लकडाउनमा काम गर्ने बैंकका कर्मचारीले कस्तो इन्सेन्टिभ पाउँछन् ?




काठमाडौं । तपाईं बैंकको कर्मचारी हुनुहुन्छ र लकडाउनमा पनि लगातार कार्यालय गएर काम गरिरहनु भएको छ ? त्यसो भए तपाईंका लागि खुसीको खबर छ ।

तपाईंको बैंकले तपाईंको कामलाई मुल्यांकन गर्दै नगद प्रोत्साहनदेखि बढुवामा पनि थप अंक दिनेछ ।

विश्वभर फैलिएको कोरोनाको संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । बैंकिंग सेवा अत्यावश्यक भएकाले बैंकहरुले लक डाउनको अवस्थामा पनि थोरै कर्मचारीबाट सीमिति बैंकिंग सेवा उपलब्ध गराइरहेका छन् ।

आफ्नो ज्यानको बाजी थापेर लकडाउनको बेलामा पनि काम गर्ने कर्मचारीलाई थप प्रोत्साहन दिनुपर्छ भनेर बैंकर्स संघले सदस्य बैंकहरुलाई सुझाव पनि दिइसकेको छ ।

कोरोना भाइरसको संक्रमणको त्रासमा र लक डाउनको अप्ठ्यारो परिस्थीतिमा पनि जोखिम लिदै जनतालाई सेवा दिने बैंकका कर्मचारीले प्रोत्साहन गर्न बैंकहरुले अतिरिक्त सुविधा दिने नेपाल बैंकर संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘बैंकर संघ अन्तर्गतका सबै बैंकका साथीहरुसँग पनि कर्मचारीलाई इन्सेन्टिभ दिने विषयमा कुरा भएको हो,’ उनले क्लिकमाण्डूसँग भने ‘साथीहरु पनि सहमत छन्, तर के इन्सेन्टिभ दिने भन्ने बिषयमा उहाँहरु स्वतन्त्र हुनुन्छ ।’

यस्तो संक्रमणको समयमा पहिलो प्राथमिकतामा कर्मचारीको उच्च स्वास्थ्य सुरक्षा दिन बैंकको दायित्वसँगै उनीहरुलाई जोखिम उठाएर काम गर्न प्रोत्साहन गर्नु बैंकहरुको कर्तव्य पनि रहेको उनले बताए ।

‘सानिमा बैंकले यो अवस्थामा काम गरेर बैंकलाई सहयोग गर्ने कर्मचारीलाई आर्थिकसँगै उनीहरुलाई भविश्यमा करियरमा सहयोग हुने प्रकारका इसेन्टेभको व्यवस्था गरेको छ,’ दाहालले भने ‘सबै बैंकलाई यस्ता प्रकारका प्रोत्साह गर्नुस् भनेर आग्रह भने संघको अध्यक्षको नाताले गरेको छु ।’

कोरानाको त्रासमा युद्धभुमिबाट काम गर्ने र घरबाटै काम गर्ने वा लक डाउन भएर घरमा बस्ने कर्मचारीहरुलाई एकै किसिमको व्यवहार गर्न नमिल्ने उनको भनाई छ ।

कोरोना भाइरसको त्रासमा फिल्डमा खटिने कर्मचारीलाई खटिएको अवधिको गणना गरेर त्यस अनुसार भत्ताको व्यवस्था गरिएको नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाले बताए ।

‘अहिलेको अवस्थामा उनीअरुलाई प्रोत्साह गर्ने भनेको अतिरिक्त भक्ता दिएर नै हो,’ ढुंगानाले क्लिकमाण्डूसँग भने ‘हामीले लक डाउन अवधीमा कार्यलय नै खोलेर काम गर्ने कर्मचारीलाई आर्थिक प्रोत्साहनको व्यवस्था गरेका छौँ ।’
उनीहरुले अहिले गरेको कामको मुल्यांकन पछिसम्म हुने उनको भनाइ छ ।

यता राष्ट्रिय वाणिज्य बैंकले पनि लड डाउनको समयमा काम गर्ने कर्मचारीलाई सुविधाका प्याकेजहरुको व्यवस्था गरेको बैंकका सिइओ किरण कुमार श्रेष्ठले बताए ।

‘संक्रमणको त्रासमा जोखिम उठाएर काम गर्ने कर्मचारीलाई बैंकले २/३ वटा इसेन्टिभ दिएको छ,’ उनले क्लिकमाण्डूसँग भने ‘लक डाउनमा काममा आउने कर्मचारीलाई बैंकले नै यातायातको सुविधा दिनुका साथै प्रतिदिन अतिरिक्त भत्ताको व्यवस्था गरिदिएका छौँ ।’

बैंकका कर्मचारीले पहिलेबाटै स्वास्थ्य बीमाको सुविधा पाएको भएपनि लक डाउनमा कार्यलयमा नै गएर काम गर्ने कर्मचारीको बीमाको कभरेज बढाउने उनले बताए ।

धेरै जना कर्मचारीहरुले घरबाट काम गर्ने भएता पनि कार्यलयमा काम गर्ने कर्मचारीहरुलाई सुविधा दिने निर्यण कृषि विकास बैंकले गरिसकेको बैंकका सिइओ अनिल उपाध्ययले बताए ।

‘बीमाको सुविधा दिने पहिले नै निर्णय भइसकेको थियो,’ उनले क्लिकमाण्डूलाई भने ‘त्यसका अतिरिक्त पनि आर्थिक कर्मचारी विनियमावली अनुसारका सुविधाहरु दिने भनेर सुची तयार गरिसकेका छौँ ।’

लक डाउनमा खटिने कर्मचारीलाई थप अन्य सुविधाहरु के के व्यवस्था गर्ने बोर्डमा छलफल भइरहेको उनले बताए ।

संक्रमणको जोखिममा पनि फिल्डमा नै गएर काम गर्ने कर्मचारीलाई आर्थिक लाभसँगै बैंकले उनीहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूतिलाई बैंकले पहिलो प्राथमिकतामा एनएमबी बैंकले राखेको बैंकका सिइओ सुनिल केसीले बताए ।

‘यस्तो अवस्थामा अन्य प्रोत्साहन भन्दा उनीहरुलाई स्वास्थ्य सुरक्षाकमा सुनिश्चतता गराउन सकेमा उनीहरु फिल्डमा काम गर्ने जान तयार हुन्छन्,’ केसीले भने ‘हामीले कर्मचारीलाई संक्रमणबाट टाढा राख्न उच्च स्वास्थ्य सुरक्षा दिएर काममा उत्प्रेरित गरिरहेका छौँ ।’

फाइनान्सियल तथा उनीहरुको करियर सपोर्ट गर्न इन्सेन्टिभ बैंक खुलेपनि उनीहरुले पाउने केसीको भनाइ छ ।
प्रभु बैंकका सीइओ अशोक शेरचन पनि लकडाउनमा काम गर्ने कर्मचारीलाई नगद इन्सेन्टिभ र प्रोमोसनमा विशेष अंक दिने बताए ।

लकडाउनको अवस्थामा काम गर्नेलाई अतिरिक्त न्यूनतम दैनिक एक हजार त दिनै पर्ला, शेरचनले भने, निर्णयचाहीँ गरिसकेका छैनौं ।

त्यसैगरी, यस्तो अवस्थामा काम गर्ने कर्मचारीलाई इन्सेन्टिभ दिनुपर्न भन्नेमा आफूहरु अत्यन्तै सकरात्मक रहेको सिटिजन्स बैंकका सीइओ गणेशराज पोखरेल र सनराइज बैंकका सीइओ जनक शर्मा पौडेलले बताए ।

यस्तै अन्य वाणिज्य बैंक र विकास बैंकहरुले पनि लड डाउनमा कार्यलय खोलेर संक्रमणको उच्च जोखिमका बीचमा सेवा दिन तयार कर्मचारीलाई दैनिक भक्ता, स्वास्थ्य बीमा र अन्य प्रकारका सुविधा तथा भविश्यमा क्षमता विकासका सीप तालिमहरु दिन गरी प्रोत्साहन गरिएको जानएका छन् ।


पुष्प दुलाल