अर्थतन्त्र जोगाउन विस्तारकारी मौद्रिक नीतिको खाँचो छः गणेशराज पोख्रेलको बिचार



बैंकको महत्वपूर्ण काम भनेको सम्पत्तिको गुणस्तरलाई जोगाइराख्नु हो । सम्पत्तिको गुणस्तर बचाउनका लागि जोखिम व्यवस्थापनको उपकरण हुन्छन्, त्यसको प्रयोग गरी गुणस्तरलाई तल झर्न नदिनु हो ।

अहिले कोभिडको कारणले गर्दा सबै क्षेत्र संक्रमित, दुःखी–पीडित छन् । आफु कसरी बाच्ने र अरुलाई कसरी बचाउने भन्ने अभिपे्ररित भएर काम गरीरिहेको अवस्था बैंक पनि एउटा व्यवसाय नै हो भनेर बुझ्नु पर्ने हुन्छ ।

बैंकमा अहिले विभिन्न क्षेत्रका ऋणीहरुले साँवाब्याज भुक्तानी गर्न सक्ने स्थिति देखिँदैन । खासगरी पर्यटन, सार्वजनिक यातायात क्षेत्र, शैक्षिक क्षेत्र, साना तथा मझौला उद्योगहरु अहिलेसम्म राम्रोसँग शुचारु हुन सकिरहेका छैनन् । त्यस्ता क्षेत्रहरुलाई पुन पहिलेको अवस्थामा शुचारु हुनको लागि केही समय आवश्यक पर्छ । सुचारु गर्न बैंकहरुले समय दिन सक्यो भने ती क्षेत्रलाई सहज हुन्छ ।

तर समय दिँदा कोभिडकै कारणले बिग्रिएको हो या पहिले देखिनै बिग्रिएका थिए ? त्यो बुझ्नु पर्छ । कोभिडको कारणले अप्ठ्यारोमा परेका बैंकका ऋणी उद्योगी व्यवसायीहरुलाई कर्जाको पुनर्तातिकीकरण, ब्याजपुँजीकरण र पुनरसंरचना के गर्ने सकिन्छ गर्नुपर्छ ।

यो सबै ब्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गर्ने आशामा सबै क्षेत्र रहेका छन् । यस्तो व्यवस्थाले गर्दा समस्यामा परेका सस्थाहरु बाँच्छन् । र, उनीहरुले पुनः अर्थतन्त्रमा गतिशिलता दिन्छ । ऋणीहरुको आवश्यकता हेरेर पुरानो कर्जामा राहत दिँदै आवश्यकताअनुसार थप कर्जाको व्यवस्था गर्न सकेमा रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने, मुद्रास्फिती कायम गर्न सहयोग पुग्छ । साथै राज्य यस्ता संस्थाहरुबाट खोजेको कुरा प्राप्त गर्न सक्छ ।

अहिलेकोमौद्रिक नीतिले हेर्नुपर्ने मुख्य विषय भनेको मुद्रास्फ्रिती र रोजगारी । मौद्रिक नीतिले मुद्रास्फितीलाई व्यवस्थापन गर्दै महंगी बढ्न नदिने र रोजगारीलाई घट्न नदिइ थप रोजगारी सिर्जना हुने वातावरण सिर्जना गर्नुपर्छ । रोजगारी घट्न गएमा आर्थिक गतिविधिहरु सुस्ताउँछ । कोभिडकै कारणले गर्दा भारत तथा वैदेशिक रोजजारीमा गएका लाखौँ व्यक्तिहरु रोजगारी गुमेर फर्केर आउँने अनुमान गरिएको छ । यसअघि पनि मुलुकभित्र नै पनि धेरै व्यक्तिहरुको बेरोजगार भइसकेका छन् । अमेरीकाबाट पनि ठुलोसंख्यामा विद्यार्थीहरु फकिन्छन् भन्ने अनुमान छ ।

यसरी रोजगारी कटौती भएर बेरोजगार भएकाहरुको पुनरउत्थान गर्ने, आत्माविस्वासलाई पुनः जाग्रित गराई राष्ट्रिय अर्थतन्त्रको विकासमा गरिने गतिविधिहरुमा सहभागी गराउन सकिने किसिमको आर्थिक तथा कर्जा प्याकेज ल्याउनुपर्छ । यस्ता आर्थिक प्याकेजहरु ल्याउँदा बैैंकलाई पनि बचाउँदै र त्यस्ता वर्गहरुको पनि सीप, दक्षता, ज्ञानलाई सदुपयोग गरेर अगाडि बढ्ने किसिमको मौद्रिक नीतिको अपेक्षा छ ।

विश्ववयापीरुपमा नै धेरै वर्षपछि यस्तो महामारीले संकट ल्याएको हो । यसमा नेपाल पनि अछुतो छैन । विगतमो ७/८ प्रतिशतको आर्थिक वृद्धिको परिकल्पना गरेर बसेको हाम्रो देश ।

अहिले हामीले २ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिको कुरा गर्दैछौँ । त्यो पनि पुग्छ पुग्दैन एकिन भन्न सक्ने अवस्था छैन । यस्तो स्थितिमा बैंक र ऋणी दुबै बचाउने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्छ ।

सदैव बैंकिङ क्षेत्रले मात्र योगदान गर्नुपर्छ, भन्ने हिसाबले गएमा बैंकहरु घरासायीमा पर्न सक्छन् । अहिले सबै बैंकहरुको रिटन अन् इक्विटी औषतमा १५ प्रतिशतभन्दा पनि तल गइसकेको छ । यो अवस्थामा मानिसहरुलाई भोली बैंकिङप्रति नै आकर्षण नहुन सक्छ ।

सबैले बैंकले धेरै नाफा कमायो भन्दा बैंकले त धेरै नाफा कमाउँदो रहेछ भनेर बुझ्दा लगानीकर्ताहरुले हामीले लगानीको प्रतिफल अत्यन्तै न्यून छ भन्दा वास्तिवकता अर्को हुन्छ । जुनसुकै क्षेत्रका संघ संस्थामाहरुमा लगानी गर्ने लगानीकर्ताहरुले कम्तीमा २० प्रतिशतको प्रतिफल आसा गरेर लगानी गरेका हुन्छन् । बैंकमा लगानी गर्ने लगानीकर्तालाई त्योभन्दा थोरै प्रतिफल दिएमा बैंकिङ क्षेत्रबाट लगानी विकर्षण हुने सम्भावना हुन्छ । त्यसकारण राष्ट्र बैंकले यो पक्षलाई पनि ध्यानमा राखेर मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ ।

अहिलेको मौद्रिक नीति ‘बाँच र बाच्न देउ’ सिद्धान्तबाट अभिप्रेरित भएर आउनुपर्छ ।

बैंकिङ क्षेत्रमा तरलता बढेको छ । तर यो अहिले बढेको तरलता दिर्घकालिन भने होइन । अहिलेको अवस्था सामान्य भएपछि कर्जाको माग ठुलो हुन्छ । रेमिट्यान्समा असर पर्ने बित्तिकै हाम्रो निक्षेप संकलनमा धेरै प्रभाव पर्छ । आजको दिनमा तरलता सहज भएपनि भविष्यमा तरलता अभावको समस्या आउन सक्छ ।

बैंककहरुले अहिले धेरै किसिममा प्रोभिजन गर्नुपर्दा उनीहरुको ब्यालेन्ससिट खराब देखिन्छ । त्यसकारण बैंकको ब्यालेन्ससिट पनि राम्रो देखिनको लागि कर्जाको पुनर्तातिकीकरण, ब्याज पुँजीकरण र पुनरसंरचना गर्ने पक्षमा राष्ट्र बैंकले ध्यान पदिनु पर्छ । अहिले संकटको बेला हो ।

अहिले सीआरआर ३ प्रतिशतमा छ, त्यसलाई अझ घटाउन पनि सकिन्छ । जसले गर्दा बजारमा अझ बढी तरलता बढ्छ । यो आजको दिनलाई हेरेर होइन भविष्यमा बजारलाई प्रभाव पार्नको लागि व्यवस्था गर्नुपर्छ । यस्तो अवस्थामा बनाइने मौद्रिक नीति बिस्तारकारी प्रकारको हुनु आवश्यक छ ।


पुष्प दुलाल