महानगरले बाँड्यो स्वयम्भू, बौद्ध र पशुपतिका बाँदर, चराचुरुङीलाई आहारा



काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिने उदेश्यले सरकारले लकडाउन जारी गरेसँगै काठमाडौँ महानगरपालिकाले सामूदायिक कुकुर, छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुलाई समेत आहाराको व्यवस्था गर्दै आएको छ ।

यसै अनुरुप काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यसहितको टोलीले आफैँ स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रमा पुगी उनीहरुलाई आहारको व्यवस्था गरेको छ ।

छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीलाई आहारको व्यवस्था गर्न टोलीसहित विश्व सम्पदासूचिमा सुचिकृत ती क्षेत्रहरुमा पुगेका प्रमुख शाक्यले उनीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ भनेर ४३ औं नगर कार्यपालिका बैठकले उनीहरुलाई आहारको व्यवस्था गर्ने निर्णय गरेको र सोही अनुरुप काम अघि बढेको जानकारी दिए ।

‘हामीले असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुलाई राहत वितरण गर्न कोरोना भाइरस (कोभिड–१९) सम्वन्धी राहतवितरण मापदण्ड-२०७६ नै पारित गरी त्यसैको मापदण्ड अनुसार राहत वितरण गर्दै आएका छौँ,’ प्रमुख शाक्यले भने, ‘हामीले चराचुरुङ्गी, परेवा, छाडा चौपाय, सामुदायिक कुकुर, बादर केही पनि भोकले नमरुन भनेर वडा–वडालाई नै उनीहरुको आहारका लागि बजेट पठाएका छौँ ।’

उनले सबै वडाले त्यहि बजेट मार्फत आहाराको व्यवस्था गरिरहेको भन्दै मुख्य गरेर बादँर, कुकुर र छाडा चौपायको बढी भीडभाड हुने विश्वसम्पदामा सुचिकृत सम्पदा क्षेत्रहरु स्वयम्भू, बौद्ध र पसुपति क्षेत्रमा अनुगमनका लागि पुगेको जानकारी दिए । ‘निर्णय गरे अनुसार काम भैरहेको छ कि छैन भनेर केन्द्रीय टोली अनुगमनका लागि आएको हो,’ उनले भने, ‘महानगरभित्र कोही पनि भोको नरहोस् भन्ने भावना अनुरुप नै सबै वडाले सक्रिय रुपमा काम गरिरहेका छन् ।’

उनले असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने मात्र होइन महानगर क्षेत्र भित्र घर भएर पनि किनेर खान समस्या भएकालाई पनि राहतको व्यवस्था गरेको जानकारी दिए । ‘काठमाडौँमा बहालमा बसेका तर किनेर खान समस्या भएका र काठमाडौँमै घर भएका तर, किनेर खान समस्या भए दुबैलाई हामीले व्यवस्था गर्छौ भनिरहेका छौँ,’ उनले भने, ‘आयस्रोत भएका, लकडाउनको अवधिमा खानलाई समस्या नभएको वर्ग अहिलको राहतका लागि लक्षित वर्ग भित्र पर्दैन ।’ विदेशबाट यहाँ आएर बसेका, लकडाउनका कारण स्वदेश फर्किन नपाएका र किनेर खान समस्या भएकाहरुलाई पनि राहतको व्यवस्था गर्ने उनले जानकारी दिए ।

उनले भोलि बसन्तपुर, कालमोचनलगायतका क्षेत्रमा अनुगमन गर्ने पनि जानकारी दिए । ‘लकडाउनका कारण मानिसको आवागमन नहुँदा र होटल, रेष्टुराँहरु सञ्चालन हुँदा सामूदायिक कुकुर, बाँदर र छाडा चौपायाले खानेकुरा खान नपाएको कुरालाई ध्यानमा राख्दै उनीहरुलाई आहाराको व्यवस्था गर्न वडाहरुलाई थप रकमको व्यवस्था गर्न आफू तयार रहेको पनि उनले जानकारी दिए ।

प्रमुख शाक्यले लकडाउन भएको सुरुको दिनदेखि नै महानगरपालिका राहत वितरणलगायतका कार्यमा सक्रिय भएर लागेको पनि जानकारी दिए । ‘हामीले सबै वडालाई राहत वितरण पारदर्शी ढंगले गर्न र सबैको तथ्याङ्क राख्न पनि निर्देशन दिएका छौँ,’ प्रमुख शाक्यले भने यो विपत्को बेला हो, सबैलेले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुको अर्को विकल्प नभएको पनि जानकारी दिए । उनले शुक्रबारसम्म ३२ वटै वडाबाट करीब ३५ हजार ८ सयलाई राहत वितरण गरेको जानकारी दिदैँ ४२ हजारको विवरण संकलन गरेको बताए ।


क्लिकमान्डु