ठूला लगानीकर्ता बाहिरिएपछि सेयर बजार फेरि ओरालो यात्रामा, लगानी कति जोखिमपूर्ण ?



विगत केही समययता मूल्य वृद्धि र कारोबार रकममा आएको उछालले सेयर बजारमा रुची राख्ने र जोखिम मोल्नेहरुलाई निकै तरङ्ति बनाएको छ । कुनै सम्वन्ध त छैन । तर पनि कोरोना भाइरसको साइड इफेक्टका कारण विश्वका सेयर बजारहरुमा भूकम्प आएको पृष्ठभूमिमा नेपालको सेयरमा आएको यो उछाल दिगो बन्न सक्छ कि सक्दैन भन्नेमा लगानीकर्ताहरुमा घनघोर द्विविधा पनि छ ।

यही द्विविधाका बीच लगानीकर्ताहरुले लगानी पनि गरिरहेका छन् । त्यसैले उनीहरु बजार यस समयमा घट्ने खालको कुनै टिकाटिप्पणी सुन्न चाँहदैनन् । तर ठूला लगानीकर्ताहरु यसअघि नै बाहिर निस्किसकेको अवस्थामा साताको प्रारम्भबाटै ओरालो लाग्न थालेको बजार देखेर विशेषगरी साना लगानीकर्ताहरुको तनावको पारो निकै माथि पुगिसकेको छ ।

बजार बढ्नुका ६ कारण

पहिलो कारण, विगत २ बर्ष यता बजार निकै नै घटेको थियो । बजार धेरै घटेपछि यसको प्राकृतिक स्वभाव अनुसार फेरि बढ्ने नै थियो । यसअघि अनुमान विपरीत बजार ११ सय अंकको सेरोफेरोमा फन्को लगाइरहँदा लगानीकर्ताहरुलाई निकै रिंगटा लागेको थियो । बजार घटेको र ब्याजदर बढेको दुई वटै चिन्ताका बीच मार्जिन कलको दबाबले लगानीकर्ताहरु लगभग थला परिसकेका थिए ।

दोस्रो, बजारप्रति अत्यन्तै असहिष्णु बनेका अर्थमन्त्री डा युवराज खतिवडाले कुनै उपाय नदेखेकोले र दबाब थेग्न नसकेर यस क्षेत्रका समस्याहरु समाधान गरिदिएका थिए । तर यस्तो सुधारले पनि बजारलाई टेवा दिन सकिरहेको थिएन ।

तेस्रो, ब्याजदर महंगो थियो र सेयरमा लगानीका लागि न्यूनतम तरलता पनि उपलब्ध थिएन ।

चौथो, कर चुक्ता प्रमाणपत्रको अनिवार्यता र आयस्रोतका बाध्यताका कारण अन्य क्षेत्रमा लगानी हुन सकेन । यसमै अर्को एउटा महत्वपूर्ण पक्ष लगानीका लागि उपयुृक्त वातावरण नभएका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले सानो, मझौला र ठूला कुनै पनि उद्योगमा लगानी बढाउन सकेनन् । यसले गर्दा सजिलो माध्यम सेयर बजारका लागि तरलता पनि जुट्यो र अन्य क्षेत्रका लगानीकर्ताहरुको ध्यान पनि खिच्न सक्यो ।

पाँचौ, कोरोना भाइरसको महामारीबाट नेपालका व्यापारीहरुले यस रोगको उद्गमस्थल चीनबाट सामान ल्याएर बिक्री गर्न सक्ने अवस्था रहेन र उनीहरुको पुँजी पनि यस क्षेत्रमा आउन थाल्यो ।

छैटौं र महत्वपूर्ण कारण बजारप्रति असहिष्णु अर्थमन्त्री खतिवडाको बहिर्गमन हुनेछ भन्ने अनुमान हो । यसैसँग जोडिएको अर्को सहायक कारण पनि छ । त्यो हो, अर्थमन्त्री रहने कि नरहने अथवा सत्तारुढ दलका नेता बामदेव गौतम राष्ट्रियसभा हुँदै सरकारमा पुग्ने रणनीतिको रसाकस्सीमा सरकार नै नयाँ आउने आँकलन । नेपालको सेयर बजारले अस्थिरता मन पराउँछ । त्यसैले अस्थिरताको संभावनाका आधारमा पनि बजारले उकालो यात्रा तय गरेको थियो ।

बजारका आधारभूत पक्ष

बजार बढ्ने मूलभूत कारण भनेको अर्थतन्त्रको सकारात्मक अवस्था हो । यसको आधारमा कम्पनीको त्रैमासिक तथा वार्षिक प्रगतिको यथार्थ तथा अनुमानित आँकलन गर्न सकिन्छ । मुलुकमा आर्थिक गतिविधिहरु साँघुरिएको अवस्था छ । राजस्व असूली खर्बौंले घट्नु यसको ज्वलन्त उदाहरण हो ।

नेपाल जस्तो मुलुकमा वैदेशिक लगानी आवश्यक पर्छ तर यसमा पनि ऋणात्मक वृद्धि देखिएको छ । अर्थात अघिल्ला बर्षहरुको तुलनामा आन्तरिक र बाह्य लगानी खस्केको छ । त्यसैगरी विदेशी सहयोग परिचालनको अवस्थामा पनि नाजुक देखिएको छ । आन्तरिक स्रोतबाट कार्यान्वयनमा आएका आयोजनाहरु सुस्त गतिमा अगाडि बढिरहेका छन् ।

विगत आठ महिनाको विकास खर्चको कमजोर अवस्था यसको ताजा उदाहरण हो । अर्को चीनबाट आयात हुने जलविद्युत तथा उद्योग क्षेत्रलाई आवश्यक पर्ने मेशिनरी, पार्टपुर्जा र उपकरणहरुको आयात, जडान र सञ्चालन कोरोनाका कारण ठप्प छ । यसले गर्दा अर्थतन्त्र अझै प्रतिकूल अवस्थाबाट गुज्रिनेछ । बैंक तथा वित्तीय संस्थाहरुमा नयाँ नयाँ परियोजनाहरुका लागि कर्जाको माग ठप्पप्राय छ ।

चालु आर्थिक बर्षको आठ महिनामा देखिएको कर्जाको न्यून वृद्धिदरलाई हेर्दा यसको पूष्टि हुन्छ । तथापि सूचीकृत कम्पनीहरुले नयाँ नयाँ तौर तरिका अपनाएर केही वृद्धि हासिल गरेको देखिएको छ । स्थिति यही रहने हो भने यिनीहरुले लामो समयसम्म विगतको जस्तो प्रतिफल दिन सक्ने अवस्था देखिदैन ।

यसको अर्थ प्रतिसेयर आम्दानी विगतको जस्तो दरमा बढ्ने देखिदैन । विशेषगरी अधिक पुँजीवृद्धिले पनि प्रतिफलको वृद्धिदरलाई घटाइदिएका छन् । यस्तो अवस्थामा सेयर बजारप्रति अतालिनु पर्ने अथवा रौसिनुपर्ने र हौसिनुपर्ने कारणहरु देखिदैनन् ।

अहिलेको लगानी कति जोखिमपूर्ण ?

सत्तारुढ दलको खिचातानीले राजनीतिक लगानीकर्ताहरुले चाहेजस्तो अस्थिरता आउने संभावना देखिदैन । किनकि पार्टी फुटाएर कसैको पनि स्वार्थ सिद्ध हुन नसक्ने भएकोले एउटा विन्दुमा यिनीहरुको मेल हुन्छ र शक्ति सन्तुलन कायम हुन्छ । सरकारको बाँकी ३ बर्षे कार्यकालपछि चुनाव हुने स्थिति आउन सक्नेछ ।

तर त्यसको आधारमा नै अहिले लगानी गर्नु उचित हुन्छ कि हुँदैन भन्ने कुरा लगानीकर्ताहरुको धैर्यधारण गर्ने शक्तिसँग सम्वन्धित विषय भयो । लामो समयको लागि लगानी गर्दा फाइदा हुनसक्छ । विगतको प्रवृत्तिलाई हेर्दा बजार पछाडि नफर्किने तर माथि जान करिव करिव बढेको २ सयदेखि ३ सय अंकका बीच करेक्सनको लयमा जग बसाउँदै अगाडि बढ्न सक्छ । प्रारम्भमा १४ सयदेखि १६ सयको उतारचढावमा आफ्नो स्थान बनाइरहन सक्छ । त्यसपछि कति लामो वा छोटो अवधिमा माथि जाने भन्ने कुरा घट्नाक्रमहरुले पूष्टि गर्नेछन् ।

अर्कोकुरा, अर्थमन्त्री खतिवडाको निरन्तरता हुने देखिएकोले यहीकारणले बढेसम्मको असरलाई बजारले सुधार गर्नेछ ।

नेपालको सेयर बजार अलि बढी सट्टेबाजीमा विश्वास गर्ने स्वाभावको भएको र एउटास्तरको अनुमान, हल्ला प्रलोभनको पटाक्षेप भैसकेको हुनाले बजारमा करेक्सन आउनेछ । यस्तो बेलामा ध्यान दिने भनेको साना लगानीकर्ताहरुले नै हो । ठूला लगानीकर्ताहरुले आवश्यकता अनुसार आफ्नो नियन्त्रणमा भएका कम्पनीहरुलाई साइत हेर्दै, बढाउँदै, बिक्री गर्दै फाइदा लिइसकेका छन् । करचुक्ता प्रमाणपत्रको सहजता नअपनाइकन आर्थिक गतिविधिहरु अगाडि बढ्न सक्ने अवस्था नभएकोले अर्थमन्त्रीले यसमा सुधार गर्नेछन् र पैसा खास उत्पादक क्षेत्र, उद्योग व्यापारतिर नै जानेछ ।

अहिले केही बैंकहरुले सेयर कर्जाका लागि उपलब्ध गराइदिएको कर्जा सुविधाले धान्ने स्तर र तहसम्म मात्र बजार माथि जाने अन्यथा फेरि केही तल आएर बस्ने अवस्था प्रवल छ । केही ठूला लगानीकर्ताहरुले बजारलाई बढाउन घट्यो कि किनिहाल्न उक्साइरहेका छन् । उनीहरुको उक्साहटमा लागेर मात्र लगानीको निर्णय नगर्दा टाउको दुखाई कम हुनेछ । तत्काल अथवा केही समयभित्रै नेप्से २५ सय, वा ४ हजार वा ५५ सय अंकमा पुग्ने हल्लाका पछि कुनै चित्त बुझ्दो कारण देखिदैन । जसले यस्तो हल्ला चलाए, तिनीहरु यसै हप्ता २० करोडको सेयर बेचेर बाहिर निस्किएका छन् ।

धितोपत्र बोर्ड र नेप्सेले ठूला बिक्रेताको तथ्यांक निकालेर हेरेपुग्छ । त्यस्तै लगानीको स्रोतको खोजी अर्को घातक विषय हो । आजको मितिमा स्रोत बिनाको पुँजी यस बजारमा पनि आउन संभव देखिदैन । पहिला जस्तो यस्तो पुँजीको आगमनले बजार बढ्ने कुरा अव संभव छैन । स्रोत नखोजिने भने पनि अहिले जलविद्युत उत्पादक कम्पनीहरुमा लाग्नेहरु अहिले लगानीको स्रोत खोज्न थालिएपछि तालुमा हात राखेर बसिरहेका छन् ।

आर्थिक मन्दी आएसँगै ठूला कुनै पनि ऋणीहरुले कर्जाको ब्याज नियमित गर्न नसकिरहेको अवस्थामा राष्ट्रिय चिन्ताको विषय बन्न थालेको छ । रियलस्टेटमा भएको लगानीले धेरै बैंक तथा वित्तीय संस्थाहरुको वासलातलाई लथालिङ्ग पारिदिने खतरा बढिरहेको छ, घटिरहेको छैन । बैंकहरुको बाहुल्यमा रहेको नेपालको सेयर बजारमा यी कम्पनीहरुको सेयरको मूल्य नबढ्ने कारण यही हो ।

त्यसमाथि पनि ठूला लगानीकर्ताहरु पहिला नियन्त्रण गर्न सकिने लघुवित्तको मूल्य बढाउछन्, त्यसपछि बीमा र अन्त्यमा बैंकमा पसेर बाहिर निस्किने गर्छन् । अहिले पनि यही कथा दोहोरिएको छ । अझ पारित हुनै लागेको बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाहरुको विगत केही बर्षयताको सुविधाजनक स्थितिलाई ध्वस्त पारिदिने निश्चित छ । यस्तो अवस्थामा संयमित भएर लगानीको निर्णय गर्नु श्रेयस्कर हुनेछ ।


पुष्प दुलाल