एभरेष्ट बैंकको बदमासीः यसरी ठग्दैछ ऋणीलाई, डेपुटी गभर्नर भन्छन्,- कारबाही हुन्छ



काठमाडौं । काठमाडौंस्थित बालाजुका एक ग्राहकले एभरेष्ट बैंकबाट ५ वर्षअघि २० लाख रुपैयाँ घरकर्जा लिएका थिए ।

त्यसबेला बैंकले ती ग्राहकलाई ९.२५ प्रतिशत ब्याजदरमा उक्त ऋण दिएको थियो । र, ऋण दिएबापत १ प्रतिशत सेवा शूल्क पनि लिएको थियो ।

यो अवधिमा बैंकले धेरैपटक ब्याज बढायो । ब्याज बढाएको जानकारी ग्राहकको मोवाइलमा म्यासेज पठाएर गराउँथ्यो । र, म्यासेज पठाएकै मितिदेखि बढेको ब्याज जोडथ्यो ।

ती ऋणीसँग अहिले बैंकले १३.६८ प्रतिशत ब्याजदर असूल गरिरहेको छ । हाल बैंकको बेसरेट ८.३७ र स्प्रेडरेट ५.२७ प्रतिशत छ । ग्राहकले लिएको घर कर्जाको ब्याज बैंकले ४.४३ प्रतिशतले बढाएको छ ।

ऋणीलाई बैंकले ५ वर्षको अवधिमा कर्जाको ब्याजदर घटबढ भएको भनेर एकपटक पनि फोन गरेको थिएन ।

तर, बुधबार बैंकले ऋणीलाई फोन गरेर ‘कर्जाको ब्याजदर घट्दैछ, ब्याजदर घटाउने हो भने साँवाको १ प्रतिशत शुल्क बुझाउन बैंकमा आउनुहोस्’ भन्यो ।

ऋणीले यसमा विषयमा बैंकमा फोन गरेर विस्तृत विवरण बुझ्न खोजे । बैंकका कर्मचारीले ती ग्राहकलाई २० लाख रुपैयाँ सावाँको १ प्रतिशत अर्थात् २० हजार रुपैयाँ बैंकमा नबुझाएसम्म घटेको ब्याजदर तपाईंले लिएको कर्जामा लागू गर्न सक्दैनौं भन्ने जवाफ दिए ।

कर्जाको ब्याजदर घटाउन कुन शीर्षकमा साँवाको १ प्रतिशत तिर्नुपर्छ ? भनेर ऋणीले सोधे । ‘स्पेसल ट्रम्स एण्ड कन्डिसनअनुसार तपाईले लिएको कर्जाको १ प्रतिशत शुल्क बैंकमा बुझाउनु पर्नेहुन्छ,’ बैंकका कर्मचारीले ऋणीलाई जवाफ दिए, ‘अनिमात्र घटेको ब्याजदर तपाईको कर्जामा लागू हुन्छ ।’

बैंकका कर्मचारीले ऋणीलाई कार्यालयमा बोलाए । ऋणीले केही दिनपछि आउने जवाफ दिए ।

एभरेष्ट बैंकले ठग्यो भन्दै राष्ट्र बैंकमा गुनासो

बैंक तथा वित्तीय संस्थाको नियमकारी निकाय नेपाल राष्ट्र बैंकमा केहीदिन यता एभरेष्ट बैंकले ठगी गरेको भन्दै गुनासो पर्न थालेका छन् ।

‘बैंकले ब्याजदर घटेको तर साँवाको १ प्रतिशत तिरेमात्र घटेको ब्याजदर कर्जामा लागू हुन्छ भनेको भन्दै बुधबारदेखि नै गुनासो आइरहेको छ,’ राष्ट्र बैंकको गुनासो सुनुवाइ समितिका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘अहिलेसम्म ५/६ वटा गुनासो आइसेका छन् ।’

गुनासो सुनुवाइ समितिले नियमन विभागलाई जानकारी गराइसकेको छ ।

‘एभरेष्ट बैंकका विषयमा यस्ता प्रकारका गुनासो आएका छन्, तत्कालै कारबाही प्रक्रिया अघि बढाउनुहोस् भनेर हामीले नियमन विभागमा पठाइसकेका छौं,’ ती अधिकारीले भने ।

बैंक तथा वित्तीय संस्थाबाट पीडितले राष्ट्र बैंकको गुनासो शाखामा गुनासो गरेमा त्यसको अनुसन्धान गरी राष्ट्र बैंकले सुनुवाई गर्दै आएको छ ।

डेपुटी गभर्नर भन्छन्,-  कारबाही हुन्छ

पछिल्लो समय केही बैंकहरुले ऋणीसँग मनोमानीरुपमा सेवाशुल्कलगायतका अतिरिक्त शुल्क असूली गरेको गुनासोमा धेरै सुनुवाइ भइसकेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।

‘बैंकले अतिरिक्त शुल्क भनेर केही पनि लिन पाउँदैन्,’ शिवाकोटीले क्लिकमाण्डूसँग भने ‘यदि कुनै  बैंकले यस्ता प्रकारका शुल्क ऋणीसँग असुली गरेको पाइएमा त्यो बैंक कारवाहीमा पर्छ ।’

राष्ट्र बैंकले ऋणीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गराउनुका साथै बैंकलाई जरिवाना समेत तिराउने शिवाकोटी बताउँछन् ।

यदि कुनै बैंकले राष्ट्र बैंकले नीति विपरीत गएर ऋणीलाई अतिरिक्त आर्थिक भार बोकाएको पाइएमा त्यो बैंक राष्ट्र बैंकको ऐन अनुसारको कारवाहीको भागीदार हुन्छ ।

नियमनका हाकिम भन्छन्- राष्ट्र बैंकको आँखामा छारो हाल्नेलाई छाड्दैनौं

बैंक तथा वित्तीय संस्थाले एकातिर ब्याजदर घटाउने र अर्कोतिर सावाँको १ प्रतिशत शुल्क तिर भन्नु भनेको राष्ट्र बैंकको आँखामा छारो हालेर ब्याज आम्दानी नघटाउने दाउ भएको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

‘ऋणीसँग यसरी ब्याजदर घट्दै छ, साँवाको १ प्रतिशत तिर अनि घटेको ब्याज लागू हुन्छ भन्नुको आसय नै उसले नाफा नघाटउने हो,’ ढकालले क्लिकमाण्डूसँग भने ‘हामीले यससम्बन्धी गहन अध्ययन गरिरहेका छाैं , केही समयपछि बैंकका यस्तो प्रवृत्तिमा अंकुश लगाउने निर्देशन आउँछ ।’

बैंकहरुले ऋणीसँग अनेक प्रकारका शर्तहरु राखेर सोही अनुसारको एग्रिमेन्ट गराउने र पछि चर्को शुल्क असूल्ने गरेका कयौं घटनामा राष्ट्र बैंकले कारवाही गरिसकेको र अगामी दिनमा पनि त्यस्ता घटनाको छानविन गरी बैकहरुलाई कारवाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

‘त्यस्ता बैंकलाई हामी कारबाही गरेरै छाड्छौं,’ उनले भने ।

के भन्छ एभरेष्ट बैंक ?

ग्राहकसँगको सम्झौता अनुसार नै बैंकले १ प्रतिशत तिर्नका लागि भनेको हुनसक्ने एभरेष्ट बैंकका एसिस्टेन्ट जनरल म्यानेजर केशबराज पौडेलले जानकारी दिए ।

‘बैंक र ग्राहकबीच एकैपटक धेरै ब्याजदर घटबढ भएमा साँवाको १ प्रतिशत तिर्नुपर्ने छ भन्ने शर्त भएको हुनसक्छ,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘कुन ग्राहकको हो मलाई डिटेल पठाइदिनुहोस्, हामी हेर्छौं ।’

तर राष्ट्र बैंकका अधिकारीहरु भने बैंकले यसरी रकम असूल गर्न नपाउने बताउँछन् ।

बैंकर्स संघका अध्यक्ष भन्छन्- ब्याज घटाउन सावाँको यति प्रतिशत तिर्नुस् भन्न पाइँदैन

बैंकहरुले ऋणीसँग गरको कर्जाको सम्झौता अनुसार बेसरेट घटबढ हुदाँ ब्याजदर घटबढ हुने हुँदा ब्याज बढ्दा स्वत बढ्ने र घट्दा पनि स्वत् घटाउनु पर्ने नेपाल बैंककर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् ।

‘ऋणी र बैंकको आपसी सम्झौताअनुसार ब्याजदर घटबढ हुँदा प्रिमियम शुल्क हेरफेर हुनसक्छ,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने ‘ब्याजदर घटाउने भन्दै साँवाको यति प्रतिशत दिनुस् भनेको त मैले पहिलो पटक थाहा पाएको हो । यदि कसैले त्यस्तो गरेको छ भने त्यो पाइँदैन ।’

केही बैंकको बदमासीले सबैलाई असर

कतिपय बैंकहरुले कर्जाका ग्राहकसँग विभिन्न बहानामा अतिरिक्त शुल्क र त्यसको ब्याज असूली गर्दै आएका छन् ।

बेसरेट बढाएर कर्जामा नयाँ ब्याजदर कायम गरी सोही अनुसार ग्राहकलाई ब्याज असूल्ने बैंकहरुले वेसरेट घटाउँदा पनि त्यसको अतिरिक्त शुल्क असूलीको धन्धा चलाइरहेका हुन् ।

केही बैंकको यस्तो प्रवृत्तिका कारण आम नागरिकमा समग्र बैंकप्रतिकै धारणा नकरात्मक बन्दै गएको छ ।

बैंकको ब्याजदरका विषयमा संघीय संसदको अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा अध्ययन गरेर प्रतिवेदन बुझाउन उपसमिति नै गठन गरेको छ । उपसमितिले यस विषयमा पनि गम्भीर अध्ययन गर्नुपर्ने देखिएको छ ।

०७६ पुस मसान्तसम्ममा बैंकले कूल १ खर्ब १४ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । घटेको ब्याजदर लागू गर्नका लागि प्रत्येक ऋणीबाट सावाँको १ प्रतिशत उठाएमा मात्रै बैंकले १ अर्ब १४ करोड ३३ लाख रुपैयाँ अतिरिक्त शुल्क लिने बैंकको योजना रहेको देखिन्छ ।


क्लिकमान्डु