पर्यटकको औसत बसाइ र खर्च बढ्यो तर अर्थमन्त्रालयसँग मिल्दैन तथ्यांक



काठमाडौं । सन् २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित सरकारले नेपाल भ्रमण वर्ष शुरु गर्यो । तर कोरोना महामारीका विश्वसमूदाय आक्रान्त भइसकेपछि मन्त्रिपरिषदको बैठकले भ्रमण वर्ष स्थगित गरेको थियो ।

यो नेपालमा मात्रै होइन, सन् २०२० मा भ्रमण वर्ष मनाउने तयारी गरेको मलेसियाले पनि कोरोनाको महामारीका कारण स्थगित गरिसकेको छ । तर कोरोना शुरु हुनुभन्दा अगाडिको वर्षमा पनि उत्साहजनक रुपमा नेपालमा विदेशी पर्यटक भने आएनन् ।

पर्यटकको संख्या
सन् २०१८ मा ११ लाख ७३ हजार ०७२ जना विदेशी पर्यटक नेपालमा आएको अवस्थामा सन् २०२० मा २० लाखको लक्ष्य लिइरहँदा सन् २०१९ मा कम्तीमा १४ लाखभन्दा बढी पुग्छन् भन्ने आम अपेक्षा थियो ।

तर त्यसको ठीक विपरीत झिनो २.२ प्रतिशतले मात्रै वृद्धि भइ ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल आए । तर सन् २०१७ को तुलनामा सन् २०१८ मा भने २४.७७ प्रतिशतले पर्यटकको संख्या बढेको थियो ।

बसाइ अवधि
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०१९ को रिपोर्टमा पर्यटकको बसाइ अवधि सन् २०१८ को तुलनामा बढेको छ । जसमा सन् २०१८ मा औसत बसाइ अवधि प्रति पर्यटक १२.४ दिन थियो भने सन् २०१९ मा यो बढेर १२.७ पुगेको रिपोर्टमा उल्लेख छ ।

तर गत जेठ १३ गते अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उक्त अवधिमा पर्यटकको बसाइ अवधि बढेर १३ पुगेको उल्लेख गरिएको छ ।

‘आर्थिक वर्ष २०७५ पुसदेखि २०७६ पुससम्मको अवधिमा प्रति पर्यटकको सरदर बसाइ १३ दिन रहेको छ ।’ -आर्थिक सर्वेक्षण २०७६/७७

यसरी हेर्दा आर्थिक सर्वेक्षण रिपोर्टमा बढेको पर्यटकको औसत बसाइ अवधि पर्यटन मन्त्रालयले असारमा सार्वजनिक गरेको प्रतिवेदनमा भने ०.३ दिनले घटेको छ ।

पर्यटकको खर्च
त्यसैगरी पर्यटकले गर्ने प्रतिदिनको खर्च पनि बढेर ४८ अमेरिकी डलर पुगेको छ । यस विषयमा आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको थिएन् । सन् २०१८ मा खर्च रकम प्रतिदिन ४४ डलर थियो ।

वर्ष २०१९ मा पर्यटकले नेपालमा ८१ अर्ब १२ करोड ५७ लाख ४६ हजार रुपैयाँ अर्थात ७२ करोड ४३ लाख ३७ हजार अमेरिकी डलर खर्च गरेका छन् । यो गत वर्षको तुलनामा १६ प्रतिशतले बढी हो । गत वर्ष नेपालले ६९ अर्ब ७५ करोड ५ लाख ८४ हजार आम्दानी गरेकोमा यस वर्ष थप ११ अर्ब ३७ करोड ५१ लाख ६२ हजार रुपैयाँ बढी आम्दानी गरेको छ ।

हवाई उडान
त्यसैगरी सन् २०१८ मा जस्तै सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडानमार्फत यात्रु बोक्ने विमानमा नेपाल एयरलाइन्स अगाडि छ । सन् २०१९ मा दोस्रो स्थानमा कतार एयरवेज, तेस्रो स्थानमा फ्लाइ दुबइ, चौथो स्थानमा एयर इन्डिया र पाँचौ स्थानमा एयर अरेबियार छ । सन् २०१८ मा दोस्रो स्थानमा जेट एयरवेज, तेस्रोमा कतार एयरवेज, चौथोमा फ्लाइ दुबई र पाँचौमा एयर इन्डिया थियो । जेट एयरवेजको उडान बन्द भएपछि एयर अरेविया धेरै यात्रु बोक्ने शीर्ष पाँचमा परेको हो ।

नेपालका विमानस्थल
हाल नेपालमा ३२ वटा विमानस्थल सञ्चालनमा छन् भने ७ वटा निर्माणाधिन र १७ वटा नचलेको अवस्थामा छन् । मन्त्रालयले सार्वजनिक गरेको सन् २०१८ को रिपोर्ट अनुसार ४९ मध्ये ३५ विमानस्थल सञ्चालन, ५ वटा निर्माणधिन र १४ वटा नचलेको अवस्थामा थिए ।


क्लिकमान्डु