सिकाइ निरन्तरताका लागि आजदेखि बैकल्पिक शिक्षा शुरु, विद्यालय नखुल्दासम्म लागू हुन्छः शिक्षामन्त्री



काठमाडौं । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बैकल्पिक शिक्षा शुरुवात गरेको बताएका छन् । विद्यालय सामान्य रुपमा सञ्चालन नहुँदासम्मका लागि विभिन्न माध्यमबाट बैकल्पिक शिक्षामार्फत विद्यार्थीको सिकाइलाई निरन्तरता दिने उनले बताए ।

उनका अनुसार अहिले ३ वटा कुरालाई मन्त्रालयले प्राथमिकतामा राखिएको छ ।

१) घरलाई नै शिक्षालयका रुपमा व्यवस्था गर्न, स्वअध्ययन चिन्तन, मनन् गर्दै छापाजन्य तथा प्रविधिजन्य सामग्रीको सिकाइमा केन्द्रित गर्न होमस्कुलिङलाई व्यापक रुपमा उपयोग गर्नुपर्छ ।

२) औपचारिक शिक्षा पद्धति अवरुद्ध भएको यस परिस्थितिमा सिकाइका अनौपचारिक, बैकल्पिक तथा खुला दूर शिक्षा पद्धतिलाई थप सुदृढिकरण गरी सिकाइलाई निरन्तरता दिने कामलाई अघि बढाउनुपर्छ । यस्ता पद्धतिलाई भविष्यमा समेत औपचारिक शिक्षाको पूरक प्रणालीका रुपमा निरन्तरता दिइनेछ ।

३) पछिल्लो समयमा प्रविधिको द्रुततर रुपमा विकास भइरहेको छ । शिक्षक र विद्यार्थी दुबै पक्षले सूचना तथा सञ्चार प्रविधिलाई जीवन पद्धतिमा अंगिकार गरेर आफ्नो क्षमता विकास गर्न सक्नुपर्छ ।

शिक्षामन्त्री पोखरेलले बैकल्पिक सिकाइ पद्धति, आईटीको व्यापक प्रयोगबाट घरलाई नै शिक्षालय बनाएर हामी सिकाइलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

यसका लागि मन्त्रालयले होमस्कुलिङ, रेडियो पाठशाला, टेलिभिजन शिक्षा जस्ता बैकल्पिकमाध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरताका लागि कार्यक्रम आरम्भ गर्न गइरहेको बताए ।

कार्यक्रमको सफलताका लागि विद्यार्थीले आफ्नो सिकाइप्रति सजग भइ उपलब्ध साधन प्रयोग गर्नुपर्छ भने अभिभावकले पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिइ होमस्कुलिङमा सरिक गराउन व्यवस्था गर्न उनले आग्रह गरे ।

विद्यालय र शिक्षकले पनि टेलिफोन र इमेलमार्फत विद्यार्थीको सिकाइको अनुगमन र निरिक्षण गरी आवश्यक मार्गनिर्देशन गर्नुपर्ने बताए ।

यो अभियानमा अग्रपंक्तिमा रहेर स्थानीय तहले नेतृत्व गर्ने र प्रदेश सरकारलाई पनि रेडियो तथा टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रसारणलगायतका रचनात्मक कार्यक्रमहरु सञ्चालनको व्यवस्था मिलाउन उनले अनुरोध गरे ।


क्लिकमान्डु