नेप्सेको अनलाइनमा त्रिपक्षीय विवादः लड्डुको स्वादमा नेप्सेको गलत ब्रिफिङ, लगानीकर्ता जिल्लै



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन सिस्टममा देखिएको समस्यालाई लिएर त्रिपक्षीय आरोप प्रत्यारोप भएको छ ।

नेप्सेले ब्रोकरको टीएमएस प्रणालीमा समस्या भएको आरोप लगाउने र ब्रोकर कम्पनीले नेप्से र वाइको कम्पनीको सिस्टममा समस्या देखिएको आरोप लगाउँदै आएको छन् ।

वाइको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेश प्रधानले भने इन्टरनेटमा आएको खराबीको असर सिस्टममा परेको भन्दै समस्या पन्छाएका छन् ।

‘अहिले ब्रोकरहरुको टीएमएस डाटा सेन्टरमा छ, नेप्सेको म्याजिङ इञ्जिन नट्स नेप्सेको डाटा सेन्टरमा हुन्छ । टीएमएसबाट इन्टरनेटमार्फत् वा नेटवर्कबाट नट्स र टीएमएसमा भन्दा पनि आईएसपी र डाटा सेन्टरमा इन्टरनेटको समस्या आएको हो,’ उनले भने ।

उक्त समस्या आएपनि नेप्सेको सिस्टम राम्रोसँग चलिरहेको र टीएसएस पनि चलेकै थियो, तर समस्या भने इन्टरनेट कनेक्सनमा भएको हो,’ उनले भने ।

उनले अनलाइनको क्षमता र यसको प्राविधिक पाटो दुबै फरक विषय हुन् । क्षमता नै हुने भन्ने हुँदैन । यदी त्यसो हुँदो हो त हरेक समयमा समस्या देखिने बताए ।

नयाँ सिस्टममा अर्डर राख्ने काम पहिलेको तुलनामा ४÷५ गुणाले बढेको प्रधानको भनाइ छ ।

‘ब्रोकरले चलाउने सिस्टम पहिले केन्द्रिकृत प्रणालीमा थियो भने अहिले सबैको छुट्टाछुट्टै टीएमएस नेप्सेमै छ । नेप्सेको म्याचिङ इञ्जिन (नट्स) पनि फरक हो । यो सञ्चालनका लागि बलियो इन्टरनेट कनेक्सन चाहिन्छ,’ उनले भने ।

‘पहिले एउटै कम्प्युटरमा भएको सफ्वेयरबाट सबै ब्रोकरले काम गर्थे, तर अहिले ५० वटा ब्रोकरको छुट्टाछुट्टै टीएमएस छ, सबै एकै ठाउँबाट सञ्चालित हुने भएकाले सर्वसाधारणलाई एउटै सिटम जस्तो लागेको हो,’ उनले भने ।

डाटा सेन्टर प्रत्येक ब्रोकरले राख्नुपर्ने भए पनि प्रविधिमा ठूलो लगानी हुने र मितव्ययी तरिका अपनाउँदा ब्रोकर, नेप्से र वाइको सबैले तत्कालका लागि सबै टीएमएस डाटा सेन्टरमै राखी सञ्चालन गर्दै आएको प्रधानको भनाइ छ ।

एउटै प्रणालीबाट छुट्टाछुट्टै काम गर्नुपर्ने र काम गर्दा जुन कुनैमा समस्या देखिँदा त्यसको असर सबैतिर देखिएको उनको दाबी छ । जसले गर्दा नेप्से, ब्रोकर र वाइकोले एकअर्कालाई दोष देखाउने काम भइरहेको प्रधानको जिकिर छ । र, यो दोषारोपणको शिकार भने लगानीकर्ता भएका छन् ।

‘लगानीकर्तालाई प्राविधिक समस्या नहोस् भनि सिस्टमको निर्माण र समन्वय वाईकोले नै गर्दै आएको छ, त्यसैले वाईकोलाई औँला देखाएका हुन सक्छ,’ उनले भने ।

यतिबेला कम्पनीले डाटा हब, सुबिसु र वेभसर्फर इन्टरनेट चलाइ रहेको प्रधानको भनाइ छ ।

‘अनलाइनमा समस्या आएपछि सफ्टवेयरमा हो वा इन्टरनेट, नेवटर्क र हार्डवेयरमा देखिएको हो हेरिन्न, तर इन्टरनेटबाट चल्ने भएकाले इन्टरनेटमा समस्या देखिँदा अनलाइन प्रयोगकर्तालाई समस्या परेको हो,’ उनले भने ।

अरु बेलामा सफ्टवेयरलगायतमा समस्या देखिए पनि मंगलबारको समस्या भने इन्टरनेटका कारण भएको उनको दाबी छ । मंगलबार इन्टरनेट र नेटवर्कको डाटा हबमा समस्या देखिएको हो ।

‘नेप्सेबाट डाटा सेन्टरमा एक्सेस भइरहेको छ । तर बाहिरबाट कनेक्सन नहुनु भनेको इन्टरनेटको समस्या हो,’ उनले भने ।

केही समययता ब्रोकरहरुले वाइकोमा रहेको आफ्नो टीएमएस डाटालाई अन्या कम्पनीमा सार्ने चर्चा गर्दै आएका छन् । तर सीइओ प्रधानले भने उक्त विषयमा आफूलाई कुनै जानकार नभएको दाबी गरे ।

उनका अनुसार शुरुमै ब्रोकरलाई आ–आफ्नै सिस्टम बनाउन नेप्सेले भनेको थियो । यसका लागि ब्रोकरसँग दक्षजनशक्ति अभाव र प्राविधिक विषय भएकाले वाइकोलाई नै समन्वयको जिम्मेवारी दिइएको हो । वाईकोले पनि सोही अनुसार काम गरेको हो ।

वाईकोले अहिलेसम्म जति काम गरेको छ, त्यो आफै गर्नुहोस् भनि ब्रोकरलाई भनेको उनको भनाइ छ । तर बजारको जिम्मेवारीका कारण उनीहरुले आफै नगरेको उनले बताए । त्यसैले अहिले अरुलाई आरोप लगाएर मात्रै समस्याको समाधान नहुने उनको भनाइ छ ।

यता नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानभाटले डाटा सेन्टरमा भन्दा पनि सिस्टममै समस्या भएको उनले बताए । उनले यो समस्या कसरी भयो भन्ने विषयमा आफूहरुले पनि नेप्सेलाई नै सोधेको उनले बताए ।

‘५० वटा ब्रोकरमा एकैपटक समस्या आउनु सामान्य विषय होइन । यो भनेको नेप्से, डाटा सेन्टर र वाइकोको विषय हो,’ उनले भने ।

अहिले ब्रोकरको डाटा वाईकोमा रहेको र वाईकोले प्रभावकारी रुपमा सेवा नदिएकाले केही समयमा नै ब्रोकरहरु वाईकोको विकल्प खोज्न थालेको उनको दाबी छ ।

यता नेप्सेले भने बिज्ञप्ती नै जारी गरी लगानीकर्तासँग झुठ बोलेको छ ।

सेयर बजारमा उछाल आउनासाथ लड्डु खान हतारोमा जुट्ने नेप्सेले मंगलबार बिज्ञप्ती जारी गर्दै सदस्य दलालको डाटा सेन्टरमा प्राविधिक समस्या आएको दाबी गरेको छ । नेप्सेले सदस्य दलाल तथा ग्राहकले सदस्य दलालको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा सम्पर्क स्थापित हुन नसक्दा कारोबार रोकिएको जिकिर गरेको छ ।

गुलियोको स्वादमा भुलिरहेको नेप्सेले समस्याको मूल जरो के हो भन्ने जानकारी भने गराएको छैन । नेप्सेले शुरु गरेको अनलाइन सिस्टममा समयसमयमा यस्ता समस्या दोहोरिने गरेको छ । तर नेप्से भने अधिकांश समस्यालाई टीएमएसमा भएको भन्दै टार्दै आएको छ ।

अनलाइन सिस्टमले मारमा परेको लगानीकर्ताले सामाजिक सञ्जालमा चर्को आलोचना समेत गरेका छन् । केही लगानीकर्ताले त अनलाइनको नाममा घन्टौ लाइन राखेर लगानीमा जोखिम निम्त्याएकोमा नेप्सेलाई आभार र मिठाई उपहार पठाउनुपर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् ।


क्लिकमान्डु