राष्ट्र बैंकको गभर्नर बन्न प्रत्यासीबीच दौडधुप, कसले कुन शक्तिकेन्द्र धाए, कस्तो छ आश्वासन ?



काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन अनुसार गभर्नरको कार्यकाल सकिनु एक महिना अगावै नयाँ गभर्नर नियुक्तिको सुचना सार्वजनिक गर्नु पर्नेमा बुधबारसम्म गभर्नर नियुक्तिको समिति नै गठन हुन सकेको छैन । त्यसैले गभर्नर नियुक्तीको विषयमा राजनैतिक चलखेल भएको कारणले पनि समयमा नै नयाँ गभर्नर नियुक्त हुन सकेको छैन ।

गभर्नरको पद रिक्त भएपछि सरकारले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कायम मुकायम गभर्नर नियुक्त गरिसकेको छ । त्यसको केही समयपछि मात्र नयाँ गभर्नर नियुक्त हुने प्रष्ट देखिएको छ । त्यसो हुदाँ भावी गभर्नर बढी राजनीतिक पहँच भएको व्यक्ति नै हुने सम्भावना रहेको छ ।

डा. चिरञ्जीवि नेपाल राष्ट्र बैंकबाट बिदा भएर चिन्तामणी शिवाकोटीले कायम मुकायमको कार्यभार सम्हालेपछि गभर्नरका आकांक्षी बीचको दौड अझै बढी तीव्र भएको छ ।

हाल नेकपाको सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका अर्थ मन्त्री डा. युवराज खतिवडा पुनः पद बहाली गरिसकेका छन् । यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुचाएका व्यक्ति अग्नि सापकोटा सभामुख भइसकेमा छन् । गभर्नर नियुक्तिको दौडमा केहीले आफू राष्ट्रपतिको नजिकको रहेको भन्दै प्रचार समेत गराएका छन् ।

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण पछि स्वास्थ्यलाभमा रहेका छन् । सोही कारण मन्त्रीपरिषद् बैठक समेत बस्न सकेको छैन । जसका कारण गभर्नर नियुक्तिको लागि सिफारिश समिति नै गठन हुन सकेको छैन । गभर्नर चयनका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्य सिफारिस समिति गठन गर्नुपर्ने कानूनी व्यवस्था छ ।

समितिले गभर्नरका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, तथा वाणिज्य क्षेत्रको प्रतिष्ठित व्यक्तिबाट दुईजना र राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट एक जना गरी कुल ३ जनाको नाम सिफारिस गर्नेछ । सोही ३ जनाको नामबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने छ ।

को को छन् आकांक्षी ?

पुर्वअर्थ सचिव राजन खनाल

अर्थ मन्त्रालयबाट हालै अवकास भएका पूर्व अर्थ सचिव राजन खनाललाई राष्ट्र बैंकको भावी गभर्नरको सबै भन्दा प्रवल दावेदार मानिएको छ । उनी अर्थ मन्त्री डा. युवराज खतिवडाले रुचाएका व्यक्ति हुन । उनी अर्थमन्त्री जस्तै पिएचडी समेत गरेका छन् ।

खतिवडा अर्थमन्त्री भएपछि राष्ट्र बैंकको स्वायत्तता उनैले लिएको आरोप लागेको थियो र कायमै छ । केही दिन पहिले अर्थमन्त्री खतिवडाले एक सार्वजनिक कार्यक्रममा राष्ट्रका भावी गभर्नरको बारेमा प्रश्न गर्दा उनको आफ्नै ठट्यौली शैलीमा भावी गभर्नर पिएचडी गरेको व्यक्ति नै हुने बताएका थिए ।

अर्थमन्त्रीले मात्र नभएर खनाललाई गभर्नरको लागि प्रधानमन्त्री ओलीले समेत योग्य मानेको प्रधानमन्त्री निकटस्थहरुले बताउँदै आएका छन् । साथै गभर्नरको दौडमा रहेका सबै आकांक्षीहरु पनि आफ्नो सबैभन्दा कडा प्रतिस्पर्धी खनाललाई नै लिएका छन् ।

अर्थमन्त्रीले भावी गभर्नर बैंकिङ क्षेत्रभन्दा बहिरबाट ल्याउछन् भनेर अड्कलबाजी गर्नेहरुले अर्थतन्त्र बुझेका पुर्व अर्थ सचिव खनालको नै नाम पहिले लिने हुँदा राष्ट्र बैंकले भविश्यमा उनैको नेत्तृव पाउने सम्भावना प्रवाल देखिन्छ ।

चिन्तामणी शिवाकोटी, कामु गभर्नर नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीलाई गभर्नरको लागी सिफारिस गरिने नाममा स्वत सिफारिसमा पर्ने व्यक्ति हुन् । उनी राष्ट्र बैंकका डेपुटी गभर्नर भएपछि नियमन विभाग प्रमुख भएर कार्य सम्पादन गरिरहेका हुनाले उनलाई वित्तीय नियमनको राम्रो ज्ञान पनि छ ।

बैंक तथा वित्तीय क्षेत्रले नै रुचाएको र पछिल्लो समयमा यो क्षेत्रलाई सकारात्मक दिशा तर्फ लैजान उनको महत्वपूर्ण योगदान रहेकाले पनि शिवाकोटी नै राष्ट्र बैंकका भावी गभर्नर हुन्छन् भन्नेहरुको जमात पनि ठूलै छ । उनले पनि गभर्नरको कार्यभार समाल्न पाउँ भनेर राम्रै कसरत गरिरहेका छन् । मन्त्रीपरिषद् बैठकले अर्थमन्त्रीको संयोजकत्वमा गठन गर्ने समितिमा पर्ने नै भएतापनि त्यो समितिले आफुलाई चयन गरोस् भनेर उनी बेला बेलामा प्रधानमन्त्री ओलीको निवास पुगेर भेटघाट गरिरहेका छन् ।

केही समय अगाडि मात्र उनले प्रधानमन्त्री निवास वालुवाटारमा नै आफुद्वारा लिखित पुस्तक विमोचन समेत गरेका थिए । सो कार्यक्रम सम्पन्न भएसँगै राष्ट्रको भावी गभर्नर शिवाकोटी नै हुन्छन् भनेर धेरैले अड्कलबाजी गरेका थिए । साथै प्रधानमन्त्री ओलीको जन्म दिनमा शिवाकोटी शुभकामना दिन उनको पुख्र्यौली घर नै पुगेका थिए ।

उनले अर्थमन्त्री र राष्ट्रपति समक्ष पनि बैंक वित्तीय क्षेत्र विकास, सुदृढिकरणको लागी र सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल राष्ट्र बैंकको गभर्नर भएर सहयोग गर्ने बताउँदै आएका छन् । साथै उनले पुर्व गभर्नर चिरञ्जीवि नेपाल राष्ट्र बैंकबाट बिदा हुनभन्दा अगाडि फोर्स लिभ लिएर भनसुन गर्नु पर्ने सबै ठाँउमा पुगिसकेको राष्ट्र बैंकको स्रोतले जानकारी दिएको छ ।

लालशंकर घिमिरे, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार

राजस्व सचिवबाट अवकास भएपछि लालशंकर घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आर्थिक सल्लाहकार बनाए । निवर्तमान गभर्नर चिरन्जिवी नेपाल गभर्नरमा नियुक्ति पाउनु अगाडि तत्कालिन प्रधानमन्त्री शुसील कोइरालाका आर्थिक सल्लाहकार नै थिए । अर्थमन्त्रालयमा सहसचिवको रुपमा रहदा बैदेशिक सहयोग महाशाखामा बिताएका घिमिरेको दातृ निकायसँग राम्रो सम्बन्ध छ । अहिले प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समेत भएको हुँदा उनलाई गभर्नरको रुपमा अर्का बलियो दावेदारको रुपमा हेरिएको छ ।

महाप्रसाद अधिकारी, प्रमुख कार्यकारी निर्देशक लगानी बोर्ड

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृति (सीईओ) महाप्रसाद अधिकारीलाई पनि राष्ट्र बैंकको भावी गभर्नरको प्रवल दावेदारको रुपमा वित्तीय बजारले लिएको छ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर समेत भइसकेको र ३० वर्षसम्म राष्ट्र बैंकमा योगदान गरेको हुदाँ उनलाई बैंकिङ क्षेत्रको नियमन र अनुसन्धानको राम्रो ज्ञान छ ।

उनी हाल लगानी बोर्डमा आफ्नो कार्यभारी सम्हाली रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण गर्न जानु अगाडि उनले बोर्डको बैठकमा पिएम र अर्थमन्त्री समक्ष आफ्नो क्षमता र कार्यकुशलताको मुल्यांकन गभर्नर पदको लागि पनि होस् भनेर भन्दै भएका छन् । यसका साथै उनी अर्थमन्त्रीले रुचाएका व्यक्ति पनि हुन् । अर्थमन्त्री खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा अधिकारी सबैभन्दा नजिकका व्यक्ति थिए ।

तर राष्ट्र बैंकले गभर्नर हुनको लागि भने उनको योग्यता केही बाधक बन्ने देखिएको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एड्मिनेस्ट्रेसनमा स्नातक गरेका छन् भने सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्सीबाट चार्टर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पूरा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले चार्टर्ड एकाउन्टेन्सीसम्मको अध्ययनलाई स्नातकोत्तर सो सरह मान्यता दिने गरेको भएतापनि केही महिना अगाडि भने अब चार्टर्ड एकाउन्टेन्सीलाई सो सरहको मान्यता नदिने सुचना जारी गरेको थियो । सोही कारणले राष्ट्र बैंक ऐनमा तोकिए अनुसार अधिकारीको गभर्नरको लागि योग्याताको विषयमा विवाद हुनसक्छ । अर्थमन्त्री खतिवडाको गुडबुकमा भने अधिकारी पर्छन् ।

डा. मीनबहादुर श्रेष्ठ, पूर्व उपाध्यक्ष योजना आयोग

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा योजना आयोगका पुर्व उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको गभर्नर मोह उनी कार्यकारी निर्देशक हुदाँ देखीको नै हो । उनी प्रचण्डले रुचाएका व्यक्ति पनि हुन् ।

राष्ट्र बैंकको गभर्नरमा हुनु पर्ने सम्पुर्ण गुण आफुमा छ भनेर पहिलेबाटै दाबी गर्ने र गभर्नर भएपछि बैंक तथा वित्तीय क्षेत्र साथै देशको आर्थिक अवस्थामा सकारात्मक सुधार ल्याउछु भनेर कार्ययोजना सहित श्रेष्ठ गभर्नरको दौडमा सशक्त रुपमा लागेका छन् । उनले पाटी अध्यक्षसँग भनसुन गर्ने देखी अन्य गभर्नर पदका लागी अन्य कसरत पनि गरिरहेका छन् ।

हालसम्म राष्ट्र बैंकका गभर्नर भएर आउनेहरु सबै बैकिङ क्षेत्र भन्दमा बाहिरका अर्थ विद्हरु नै भएका हुदाँ पनि उनीले आफुलाई गभर्नरको दौडमा उभ्याएका हुन् ।

उनले प्रशासन र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् भने उनले कानुन विषयमा स्नातक तह उत्तिर्ण गरेका छन् । साथै अस्ट्रेलियाबाट अर्थशास्त्र पिएचडी र अमेरिकाबाट एमबीए पूरा गरेका हुनाले राष्ट्र बैंकको भावी पिएचडी गरेको गभर्नरको रुपमा उनलाई देख्न सकिने सम्भावना रहेको छ ।

भिष्मराज ढुगांना, अध्यक्ष धितोपत्र बोर्ड

धितोपत्र बोर्डका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुगांना अरु जस्तो राष्ट्र बैंकको प्रवल दावेदार नभएपनि आफूलाई दावेदारका रुपमा रहेका छन् । धितोपत्र बोर्डमा अध्यक्ष भएर आइसकेको भएर उनले गभर्नरको प्रवल दावेदारको रुपमा राखिदैन ।

तर पनि उनी भएसम्म गभर्नर भएर राष्ट्र बैंक फर्किने सोच छन् । अहिले उनलाई धितोपत्र बोर्डमा भन्दा राष्ट्र बैकको गभर्नर पदको मोह बढी छ । उनकोे गभर्नरको लागि तोकिएको योग्यता पनि पुग्छ भने नैतिक रुपमा उनलाई कसैले खोट लगाउने ठाँउ छैन् । गभर्नरको दावेदारमा आएकाहरुकोे स्टाटसभन्दा उनको पनि स्टाटस कम छैन् । त्यसैले सकेसम्म राष्ट्र बैंक नै फर्किने रामै प्रयासमा उनी छन् ।

उच्च स्रोतका अनुसार गभर्नरका आकंक्षीहरु मध्ये धितोपत्र बोर्डका अध्यक्ष ढुगांनाले आफूलाई राष्ट्रपति भण्डारीको विश्वासिलो र निकट रहेको समेत बताउने गरेका छन् । पछिल्लो केही दिनयता उनको राष्ट्रपतिसँगको भेटघाट केही बाक्लै भएको स्रोतले जानकारी दिए ।

डा. सुबोध कुमार कर्ण, पूर्वअध्यक्ष आइक्यान

नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका सुबोधकुमार कर्ण पनि एक हुन् । नेपाल चाटर्ड एकाउन्टेन्स संस्था (आइक्यान) का अध्यक्ष समेत भइसकेको कर्ण आफु राष्ट्र बैंकको प्रवल दावेदारको रहेको जानकारहरु बताउँछन् । उनले प्रधानमन्त्रीलाई भेटेर नै अन्य दावेदारभन्दा आफु वित्तीय क्षेत्रको लागि उत्कृष्ट रहेको पुष्ट्याउँदै आएका छन् । उनी राष्ट्र बैंककाे संचालक समेत हुन् ।

तर कर्णको गभर्नर दौडमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बाधक बनेका छन् । मन्त्री भट्टले सरकारी स्वामित्वको बिराटनगर जुट मिलको लेखापरिक्षण गर्दा सरकारी स्वामित्व घटाएको आरोप लगाउदै कारबाही गर्न माग राखी आइक्यानमा पत्र पठाएका छन् । जस कारण अब उनी राष्ट्र बैंकको गभर्नर दौडबाट स्वत बाहिरिएका छन् ।

यस्तै अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि गभर्नरको रुपमा दावेदार रहेका छन् । सरकारले हटाउनको लागि अनुसन्धान समेत गरेर पछि क्लिनचिट दिएका श्रेष्ठ अहिलेको सरकारले आफुलाई न्याय दिनेमा ढुक्क छन् ।

यसबाहेक गभर्नरको दौडमा राष्ट्र बैंकका अवकास प्राप्त कार्यकारी निर्देशक गोविन्दबहादुर थापा समेत देखिएका छन् । यद्यपी ओली सरकार गठन भएपछि सरकारको क्रियाकलापको बारेमा आलोचनात्मक टिप्पणी गरेको कारण ओली सरकारको गुडलिस्टमा नभएको भन्नेहरु छन् । यसबाहेक कर्मचारी संचय कोषका पूर्व प्रशाशक कृष्ण आचार्य तथा वाणिज्य बैंकका सीइओ किरणकुमार श्रेष्ठ समेत दाबेदार रहेको चर्चा वित्तीय क्षेत्रमा छ ।

गभर्नरमा कसलाई नियुक्त गर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हो । अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने समिति औपचारिकता पुरा गर्नको लागि मात्र हो । यसअघि डा नेपाल गभर्नर बन्दा तत्कालिन अर्थमन्त्री डा रामशरण महतको रोजाई थिएनन् । प्रधानमन्त्रीको रोजाइमा उनी गभर्नर बनेका हुन् ।

प्रधानमन्त्रीसँग दावेदारहरुले भेट गरेपनि कसैलाई बचन दिएका छैनन् । मिर्गौला प्रत्यारोपणपछि भने दावेदार भनिएकाहरुसँग पनि प्रधानमन्त्रीको भेट नभएको उनको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु