उपभोग्य वस्तु अनावश्यक माैज्दात नराख्न सरकारको अपिल
काठमाडाैं । सरकारले उपभोग्य वस्तुको मौज्दात नराख्न सर्वसाधारणलाई अपिल गरेको छ । बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै वाणिज्य आपूर्ति तथा अनुगमन शाखाका निर्देशक सागर विश्वले बजारमा उपभोग्य वस्तुहरुको अभाव हुन सक्ने भएकाले अनावश्क मात्रामा उपभोग्य वस्तु खरिद नगर्न आग्रह गरेका छन् ।
‘एक हप्ताको अवधिमा मास्क, स्यानेटाइजर, ग्यासलगायत उपभोग्य वस्तुहरुको बारेमा धेरै गुनासो आइरेहेको छ । त्यसका लागि सरकारले अनुगमन गरिरहेको छ र कालोबजारी गर्न व्यापारीलाई दिनमा ६ देखि ८ लाख सम्म जरिवाना भइरहेको छ,’ उनले भने ।
नेपालमा ४ वटा फ्याक्ट्रीले मास्क उत्पादन गर्दै आएको भएपनि अहिले बजारको माग अनुसार उत्पादन गर्न नसकेको बताएको छन् ।
त्यस्तै विभागसँग १० महिनालाई पुग्ने साल्टट्रेडिङ नुन स्टक राखिएको हुदाँ बजारमा साल्टट्रेडिङ नुनको माग धान्नका लागि समस्या नहुने भएकाले आवश्यकता भन्दा बढी नुन मौज्दत नराख्न समेत विभागका निर्देशक विश्वले आग्रह गरेका छन् ।
त्यस्तै औषधि विभागका महानिर्देशक नारायण ढकालका अनुसार नेपालमा अहिलेको अवस्थामा मास्कको आवश्यकता नभएको दावी गरेका छन । साथै मास्कको उचित ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
अहिले बजारमा अनावश्यक रुपमा औषधि भण्डारण भइरहेका कारण सम्वन्धीत बिरामीले औषधि नपाउने अवस्था सिर्जना भएको हुदाँ आवश्यक भन्दा औषधि उपभोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । बढी मूल्यमा कसैले औषधि विक्री गरेको थाहा पाएमा सरकारले कारबाही गर्न प्रतिबद्धता ब्यक्त गरेका छन् ।
खाद्य तथा गुण नियन्त्रण विभागका प्रतिनिधि मतिना जोशीले अनावश्यक कुरामा विश्वास नगर्न र काचो खानेकुरा नखान समेत आग्रह गरेकी छिन् ।
त्यस्तै कार्यक्रम आयोजक सस्था अर्थात उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपअध्यक्षले ब्यापारीले बजारमा गुणस्तहिन सामान भित्र्याएको र नियमक निकायले जिम्मेवारी पूर्वक अनुगमन गर्नुपर्नेमा सरकारको ध्यानकर्षण गराएका छन् ।
अहिले हरेक सामानमा मूल्यवृद्धी हुँदा पनि सरकारको ध्यान जान नसकेको बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले नागरिक आफैँमा पनि जिम्मेवारी नभएको बताएका छन् ।
उपभोक्ता आफैँ पनि जति भन्यो त्यति मूल्य तिरेर सामान किन्ने गरेको र आवश्यकता भन्दा बढी सामान खरिद गर्ने गरेको हुदाँ उपभोक्ता घरमा पनि अनुगमन गर्नुपर्ने सरकारलाई आग्रह गरेको छन् ।
७० प्रकारका औषधिमध्ये ६८ प्रकारका अत्यवाश्यक औषधि नेपालमै उत्पादन हुने भएकाले नेपालमा औषधिको अभाव नरहेको उनले बताए ।
दैनिक उपभोग्य वस्तु कसले कति किनेको हो त्यसको डाटा सङकलनको लागि सरकारले सफ्टवोएर राख्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको बेला त्यसले नेपालीहरुको दैनिक जिवनमा समेत फरक पार्न थालेको छ । पछिल्लो समय मानिसहरु कोरोना भाइरसको त्रासका कारण घरमा दैनिक आवश्यकतामा पर्ने खाद्य तथा अन्य सामग्रीहरु थुपार्न थालेका छन् ।