एभरेष्ट बैंकले ठगी गरेको देशभरका ऋणीको गुनासो



काठमाडौं । भारतीय पञ्जाब नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकले देशैभरका ऋणीलाई ठगी गरेको पाइएको छ ।

आधारदर (बेसरेट) घटेको नाममा कर्जाको ब्याजदर घटाउने भन्दै एभरेष्ट बैंकले ऋणीलाई ठगी गरेको हो ।

ब्याजदर घटाएको भन्दै बैंकले ऋणीसँग साँवाको १ प्रतिशत बुझाउन आउनू भन्दै ग्राहकलाई बोलाएको थियो । कतिपय ग्राहकले बैंकमा गएर १ प्रतिशत अतिरिक्त शूल्क तिरिसकेको जनाएका छन् ।

बैंकले सावाँको १ प्रतिशत भुक्तानी नगरे घटेको ब्याजदर लागू नहुने भनेपछि ऋणीहरु अतिरिक्त शूल्क तिर्न बाध्य भएका हुन् ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले यसरी ग्राहकसँग अतिरिक्त शूल्क लिन मिल्दैन । यदि कुनै बैंकले लिएको छ भने त्यो सरासर बदमासी हो ।

बैंकले ऋणीलाई ठगी गरेको विषयमा यही फागुन २३ गते क्लिकमाण्डूले समाचार प्रकाशित गरेको थियो । उक्त समाचार हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

ग्राहकसँग यस्तो प्रकारको अतिरिक्त शूल्क लिने बैंकबाट राष्ट्र बैंकले ग्राहकसँग लिएको शूल्क फिर्ता गराइरहेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

एभरेष्ट बैंकको बदमासीः यसरी ठग्दैछ ऋणीलाई, डेपुटी गभर्नर भन्छन्,- कारबाही हुन्छ

‘बैंकहरुले अतिरिक्त शूल्क लिएका छन् भने राष्ट्र बैंकको गुनासो सुनुवाइ शाखामा उजुरी गर्नुहास्, हामी तत्कालै एक्सन लिन्छौं,’ शिवाकोटीले क्लिकमाण्डूसँग भने ।

तर राष्ट्र बैंकमा गुनासो वा उजुरी नपरेको अवस्थामा भने आफूहरुले केही पनि गर्न नसक्ने उनको भनाइ थियो ।

एभरेष्ट बैंकले ठगी गरेको विषयमा राष्ट्र बैंकमा आधा दर्जन जति मौखिक गुनासो तथा उजुरीहरु परेका छन् । अरु बैंकका बारेमा पनि यस्तै प्रकारका गुनासोहरु आइरहेको राष्ट्र बैंकले जनाएको छ ।

गत माघबाट लागू हुने गरी एभरेष्ट बैंकले बेसरेट घटाएको छ । पुस मसान्तसम्म ८.४६ प्रतिशत बेसरेट कायम गरेर कर्जा प्रवाह गरिरहेको बैंकले माघबाट लागू हुने गरी बेसरेट ०.०९ प्रतिशतले घटाएर ८.३७ कायम गरेको छ ।

बैंकहरुले बेसरेटलाई आधार बनाएर कर्जाको प्रकार अनुसार त्यसमा कही प्रतिशत थप गरी कर्जा लगानी गर्छन् । बैंकहरुले मासिक वा त्रैमासिक रुपमा बेसरेट परिवर्तन गरिरहेका हुन्छन् । बेसरेट परिवर्तनसँगै कर्जाको ब्याजदरमा परिवर्तन आउँछ ।

एभरेष्ट बैंकले माघमा घटाएर परिवर्तन गरेको बेसरेट अनुसार कर्जाको ब्याजदर घटाउन पुराना कर्जाको ग्राहकलाई अतिरिक्त शूल्क असूली गरिरहेको छ ।

बैंकका काठमाडौं उपत्यका बाहिर ७० वटा र उपत्यकाभित्र २५ वटा शाखा कार्यलयहरु छन् ।

ती शाखा कार्यलयबाट विभिन्न शीर्षकमा कर्जा लिएका ग्राहकलाई ‘ब्याजदर घट्दैछ, यदी घटेको ब्याजदर कर्जामा लागू गर्ने हो भने साँवाको १ प्रतिशत बैंकमा बुझाउनु पर्छ’ भन्ने गरेको ऋणीहरु बताउँछन् ।

क्लिकमाण्डूले एभरेष्ट बैंकले ठगी गरेको समाचार प्रकाशित गरेपछि देशैभरबाट आफू पनि ठगिएको दाबी गरेका छन् ।

एभरेष्ट बैंकबाट कहाँ-कहाँ ठगिए ?

क्लिकमाण्डूसँग बैंकबाट ऋण लिएका ३० जनाभन्दा बढी ग्राहकले बैंकहरुले ब्याजदर घटाउने नाममा कमिसन मागेर हैरान बनाएको बताएका छन् ।

एभरेष्ट बैंकको काठमाडौं उपत्यकाका चावहिल, गोल्फुटार, बालाजु, नयाँ बानेश्बर, कीर्तिपुर, भक्तपूर, बनेपा, जोरपाटीलगायतका शाखा कार्यालयका कर्जाका ग्राहकलाई बैंकले साँवाको १ प्रतिशत अतिरिक्त शुल्क माग गरेको र केहीले शूल्क बुझाइसकेको बताएका छन् ।

त्यसैगरी  बैंकको उपत्यका बाहिरका शाखा कार्यलयहरु इलाम, झापा, सुनसरी, बिराटनगर, बाग्लुङ्ग, पर्वत, धनगढी, दाङ्ग, कास्की, चितवनलगायतका शाखा कार्यालयबाट घटेको ब्याजदर कर्जामा लागू गर्ने भए १ प्रतिशत शुल्क तिर्न भनेको र केही ऋणीले तिरिसकेको बताएका छन् । केही ऋणीले भने यस्तो शुल्क नतिरेको बताएका छन् ।

समाचार प्रभावः बैंकले अतिरिक्त शुल्कको सर्त फिर्ता लियो

बैंकले घटेको ब्याजदर कर्जामा लागू गर्न एक जना ऋणीलाई यसैगरी अतिरिक्त शुल्क माग गरेको समाचार क्लिकमाण्डूमा प्रकाशित भएपछि बैंकले सो ऋणीलाई अतिरिक्त शुल्क नै नलिएर कर्जाको ब्याज १.७६ प्रतिशतले घटाएको छ । ती ऋणीले ५ वर्ष अगाडि एभरेट बैंकको काठमाडौं जिल्ला गोल्फुटार शाखाबाट २० लाख रुपैयाँ घर कर्जा लिएका थिए ।

सो समयमा बैंकले १ प्रतिशत सेवा शुल्क सहित ९.२५ प्रतिशत वार्षिक ब्याजदर कायम गरेर कर्जा ऋणीलाई दिएको थियो ।

बैंकले ती ऋणीलाई कर्जा स्वीकृत गर्दा ब्याजदर घटबढ हुँदा कर्जाको ब्याज घटाउन साँवाको १ प्रतिशत शुल्क बैंकमा बुझाउनु पर्ने ‘स्पेसियल ट्रम्स एण्ड कन्डिसन’ नामक कागज गरेको थियो ।

तर सो कागजमा बैंकले ऋणीको हस्ताक्षर लिएको थिएर र ऋणीलाई सोको जानकारी समेत नगराएको ती ऋणीको दाबी छ । बैंकले कर्जा दिएको ५ वर्षमा ४ पटक ब्याजदर बढाएर ९.२५ प्रतिशतबाट १३.६८ प्रतिशत पुर्याएको थियो । यो अवधिमा बैंकले ऋणीलाई कर्जाको ब्याज बढेको जानकारी समेत गराएको थिएन ।

तर कर्जाको ब्याजदर घटाउने हो भने साँवाको १ प्रतिशत अतिरिक्त शूल्क तिर्नु आउनुस् भन्दै फोन गरेर बैंकको शाखामा बोलायो ।

बैंकले माग गरेको शुल्क ऋणीलाई अस्वाभिक लागेपछि ऋणीले बैंकका सम्वन्धित व्यक्ति र मिडियामा यो विषयमा कुरा गरेपछि बैंकले अतिरिक्त शूल्क लिने शर्त फिर्ता लिँदै कर्जाको ब्याजदर १.७६ ले प्रतिशत घटाएर ११.९२ प्रतिशत कायम गरेको जानकारी दिएको छ ।

गत शुक्रबार बैंकका कर्मचारीले ऋणीलाई फोन गरेर कुनैपनि शूल्क नलिने र ब्याजदर पनि २.६८ प्रतिशतले घटाएर ११ प्रतिशत कायम गरिएको जानकारी दिए पनि  मंगलबार भने फेरि फोन गरेर १.७६ प्रतिशतले मात्रै घटाएर ११.९२ प्रतिशत कायम भएको जानकारी गराएको दाबी गरेका छन् । ती ऋणीले पहिले ११ प्रतिशत  कायम भएकोमा किन अहिले फेरि परिवर्तन भयो भनेर सोध्दा यस विषयमा कुरा गर्न बैंकमै बोलाएका छन् ।

के हो स्पेसल ट्रम्स एण्ड कन्डिसन ?

बजारको माग अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउने बढाउने गर्छन् । कर्जा तथा निक्षेपको ब्याजदर सार्वजनिक गर्दै नयाँ बेसरेट कायम गरी बैंकहरुले कर्जाको ब्याजदरमा हेरफेर गर्ने हुन् ।

बेसरेट बढ्दा बैंकले पुराना कर्जाको ग्राहकसँग सोही अनुसारको ब्याजदर बढाउन ब्याज आम्दानी बढ्ने हुँदा केही समस्या हुदैन । बेसरेट घट्दा भने कर्जाको ब्याजदर घटाउँदा ब्याज आम्दानी घट्ने हुँदा आम्दानी नटाउन बैंकहरुले त्यसको विकल्पमा ‘स्पेसल ट्रम्स एण्ड कन्डिसन’ नामक कागजपत्र तयार गर्ने गर्छन् ।

जुन कागजपत्रको आडमा बैंकले ऋणीलाई कर्जा स्वीकृत गर्दा ब्याजदर घटबढ हुँदा कर्जाको ब्याज घटाउन साँवाको केही प्रतिशत शुल्क बैंकमा बुझाउनुपर्ने शर्त राखेको हुन्छ । केही बैंकहरुले ‘स्पेसल ट्रम्स एण्ड कन्डिसन’ कागज सञ्चालक समितिले पारित गरेर कर्जाको ग्राहकमा लागू गर्ने एक बैंकरले बताए ।

‘यस्तो प्रकारको कागज बैंकले राष्ट्र बैंकमा बुझाउनु पर्दैन,’ ती बैंकरले क्लिमाण्डूसँग भने ‘कर्जाको ग्राहक सबैलाई बैंकले यस्ता प्रकारको शर्तहरुको बारेमा स्पष्टसँग बताउँदैन् ।’

कर्जाको आवश्यक पर्ने हुँदा ऋणीले पनि यस्ता प्रकारका शर्तहरुको बारेमा खासै चासो राख्दैनन् भने बैंकहरुले पनि ग्राहकलाई यस्तो शर्तहरुको जानकारी सो समयमा नगराउने उनको भनाइ छ ।

‘केही बैंकिङ बुझेका ग्राहकले मात्र यस्ता प्रकारको शर्तहरुको बारेमा जानकारी लिन खोज्छन्,’ उनले भने ‘तर बैंकहरु यस्ता शर्तहरुको बारेमा थाहा पाउने ग्राहकलाई कर्जा दिन नै असहज मान्ने वा उसको कर्जा नै विभिन्न बाहनामा स्वीकृत गदैनन् ।’

बैंकका भित्रि पोलेसीहरुको बारेमा थाहा पाउने ग्राहकहरु जस्तैः पत्रकार, वकिल, अधिवक्ता, राजनीतिज्ञ र बैंक विज्ञहरुलार्ई बैंकले कर्जा नै नदिन नखोज्ने उनको भनाइ छ ।

बैंकले ग्राहक ठगे न्याय माग्न कहाँ जाने ?

प्रत्येक बैंक तथा वित्तीय संस्थाहरुले गुनासो सुनुवाइ इकाई गठन गर्न राष्ट्र बैंकको निर्देशन छ । जसअनुसार हाल प्रायजसो बैंकहरुले गुनासो इकाइ खडा गरेका छन् ।

ग्राहकलाई यदि बैंकहरुले गरेको कारोबार र व्यवहारबारे चित्त नबुझेमा सो गुनासो इकाइमा गुनासो गर्न वा आफ्ना असन्तुष्टिका विषयहरु सो इकाइका व्यक्तिहरुसँग छलफल गरी समाधान गर्न सक्छन् ।

यदि ग्राहकको गुनासो वा समस्याको समाधान बैंकहरुको सो गुनासो इकाइमार्फत नभएमा राष्ट्र बैंकको गुनासो इकाइमा गुनासो दर्ता गराउनु पर्छ ।

राष्ट्र बैंकका दुई डेपुटी गभर्नर, नियमन विभाग कार्यकारी निर्देशक र दुई उप-निर्देशक, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक, बैंकर्स संघका अध्यक्ष, अर्थ मन्त्रालयका सचिव र उद्योग वाणिज्य महासंघका प्रतिनिधि सहितको गुनासो सुनुवाइ इकाइ गठन भएको छ ।

सो इकाइमा गुनासो गर्नका लागि राष्ट्र बैंकका प्रवक्तामार्फत् वा राष्ट्र बैंकका बैंक नियमन विभाग अन्तर्गतको गुनासो सुनुवाई इकाइमा ग्राहकले गुनासो गर्न सक्छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा मात्र ७४ वटा गुनासोको सुनुवाई भइसकेको छ ।

तपाई पनि ठगिनु भएको छ भनेराष्ट्र बैंकको गुनासो सुनुवाइ समितिमा उजुरी दिएर न्याय माग्न पाउनुहुनेछ ।


क्लिकमान्डु