कोरोना आतंकः अब यसो गरौं



काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको महामारीले यतिखेर विश्वलाई आतंकित बनाएको छ ।

तीव्र गतिमा फैलिएको महामारीबाट विश्वमा हालसम्म हजारौंको कोरोना संक्रमणले मृत्यु भइसकेको छ भने लाखौ मान्छेहरु संक्रमित छन् । यद्यपि झन्डै १ लाख कोरोना संक्रमित निको भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा केही समयअघि १ जना कोरोना संक्रमित भेटिएको र निको भइसकेको थियो भने सोमबार मात्रै स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

कोरोना नियन्त्रण गर्ने औषधि पत्ता लागिसकेको छैन । तर, कोरोनाको संक्रमणबाट बच्न भने सकिन्छ । त्यसका लागि व्यक्ति आफैंले पूर्वसावधानी अपनाउनु जरुरी छ भने राज्यले पनि पूर्वसावधानी र संक्रमितको तत्कालै उपचार गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

नेपालमा कोरोनाको महामारी फैलिइ नसकेको हुनाले हामी सबैले आ–आफ्नो तर्फबाट सावधानी अपनाउने र ठूलो दिल बनाएर सहयोग गर्ने हो भने कोरोना संक्रमणलाई पराजित गर्न सक्छौं ।

सरकारले चैत महिनालाई ‘लक डाउन’ गरेको छ । अर्थात् अतिआवश्यक बाहेक अरुलाई घरबाहिर ननिस्कन सरकारले आग्रह मात्रै गरेको छैन । बाहिर निस्कन नपाइने वातावरण पनि सिर्जना गरेको छ ।

कोरोनाको रोकथामका लागि सरकारले गरेको निर्णय केही ढिलो भएको अवश्य हो । तर, अत्यावश्यक निर्णय गरेको छ । त्यसैले हामी सबैले सरकारको निर्णय मान्दै ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्छ । किनभने आफू रहे न संसार रहने हो ।

लक डाउनको अवस्थामा कार्यालयहरु, पसलहरु वा अन्य व्यापार व्यवसाय बन्द भएका छन् । खासगरी, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई हातमुख जोड्नै समस्या परेको छ । कोरोनाले विश्वव्यापीरुपमै गरिबीको संख्या बढाउने निश्चित छ ।

सेल्फ क्वारेन्टाइनमा बसेपछि आम्दानी खुम्चिएको छ । जसको प्रभाव सबै क्षेत्रमा पर्न थालिसकेको छ । हामीले ठूलो दिल बनाउने हो भने आर्थिक समस्याको पनि न्यूनिकरण गर्न सकिन्छ ।

इटलीबाट सिक्नुपर्छ
चीनबाट फैलिएको कोरोना भाइरस यतिबेला विश्वव्यपी रुपमा फैलिएको छ । शुरुमा विश्वका अन्यमा एकाध मात्रै देखिए पनि अहिले यसले चीनसँगै अन्य देशलाई पनि आक्रान्त पारेको छ । जसको मारमा सबैभन्दा धेरै इलटी देखिएको छ ।

इटली अहिले पूरै लकडाउन छ । शुरुमा हेलचेक्राँइ देखाउँदा के कस्तो परिणाम भोग्नुपर्छ भन्ने इलटी अहिले उदारहण बनेको छ । चीनले अनुशासित रुपमा जसरी बाउन्स ब्याक गर्यो त्यसरी इटलीलगायतका देशले नगर्दा भयाभय अवस्था आएको छ । र, त्यही अवस्था नेपालमा नआउला भन्न सकिन्न ।

अहिलेसम्म २ जनामा देखिएकामा एक जनालाई निको भइसकेको छ भने अर्को एक जनालाई अहिले मात्रै भएको पुष्टि भएको छ । कोरोना भाइरस तीव्र गतिमा फैलिने र यो २ गुणा, ४ गुणाहुँदै बढ्ने भएकाले यसमा निकै सचेत हुनुको विकल्प छैन ।

यसो गरौं न

१) कोरोनाबाट प्रभावित सबै क्षेत्रलाई राज्यले करलगायतका विषयमा विशेष छुट दिनुपर्छ । यो चैत महिनालाई सरकारले करमा विशेष छुट दिने हो भने कोरोना पीडितलाई ठूलो राहत पुग्छ ।

२) तपाई घरबेटी हुनुहुन्छ । यदि दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति तपाईको घरमा बस्छ भने कम्तीमा १५ दिनदेखि १ महिनाको घरभाडा छुट दिनुहोस् । किनभने तपाई घर भएको मान्छेलाई २÷४ हजार रुपैयाँ कम आउँदैमा केही फरक पर्दैन । जति ज्यालादारीमा काम गर्नेलाई २÷४ हजार रुपैयाँ तिर्दा पर्छ ।

३) तपाई कर्मचारी हुनुहुन्छ भने कम्तीमा १५ दिन वा १ महिनाको तलब नलिने घोषणा गर्नुहोस् । सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प भएको अवस्थामा लगानीकर्तालाई पनि बाच्न धौधौ हुन्छ । तपाईले १÷२ हप्ताको तलब नलिँदा तपाईलाई जति असर पर्छ, पूरा महिनाको तलब दिनुपर्दा कुनैपनि कम्पनी सञ्चालकलाई त्यो भन्दा ठूलो असर पर्छ । तर, १५ दिन वा १ महिनाको तलब नलिँदा पनि तपाईको घर खर्च चल्ने अवस्था भने हुनुपर्छ ।

४) तपाई व्यापार व्यवसाय गर्नुहुन्छ भने सामान्य अवस्थाकै मूल्यमा वस्तुहरु बिक्री गर्नुहोस् । कृत्रिम अभाव सिर्जना नगर्नुहोस् । एउटै व्यक्तिलाई ५ वटा ग्यास सिलिण्डर, ७ बोरा चामल, २० किलो दाल–तरकारी नबेच्नुहोस् । सबैलाई समानरुपमा बिक्री वितरण गर्नुहोस् ।

५) तपाई उपभोक्ता हुनुहुन्छ भने दैनिक गुजारा चलाउन सकेसम्म कम वस्तुको प्रयोग गर्नुहोस् । भोलि सामान पाइने हो कि नपाइने हो भनेर आवश्यकताभन्दा धेरै वस्तु तथा सामग्री स्टक राख्नतिर नलाग्नुहोस् ।

६) तपाईसँग पर्याप्त जग्गाजमिन छ । २÷३ वटा घर छन् र तिनको उपयोग भएको छैन भने कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राख्नका लागि सरकारलाई दिऔं ।

७) आफ्नो टोलतिर कुनै गरिब, असहाय, महिला तथा बालबालिका खाद्यान्न, लत्ताकपडा वा औषधि नपाएर समस्यामा परेको छ भने आफ्नो क्षमताले भ्याएजति सहयोग गर्नुहोस् ।

८) कोरोनाको विषयमा कुनैपनि भ्रम फैलाउने सामग्री सामाजिक सञ्जालमा पोस्ट नगरौं । सकेसम्म सचेतनाका कुराहरु मात्रै पोस्ट वा सेयर गरौं । व्यक्तिव्यक्तिको भेटघाटमा पनि सोही गरौं ।

९) सबैलाई सदभावपूर्ण व्यवहार गरौं । सक्दो सहयोग गरौं । सबैले आ–आफ्नो क्षेत्रबाट सकेसम्म योगदान गरौं । त्यसका लागि के सकिन्छ ती उपायका बारेमा सोचौं ।

१०) सहयोग नै धर्म हो भन्ने सोच राखौं । सकरात्मक सोच राखेर सबै मानव एकजुट भएर लड्ने हो भने यस्ता संक्रमणहरुबाट उत्पन्न हुने जोखिम न्यूनिकरण गर्न मद्दत पुग्छ ।


पुष्प दुलाल