कोरोना नियन्त्रण गर्न सरकारलाई आर्थिक सहयोगको ओइरो, अर्ब बढी जुट्यो, कस्ले कति दिए ?



काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग लड्न विभिन्न क्षेत्रले सरकारलाई ठूलो आर्थिक सहयोग जुटेको छ । सरकारले ५० करोड रुपैयाँको कोरोना नियन्त्रण तथा रोकथाम कोष बनाएको थियो ।

उक्त कोषमा अहिलेसम्म अर्बभन्दा बढी जम्मा भइरहेको छ । निजी क्षेत्रका उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नियामक निकाय तथा विभिन्न व्यक्तिले कोरोनासँग लड्न सरकारलाई अर्ब बढी सहयोग गरेका हुन् ।

कोरोना नियन्त्रण गर्न सरकारलाई आर्थिक सहयोगको ओइरो, अर्ब बढी जुट्यो, कस्ले कति दिए ?

अहिलेसम्म सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ भने दोस्रो धरै निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

व्यावसायिक घराना लक्ष्मी ग्रुप, बिशाल ग्रुपले १ १ करोड रुपैयाँ सहयोग गरिसकेका छन् भने निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ५० लाख रुपैयाँ नगद र ६० लाखभन्दा बढीको मेडिकल इक्विपमेन्ट लगायत सहयोगको घोषणा गरिसकेको छ ।

त्यसैगरी, गरिमा विकास बैंकले पनि ३५ लाख रुपैयाँ सहयोग गरेको छ भने बैंक अफ काठमाण्डूका सीइओ शोभनदेव पन्तले एक महिनाको तलब, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेशकुमार भट्टराईले दुई महिनाको तलब, पूर्वअर्थसचिव रामेश्वर खनालले दुई महिनाको पेन्सन सहयोगको घोषणा गरिसकेका छन् ।

त्यसैगरी, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पनि आर्थिक तथा विभिन्न सामाग्री सहयोग गरिरहेका छन् ।

कुन वाणिज्य बैंकले कति सहयोग गरे ?

त्यसैगरी, २२ वटा वाणिज्य बैंकले २५ करोड रुपैयाँभन्दा धेरै सहयोगको घोषणा गरिसकेका छन् । अहिलेसम्म सहयोग घोषणा गर्ने बैंकमध्ये सबैभन्दा धेरै प्राइम बैंकले १ करोड ७५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ भने दोस्रोमा सानिमा बैंकले १ करोड ६८ लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यसैगरी, सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकले १ करोड ५० लाख, एनबी बैंकले १ करोड ४५ लाख, कृषि विकास बैंकले १ करोड ६ लाख र एनएमबि बैंकले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी, ग्लोबल आइएमइ बैंकले १ करोड १५ लाख, हिमालयन बैंकले १ करोड २५ लाख, प्रभु बैंकले १ करोड १ लाख, माछापुच्छ्रे बैंकले १ करोड १ लाख, बैंक अफ काठमाण्डूले १ करोड ६ लाख, मेगा बैंकले १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

त्यस्तै, इन्भेष्टमेन्ट बैंकले १ करोड र एसबिआई बैंकले १ करोड रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै, सेञ्चुरी बैंकले ८५ लाख, सिभिल बैंकले ७८ लाख, कुमारी बैंकले ७० लाख, सिटिजन्स बैंकले ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।


पुष्प दुलाल