आजदेखि बैकल्पिक सिकाइ शुरु, प्रमले भने- हरेक घरघरमा प्रविधि प्रवेश गर्दैछ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय सञ्चालन नभएसम्मका लागि बैकिल्पक शिक्षा शुरुवात गरेका छन् ।

सोमबार बिहान नेपाल टेलिभिजनबाट बैकल्पिक शिक्षा प्रणालीको शुरुवात गर्दै प्रधानमन्त्रीले अब घरघरमा प्रविधि प्रवेश गर्ने बताए ।

‘विगत ६ महिनादेखि कोरोनाका कारण विश्व आक्रान्त छ । हामीकहाँ पनि अहिले विद्यालय बन्द छन् । कैयन विद्यालय क्वारेन्टिन बनेका छन् । लकडाउन हटेको होइन, खुकुलो भएको हो । सजगता नअपनाउने हो भने संक्रमण अझ फैलिन सक्छ । त्यसैले बैकल्पिक शुरुवात गरिएको हो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले विद्यालयहरु सिकाइका सामूहिक केन्द्र भएको भन्दै लामो समयसम्म सिकाइ बन्द हुँदा समस्या हुने भएकाले बन्दाबन्दीको समयलाई सिकाइ निरन्तरताका लागि सरकारले बैकल्पिक सिकाइ शुरुवात गरेको बताए ।

‘कोरोना महामारीका कारण केही अवसर पनि सिर्जना भएका छन् । प्रत्यक्ष कक्षा सञ्चालन नभए पनि अनलाइनलगायतका माध्यमबाट सिकाइ शुरु हुँदैछ,’ उनले भने ।

ओलीले अब हरेक घरघरमा प्रविधि प्रवेश गर्ने बताउँदै मुलुकमा विकास समानस्तरको छैन, सिकाउने र सिक्ने स्तर पनि सबैको एउटै छैन त्यसैले बैकल्पिक शिक्षाको शुरुवात गरिएको हो,’ उनले भने ।

उनका अनुसार बैकल्पिक शिक्षा प्रणालीमा सबै प्रकारका पहुँचभन्दा बाहिर रहेका विद्यार्थीका लागि पाठ्यपुस्तक उपलब्ध गराउने, टेलिभिजनमा पहुँच हुनेलाई टेलिभिजन कार्यक्रम, रेडियो कार्यक्रम र इन्टरनेटका माध्यमबाट सूचना प्रविधिको साधन पहुँच हुनेलाई अनलाइन सिकाइ सामग्री उपलब्ध गराइनेछ ।

उनले अनुसार महामारी सकिएसँगै हाम्रो शिक्षा नयाँ प्रणालीमा प्रवेश गर्ने बताए ।

‘आजको जस्तो अवस्था नहुँदा समेत हाम्रा पूर्खाले ज्ञानको ज्योति फैलाएका थिए । अक्षर र अंकको विकास गरेका थिए, त्यसैले बालबालिकाले पनि बैकल्पिक शिक्षामार्फत सिकाइलाई निरन्तरता दिनुपर्छ,’ उनले भने ।

‘बालबालिकाको सिकाइमा गरिने खर्च समाज र भविष्यमाथि गरिने लगानी हो । अभिभावकले शिक्षामा गर्ने लगानी समाजका लागि महत्वपूर्ण हो । हाम्रो शिक्षाप्रणालीले शिक्षित गर्ने विद्यार्थीहरु विश्वसँग प्रतिष्पर्धी हुने विश्वास छ,’ उनले भने ।

बैकल्पिक शिक्षा प्रणालीमार्फत पनि समाज र देशको राजनीति र अर्थतन्त्रबारे जानकार हुने उनले बताए ।

उनले सफल हुनका लागि इमान्दार हुनैपर्ने बताउँदै सबैभन्दा पहिले आफू इमान्दार हुनुपर्ने बताए । त्यसैले भविष्यमा जे बन्ने हो त्यसैमा समर्पित हुनुपर्छ ।

उनले शिक्षा अनुसन्धानमा आधारित हुनुपर्ने बताउँदै इनोभेटिभमा आधारित हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले पुरानो पुस्ता लडेको भएकाले आजको पुस्ता प्रश्न सोध्ने अवस्थामा पुगेको बताए ।

‘यो पुस्ता स्वभावतः जिज्ञाशु छ । प्रश्न पनि सोधिरहेको छ । मुलुक विग्रिँदै पो छ कि भनेर चिन्ता पनि छ । त्यसैले भन्छु, जति लड्छ यो पुस्ता लड्छ । हाम्रो मुलुकमा अर्को आन्दोलन आवश्यक छैन । आरोप लगाए जस्तो नेतृत्व गर्न सजिलो छैन,’ उनले भने ।

अबको जनशक्ति शिक्षित, सक्षम, स्वस्थ, जोखिमको अवस्था आँकलन गरी यथासम्भव विद्यालय पुनः सञ्चालन हुनेछ भने त्यतिबेलासम्म बैकल्पिक शिक्षा प्रणाली लागू हुनेछ ।

शिक्षा मन्त्रालयले आवश्यक सामग्री उपलब्ध गराउनेछ । यो विधि हाम्रा लागि नयाँ हो । तसर्थ विद्यार्थीले यो विधि पालना गरिरहेका छन् वा छैनन भन्ने अभिभावकले हेर्न प्रधानमन्त्रीले आग्रह गरे ।


क्लिकमान्डु