यी हुन् नेपालका महंगा १८ विद्यालय, जसले भर्ना शुल्कमै लाखौं लिन्छन्



काठमाडौं । हरेक नयाँ वर्षसँगै विद्यालयमा नयाँ शैक्षिक सत्र पनि शुरु हुन्छ । वर्षको उत्तरार्ध चैत महिनामा नयाँ कक्षामा भर्नाका लागि अभिभावकहरु राम्रा विद्यालयको खोजीमा हिँड्छन् ।

विद्यालयहरु पनि यही समयमा विद्यार्थीहरुलाई विभिन्न आकर्षकका प्याकेज पस्किरहेका हुन्छन् । यस्तोमा कुन स्कुल कस्तो भन्ने थाहा पाउन गाह्रो हुन्छ ।

अभिभावकले राम्रा विद्यालय छनोट गर्ने चाहनामा आफ्नो बजेट पनि हेर्नुपर्ने हुन्छ । सबै अभिभावकको एउटै आर्थिक हैसियत हुन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा राम्रा भनिने स्कुलमा आर्थिक अवस्था कमजोर भएकै कारणले अभिभावक र विद्यार्थी निराश हुनुपर्ने अवस्था छ ।

त्यसैले यस लेखमा हामीले नेपालमा सञ्चालित केही महंगा भनिने विद्यालयका बारेमा जानकारी पस्कँदैछौं । यस लेखमा प्रस्तुत तथ्यांकहरु विद्यालयबाट प्राप्त तथ्यांक, विद्यार्थी तथा अभिभावकसँगको कुराकानीका आधारमा तयार पारिएको हो ।

यस लेखमा विदेशी नियोगबाट सञ्चालित विद्यालयसँगै नेपाली लगानीकर्ताद्वारा सञ्चालित विद्यालय समेत छन् ।

१) लिंकन स्कुल

लिंकन स्कुल सन् १९५४ मा स्थापना भएको हो । काउन्सिल अफ इन्टरनेशनल स्कुल्स एन्ड न्यू इंग्ल्यान्ड एसोसिएसन अफ स्कुल्सको सम्बन्धमा सञ्चालित यो विद्यालय अमेरिकन पाठ्यक्रममा आधारित छ ।

काठमाडौंको रवी भवनमा रहेको यस स्कुल मुलुककै सबैभन्दा महंगो विद्यालयमा पर्छ । स्कुल खासगरी विदेशी कुटनीतिक नियोग अधिकारीका सन्तान अध्ययन गर्छन्

विद्यालयमा कम्प्युटर, म्यूजिक, आर्ट तथा शारीरिक विकासका साथै फ्रेन्च, स्पेनिस भाषा पनि पढाइन्छ । यहाँको शुल्क अप्लाइन गर्नमा मात्रै प्रिस्कुलमा १ सय डलर, कक्षा १ देखि १२ सम्म ४ सय ५० डलर यदी नयाँ विद्यार्थी भएमा कक्षा १ देखि १२ सम्ममा ७ हजार डलर तोकिएको छ ।

साथै वार्षिक शुल्क कक्षा १ देखि १२ सम्म ९ सय डलर, यातायात खर्च १ हजार १ सय डलर, तथा सिनियर शुल्क १ सय २० डलर निर्धारण गरिएको छ । त्यस्तै मासिक शुल्क वार्षिक रुपमा प्रि–स्कुलको ६ हजार ४ सय डलर, इलिमेन्ट्री स्कुलको १८ हजार १ सय २० डलर, निम्न माध्यमिक तहको १९ हजार ९ सय ९५ डलर साथै माध्यमिक तहको शुल्क २२ हजार २० डलर तोकिएको छ ।

२) द ब्रिटिस स्कुल

द ब्रिटिस स्कुल ललितपुरको सानेपामा अवस्थित छ । विद्यालय सञ्चालनको सम्पूर्ण स्रोत बालबालिकाको शुल्कमा आधारित छ । यहाँ बेलायती शिक्षा पद्धतिको अध्यापन हुन्छ । यहाँ मुख्य गरी ब्रिटिस तथा कमनवहेल्थ नागरिक सन्तानलाई लक्षित गरिएको छ ।

स्कुलले नेपालमा काम गरिरहेका ब्रिटिस नागरिकका सन्तानलाई पहिलो प्राथमिकतामा राखेको छ भने दोस्रो प्राथमिकतामा विद्यालयमा अध्ययनरत बालबालिकाका दाजुभाइ तथा दिदीबहिनी छन् । त्यस्तै, तेस्रो प्राथमिकतामा कमनव्हेल्थ नागरिक जो नेपालमा काम गरिरहेका त्यसपछि मात्रै नेपाल विद्यार्थीहरुले शिक्षामन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएमा मात्रै अध्ययन गर्न पाउँछन् ।

यस विद्यालयको शुल्कमा रजिष्ट्रेसनका लागि १ सय ५० पाउन्ड लाग्छ । त्यस्तै, क्यापिटल डेम्लोप्मेन्टमा कक्षा २ सम्म ३ हजार पाउन्ड कक्षा ३ र ४ मा ३ हजार ५ सय पाउन्ड, र जीसीई ए लेभल कक्षा ५ देखि १२ सम्म २ हजार पाउन्ड खर्च लाग्छ ।

त्यस्तै, रिफन्डेबल डिपोजिट रुवरुप कक्षा २ सम्म १ हजार ५ सय पाउन्ड, ३ र ४ र कक्षा ५ देखि १२ सम्ममा २ हजार १ सय ५० पाउन्ड खर्च लाग्छ । त्यस्तै, वार्षिक शुल्क भने नर्सरीमा १ हजार ८ सय पाउन्ड, कक्षा १ र २ मा ६ हजार १ सय २० पाउन्ड, कक्षा ३ र ४ मा ७ हजा ७ सय २० पाउन्ड, र कक्षा ५ भन्दा माथि कक्षा १२ सम्म ८ हजार ५ सय २० पाउन्ड खर्च लाग्छ ।

३) इन्टरशेनल फ्रेञ्ज स्कुल अफ काठमाडौं

फ्रान्सका नागरिक तथा नेपाली विद्यार्थी अध्यापन गराउने उद्देश्यले स्थापना गरिएको यो स्कुल महंगो स्कुलमा पर्छ । जसमा शुरुमा एप्लिकेशन शुल्क ४ हजार ७९० रुपैयाँ छ । त्यस्तै, डिपोजिटका रुपमा ५९ हजार ८८० रुपैयाँ बुझाउनुपर्छ । त्यसपछि यदि किन्टरगार्टेन स्कुलमा पढाउने हो भने पहिलो र दोस्रो दुबै वर्षको भर्नाका लागि लागि ५९ हजार ८८० रुपैयाँ तोकिएको छ भने इलिमेन्ट्री तहमा १ लाख १९ हजार ७६० रुपैयाँ छ ।

मासिक शुल्कमा किन्टरगार्टेन पहिलो वर्षमा ४ लाख ५५ हजार ९०, र दोस्रो वर्षको ट्युसन शुल्क ५ लाख ६२ हजार ८७५ रुपैयाँ तोकिएको छ । त्यस्तै, इलिमेन्ट्रि तहको कक्षाको ट्युसन शुल्क ६ लाख ९४ हजार ६१० रुपैयाँ तोएिको छ ।

गाडी भाडाबापत रिङ रोडभित्रको ६ हजार ७५० र रिङरोड बाहिर ७ हजार ५०० छ भने खाजाका रुपमा प्रत्येक दिन ४४५ रुपैयाँ छ । यदि घरबाटै खाजा लैजाने हो भने ४५ रुपैयाँ मात्रै बुझाए पुग्छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रत्येक पटक २५ सयदेखि ४ हजारसम्म विभिन्न शीर्षकमा शुल्क निर्धारण गरिएको छ ।

४) काठमाडौं इन्टरनेशनल स्टडी सेन्टर

काठमाडौं इन्टरनेशनल स्टडी सेन्टर काठमाडौंको धोविघाटमा अवस्थित छ । स्कुलले विद्यार्थीलाई मिसन र नन–मिसन गरी दुई भागमा वर्गिकरण गरेको छ । यो क्रिश्चियन स्कुल हो । सन् १९८७ मा स्थापित यो स्कुल ह्युमन डेभ्लोम्पमेन्ट कम्प्युनिटी सर्भिसेस तथा नेपाल क्रिश्चियन एनजीओद्वारा सञ्चालित छ ।

सन् २००७ अगाडि यो युनाइडेट मिसन नेपाल र आईएनएफद्वारा सञ्चालित थियो । स्कुलले क्यापिटल लेभी अन्तर्गत मिसन र नन-मिसन दुबै विद्यार्थीलाई १ हजार ५ सय डलर लिन्छ ।

साथै डिपोजिट अन्तर्गत २५ हजार डलर खर्च लाग्छ भने मासिक खर्च अन्तर्गत वार्षिक रुपमा प्राथमिक तहमा मिसन विद्यार्थीलाई ४ हजार ६ सय २० र नन-मिसन विद्यार्थीहरुलाई ५ हजार ९ सय ४० र माध्यमिक तहमा मिसन विद्यार्थीलाई ६ हजार ३ सय ४० र नन-मिसन विद्यार्थीलाई ९ हजार २० डलर खर्च लिँदै आएको छ ।

५) युलेन्स स्कुल

नेपालमा नेपाली लगानीकर्ताद्वारा सञ्चालित यो सम्भवतः यो सबैभन्दा महंगो स्कुल हो । ललितपुरको खुमलटारमा रहेको यो स्कुलको पाठ्यक्रम र सिद्दान्त बैंक स्ट्रिटस डेभ्लपमेन्ट इन्टरयाक्टिभ अप्रोच एन्ड डेभ्लोपिङ क्यापेवल पर्सनमा आधारित छ ।

यहाँका कर्मचारीले अमेरिकाको न्यू योर्कमा रहेको बैंक स्ट्रिट स्कुल अफ एजुकेशनबाट तालिमप्राप्त छन् । भने बाँकी कर्मचारी विश्वका हरेक क्षेत्रबाट छन् । स्कुल नेपालमा पहिलो आईबी स्कुल हो । यो आधिकारिक रुपमा स्विजरल्यान्डस्थित इन्टरनेशनल ब्याक्कालउरेट अर्गनाजेसन आईबी डिप्लोमा कार्यक्रममा आधारित छ ।

यहाँ भर्नाका लागि कक्षा १ मा १ सयभन्दा बढीको सिट छ भने माथिल्लो तहमा वेटिङ लिस्टका आधारमा हुन्छ । कक्षा १ सय प्रत्येक शैक्षिक सत्रमा ६० वटा सिट हुन्छ भने अन्य तहमा सिट उपलब्ध भएमा मात्रै भर्ना गर्न पाइन्छ ।

यहाँ कक्षा १ सय १० सम्म ३ सय ६० विद्यार्थीको क्षमता छ । स्कुलले भर्ना शुल्कमा ४० हजार, वार्षिक शुल्क ४० हजार, सुरक्षा डिपोजिट ४० हजार, मासिक शुल्क ४० हजार ५०, वार्षिक शुल्क आपतकालीन खाद्यन्नका लागि २ हजार ५ सय तथा करका रुपमा ३ सय ५० खर्च लाग्छ ।

६) मल्पी इन्टरनेशन स्कुल

पनौतीमा अवस्थित यो आवासीय विद्यालय हो । सन् १९९९ जुनमा स्थापना भएको यो विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात १ः१२ छ । विद्यार्थीको चौतर्फी विकासका लागि प्रोग्रेसिभ एन्ड लिबरल शिक्षण पद्धति अपनाइएको छ । विद्यालय मैत्री शिक्षा र वातावरणका भएको यस स्कुलमा कक्षा ४ देखि १० सम्म जम्मा २ सय ६५ विद्यार्थी अध्यापन गर्छन ।

स्कुलले कक्षा ४ मा १ सय विद्यार्थी लिन्छ भने सबै तहमा गरी जम्मा २ सय विद्यार्थी अध्ययन गर्छन् । अन्य कक्षाका लागि भने वेटिङ लिस्टका आधारमा भर्ना गरिन्छ । स्कुलले मासिक २५ हजारभन्दा बढी शुल्क लिन्छ ।

७) राजश्री गुरुकुल स्कुल

भक्तपुरको सल्लाघारीमा रहेको यो स्कुल २० रोपनी जग्गामा स्थापना भएको विद्यालय हो । नेपाली मौलिक शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापित स्कुल हो । स्कुलले बालबालिकालाई स्थानीय रुपमा मात्रै नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान गराउने उद्देश्यले सोही किसिमको पाठ्यक्रम विकास गरेको छ ।

यो स्कुलमा एउटा शैक्षिक सत्रमा कक्षा १ मा ३० जनाले भर्ना गर्न पाउँछन । भने प्रत्येक शैक्षिक सत्रमा २६ सिट उपलब्ध छ भने प्रत्येक शैक्षिक सत्रमा भर्ना लिइन्छ । प्रत्येक कक्षाको क्षमता जम्मा २६ जना मात्रै हो भने कुल क्षमता कक्षा १ देखि ६ सम्म जम्मा १ सय ५६ हो । स्कुलले मासिक २५ हजारभन्दा बढी शुल्क लिन्छ ।

८) रातो बंगाला

रातो बंगाला स्कुल सन १९९२ मा नेपालमा स्थापना भएको हो । यो स्कुलका साथै शिक्षक तालिम संस्था पनि हो । विद्यार्थीलाई नविनत जानकारीसँगै अध्यापन गराइन्छ । यस स्कुलमा कक्षा १ मा ३ सय विद्यार्थीले आवेदन दिन पाउँछन् । त्यस्तै, कक्षा १ मा ६० जनाले एक पटक भर्ना गर्न पाउँछन भने ए लेभल तहमा समेत ६० जनाले भर्ना हुन पाउँछन् ।

कक्षा १ देखि १० सम्म ६ सय विद्यार्थी क्षमता हो । स्कुलमा भर्ना शुल्क प्राथमिक तहमा ७५ हजार, माध्यमिक तहमा ६० हजार तथा सुरक्षाका लागि प्राथमिक तहमा ३५ हजार रुपैयाँसम्म खर्च लाग्छ । साथै मासिक खर्च अन्तर्गत कक्षा १ मा २२ हजार, र माध्यमिक तहमा खानाबाहेक १८ हजार रुपैयाँ खर्च लाग्छ ।

९) रुपिज इन्टरनेशनल स्कुल

यो अंग्रेजी माध्यमबाट अध्यापन हुने स्कुल हो । सन् १९८२ मा स्थापित यो स्कुल अन्तर्राष्ट्रिय तथा स्वदेशी विद्याथीलाई लक्षित गर्दै स्थापना भएको विद्यालय हो । भारतीय बोर्ड सीबीएसई तथा कक्षा ए लेभल क्याम्ब्रिज विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ ।

विद्यालयमा नेपालीसँगै भारतीय, इटालियन तथा कन्टिनेन्टल खाना खुवाइन्छ । स्कुलमा प्रत्येक शैक्षिक सत्रमा कक्षा १ मा २० सिट क्षमता छ । त्यस्तै, कक्षा १ देखि १० सम्ममा २ सय १० सिट क्षमता छ ।

यो स्कुलमा भर्ना शुल्कवापत कक्षा १ मा ७१ हजार ७ सय माध्यमिक तहमा ७५ हजार शुल्क लाग्छ । त्यस्तै, वार्षिक शुल्क स्वरुप कक्षा १ मा ३४ हजार लाग्छ । त्यस्तै मासिक शुल्कमा कक्षा १ मा एकपटकको खाना र यातायातसँगै २२ हजार रुपैयाँ, र माध्यमिक तहमा यातायात सहित १८ हजार रुपैयाँ खर्च लाग्छ ।

१०) प्रिमियर इन्टरनेशन स्कुल

प्रिमियर इन्टरनेशन स्कुल तलितपुरको सातदोबाटो अवस्थित छ । यो स्कुलले २०६५ सालदेखि कक्षा १ शुरुवात गरेको हो । स्कुलमा आईबी कार्यक्रम अन्तर्गत अध्यापन हुन्छ । स्कुलमा मन्टेश्री शिक्षा पद्धति समेत अपनाइएको छ ।

भौतिक संरचनाले युक्त तथा उत्कृष्ट ल्याव तथा उच्चतम प्रविधिको प्रयोग गर्दै शिक्षण सिकाइमा प्रभावकारिता ल्याएको छ । स्कुलमा कक्षा १ मा ११० जना विद्यार्थीले आवेदन गर्न पाउँछन् । त्यस्तै, एउटा शैक्षिक सत्रमा कक्षा १ मा एक पटक भर्नाका लागि प्रवेश परीक्षाका माध्यबाट जम्मा ६० जना लिइन्छ भने अन्य कक्षाको हकमा सिट उपलब्ध भएमा मात्रै भर्ना लिइन्छ । कक्षा १ देखि ७ सम्म ३ सय ६० विद्यार्थी क्षमता छ । स्कुलले मासिक शुल्क ३९ हजारदेखि ४९ हजार लिन्छ ।

११) चाँदबाग स्कुल

सन् १९९६ स्थापना भएको यो स्कुल चौधरी एजुकेशन फाउन्डेसनद्वारा सञ्चालित यस स्कुल काठमाडौंको बाँसबारीमा अवस्थित छ । ५० हजार स्वायर फिटमा अवस्थित स्कुल बालमैत्री वातावरणमा सञ्चालित छ ।

शुरुमा प्राइमरी स्कुलहुँदै माध्यमिक तहसम्म अध्यापन शुरु गरेको स्कुलमा कक्षा ८ देखि १० सम्म नेपाल एसएलसी बोर्ड अफ नेपाल र सीबीएसई भारतबाट मान्यता प्राप्त छ । यहाँ कक्षा १ मा शैक्षिक सत्रमा कक्षा १ मा ५१ जनाको सिट उपलब्ध छ । त्यस्तै, १ कक्षादेखि १० कक्षासम्म ५ सय ५० विद्यार्थीको क्षमता छ । स्कुलमा मासिक शुल्कवापत १२ हजार रुपैयाँ लिन्छ ।

१२) शुभतारा

शुभतारा स्कुल सन् १९८९ मा स्थापना भएको हो । ललितपुरमा अवस्थित यो स्कुल कक्षा १ मा ४४ सिट क्षमता छ भने कक्षा १ मा करिब १ सय जना विद्यार्थीले आवेदन दिन्छन् । स्कुलले मासिक शुल्कवापत १२ हजार रुपैयाँ शुल्क लिन्छ । स्कुलमा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

१३) ज्ञानोदय इन्टरनेशनल रेसिडन्टल स्कुल

ज्ञानोदय इन्टरनेशनल स्कुल बुङमति, खोकनामा अवस्थित छ । सन् १९९९ मा स्थापना भएको यो स्कुल काठमाडौंदेखि १२ किमि दुरीमा पर्छ । विद्यालयको एक सय रोपनीमा फैलिएका साथै एसएलसीबोर्ड तथा शिक्षामन्त्रालयद्वारा मान्यता प्राप्त छ ।

यहाँ कक्षा १ मा १ सय जनाभन्दा बढीले आवेदन दिन्छन भने जम्मा २२ जनाको सिट क्षमता छ । साथै कक्षा १ देखि ९ सम्ममा ३ सय ५० विद्यार्थी क्षमता छ भने अहिले करिब २५० जना विद्यार्थी अध्यापन गरिरहेका छन् । स्कुलले मासिक शुल्क बमोजिम २२ हजार रुपैयाँ खर्च लिन्छ ।

१४) मिल्स बेरी

लाजिम्पाटमा रहेको यो स्कुल पनि महंगो स्कुलमा पर्छ । कक्षा १ मा भर्ना गर्नका लागि कम्तीमा ५० हजार रुपैयाँ लाग्छ । स्कुलमा विभिन्न सेवा सुविधा उपलब्ध गराइएको छ । कक्षा १ मा वर्ष भरीमा विभिन्न शीर्षकमा २ लाख रुपैयाँ खर्च हुन्छ । भने यस विद्यालयमा मासिक शुल्क वापत १८ हजार रुपैयाँ लिइन्छ ।

१५) पाठशाला

नयाँबानेश्वरको थापागाउँ र ललितपुरको बागडोलमा स ञ्चालित यस विद्यालय पनि महंगो शुल्क लिने विद्यालयमा पर्छ । विद्यालयले कक्षा १ का लागि मासिक १८ हजार रुपैयाँ तोकेको छ । भने खाजा खर्च, यातायात गरी ३५ सय रुपैयाँ र भर्ना वापत ६० हजार रुपैयाँ लिन्छ ।

१६) जेम्स स्कुल

यो विद्यालय पनि महंगो विद्यालय अन्तर्गत पर्छ । प्याब्सनका पूर्वअध्यक्ष सञ्चालक रहेको यस विद्यालयमा तुलनात्मक रुपमा महंगो शुल्क लिइन्छ । क वर्गमा पर्न सफल यस विद्यालयले मासिक शुल्क वापत १२ हजार रुपैयाँ लिन्छ ।

१७) लिटिल एन्जल्स

संविधान सभा सभासद तथा शिक्षाविद् उमेश श्रेष्ठ र उनको समूहले सञ्चालित यस विद्यालय राम्रो विद्यालय अन्तर्गत मानिन्छ । ललितपुरको लिटिल एन्जल्स स्कुलले पनि मासिक शुल्क १० हजार रुपैयाँ लिन्छ ।

१८) यूरो किड्स

यूरो किड्स विभिन्न स्थानमा सञ्चालित छ । जसमा विद्यार्थीसँग मासिक शुल्कवापत २१ हजार रुपैयाँ लिँदै आएको छ । यो पनि चर्को शुल्क असुल्ने विद्यालयको वर्गमा पर्छ ।


पुष्प दुलाल