदै आउनु पनि भएको छ । यत्रो अनुभवी साथीहरु हुनुहुन्छ । कामबाट देखाउँदै आउनु भएको छ । सबै साथीहरुले त्यो कुरा बुझछन् । त्यसैले धेरै तडकभडक नगरिदिनुस् ।

शेखरजीबाट परिणाम चाहिन्छ भने उहाँले छानेका मान्छेलाई भोट दिएर जिताउनु आवश्यक छ । किनकी उहाँ काम गर्न सक्ने मान्छे हो ।  शेखर जीले चाहेको टिम बनाइसकेपछि पनि काम गरेर देखाउन सक्नु भएन भने हामीले उहाँलाई प्रश्न गर्नुपर्छ, ‘किन काम गर्न नसकेको ?’

मैले तपाईंलाई भोट दिएकै आधारमा, सहयोग गरेकै आधारमा वा शेखर गोल्छालाई सहयोग गरेकै आधारमा मैले मत पाउनै पर्छ, म टिममा हुनै पर्छ भन्ने कुरा केही साथीहरुलाई त्यस्तो पर्यो होला । त्यो पनि ठिकै छ ।

कसले गर्दा को अध्यक्ष बन्न पायो वा पाएन ? कस्ले गर्दा विधान संशोधन हुन पायो वा पाएन भन्ने कुरा आ–आफ्ना कुरा हुन् । राख्न पाइन्छ । समस्या छैन ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि सबैको अध्यक्ष बन्नुपर्छ, त्यो कुरा सही हो । म पनि सहमत छु । हिँजोसम्म किशोर प्रधान दाई अर्को टिममा हुनुहुन्थ्यो । शेखर जीको विपक्षमा नै चुनाव लडेको हो उहाँले । यसअघि आपसमा चुनाव लडेका शेखर र किशोरजी आज एकै ठाँउमा हुनुहुन्छ ।

त्यो बेला हामीहरू एउटै टिममा थियाैं ।  भवानीजी वरिष्ठ हुँदाहुँदै शेखरजीको पक्षमा खुलेरै हिँड्नु भएको थियो । त्यसबेला शेखरजीको पक्षमा किन लागेको भनेर केही आरोप त लागेन । अहिले फरक टिममा भएपछि शेखरजीले भोट माग्दा प्रश्न उठाउन कसरी मिल्छ ?

अध्यक्षले काम गर्दै गर्दा आफ्नो टिमको छनोट गर्न पाउने कि नपाउने ? मैले कार्यालयमा एउटा व्यवस्थापक राख्दा त उसलाई टिम बनाउन छाड्ने गरेको छु । उसको टिम मिलाइदिएन भने काम गर्न सक्दैन र उत्पादकत्व आउँदैन ।

हामीले देखेका छौं कि एउटा मन्त्री आउँछ, उसले आफ्नो विश्वासको र काम गर्न सजिलो हुने तथा मन मिल्ने मान्छेलाई सचिवको रुपमा राख्छ । त्यसैले शेखर गोल्छाजीले आफ्नो मन मिल्ने, विश्वासिलो र काम गर्न सहज टिम बनाउनु पर्छ ।

हामी सबैले अध्यक्ष निश्चित भइसकेका शेखर गोल्छाजीलाई काम गर्न सजिलो हुने गरी टिम बनाइदिऔं । त्यसो भयो भने उहाँले काम गर्न पाउनुहुन्छ । परिणाम देखाउन पाउनुहुन्छ ।

अध्यक्ष शेखरजीलाई बनाउने र अर्कै तिरबाट अर्को कोही मान्छेलाई ल्याएर टिम बनाउने हो भने उहाँले काम गर्न र परिणाम देखाउन पनि सक्नुहुन्न ।

त्यसैले शेखरजीबाट परिणाम चाहिन्छ भने उहाँले छानेका मान्छेलाई भोट दिएर जिताउनु आवश्यक छ । किनकी उहाँ काम गर्न सक्ने मान्छे हो ।  शेखर जीले चाहेको टिम बनाइसकेपछि पनि काम गरेर देखाउन सक्नु भएन भने हामीले उहाँलाई प्रश्न गर्नुपर्छ, ‘किन काम गर्न नसकेको ?’

तर, छासमिस टिम बनाएर मिलीजुली सरकार हुँदा कस्तो परिणाम आउँछ, हामीले देखे भोगेकै छौ । त्यसकाकारण यही बेला सही र वस्तुगत निर्णय गरौं ।

(मंगलबार साँझ महासंघ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानको टिम सहितको उम्मेदवारी घोषणा सभामा निवर्तमान अध्यक्ष मुरारकाले व्यक्त गरेको विचार ।)


पुष्प दुलाल