ओलीको स्थिर सरकारको अस्थिर मन्त्रिपरिषद्, २ वर्षमा १३ जना ‘आउट’, १२ जना भए ‘इन’



काठमाडौं । लामो समयको अन्तरालपछि मुलुकले २ वर्षअघि केपी शर्मा ओलीको नेतृत्वमा स्थिर सरकार पायो ।

निर्वाचनबाट स्पष्ट बहुमतसहितको जनमत पाएको वामगठबन्धनले दुई तिहाईको सरकार बनायो । कम जनमत पाएको नेपाली कांग्रेस ५ वर्षका लागि प्रतिपक्षको भूमिकामा पुग्यो ।

दुई वर्षअघिको फागुन ३ गते सरकार बन्दै गर्दा धेरैलाई लागेको थियो, अब सरकार ५ वर्षका लागि स्थायी भयो, अब काम फटाफट हुन्छ । विकासको गती बढ्छ, भ्रष्टाचार र ढिला सुस्ती हट्छ र केपी ओलीले भनेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ यात्रामा मुलुक अगाडि बढ्छ ।

सरकारको २ वर्षे आयुलाई मूल्यांकन गर्ने हो भने मुलुकले स्थिर सरकार होइन, स्थिर प्रधानमन्त्री मात्रै पायो । बाहिरबाट हेर्दा सरकार एउटै भए पनि मन्त्रीहरुको हेरफेरले विगतकै अस्थिर राजनीतिको अवस्थामा मुलुक छ भन्दा फरक पर्दैन् ।

२ वर्षअघिसम्म विकास भएन भन्नेका लागि पहिलो रेडिमेड जवाफ थियो, सरकार नै स्थिर छैन, ९ महिने सरकारले के गर्ने ? तर अहिले सरकार स्थिर त छ तर मन्त्रीहरु स्थिर नहुँदा काम हुन सकेको छैन ।

सरकार तथ्यांक प्रस्तुत गर्दै सडक दैनिक ६ किलोमिटर पिच भयो भन्छ । विकासको गतीमा मुलुक अगाडि बढ्यो भन्छ, तर हामी हिँड्ने राजधानीका सरकारको मुहार फेरिएको देखिन्न । न त प्रधानमन्त्रीले भने जस्तो धुलो र धुँवामुक्त भएको छ ।

सरकारले मात्रै होइन, आलोचकले भने जस्तो मुलुक बर्बाद पनि भएको छैन । न त सरकारले भने जस्तो नेपालको विकास देखेर संसार नै चकित भएको छ । जे छ त्यो जनतालाई थाहा छ, भोगिरहेका छन् तर त्यो यथार्थ कसैले बताउन खोज्दैनन् । सबैले आ–आफ्नो स्वार्थमा मात्रै प्रोपोगान्डा मात्रै गरिरहेका छन् ।

यतिसम्म कि प्रधानमन्त्रीले पटक–पटक भन्ने गरेको राजधानीका खाल्डाखुल्डी अहिलेसम्म पनि पुरिएका छैनन् । न त सुशासन नै कायम भएको छ ।

अघिल्लो दिन सुशासनका ठूलो गफ दिनेहरु भोलिपल्टै घुस काण्डको आरोपमा राजीनमा दिइरहेका छन् । अघिल्लो दिन आफूले गरेका कामको ठूलो फेरिहस्त बयान गर्नेहरु भोलिपल्ट कार्यसम्पादन र मूल्यांकनका आधार भन्दै सरकारबाट निकालिएका छन् ।

सरकार भन्छ, हाम्रो काम देखेर विश्व चकित भयो, अनि भोलिपल्टै चित्त बुझ्दो काम नगरेको भन्दै मन्त्रीहरु सरकारबाट निकालिन्छन् । यतिसम्म कि अघिल्लो दिन सरकारको राम्रो काम गरेको गर्यै गर्ने तर सञ्चारमाध्यमले पिटिक्कै नलेख्ने भन्दै गाली गर्ने प्रधानमन्त्रीले भोलिपल्ट योजना आयोगको बैठकमा मन्त्री र मुख्यमन्त्रीलाई एकैठाउँ राखेर फिटिक्कै काम भएन भन्दै चित्त दुखाउँछन् ।

अनि जनताले के पत्याउने, कुन पत्याउने ? दोधारमा छन् । सरकार बाहिर हुँदा ठूला गफ दिनेहरु पनि मन्त्रालयको जिम्मेवारी पाएपछि कुन दुनियाँमा छन अत्तोपत्तो नभए झैं शान्त बसिरहेका छन् । काम कति गरे, कसरी गरे भन्नेमा कसैसँग बहुमत प्राप्त सरकारले भन्न मिल्ने कुनै काम छैन ।

२ वर्षमा १३ जना पद गुम्यो
सरकार बनेको २ वर्ष पूरा भयो । यसबीचमा मन्त्री र राज्यमन्त्री गरी १३ जना सरकारबाट बाहिरिएका छन् । जसमा सबैभन्दा पहिले सरकार बनेको ५ महिनामै कानूनमन्त्री शेरबहादुर तामाङ निकालिए । एक निजी विद्यालयको कार्यक्रममा बोली चिप्लिँदा उनको मन्त्री पद गुम्यो । उनको ठाउँमा भानुक्त ढकालले मन्त्रालय सम्हाले ।

सरकार २२ महिना पुग्दा सरकार आफले कार्यसम्पादन र मूल्यांकनका आधारमा फेल भएको भन्दै ६ जना मन्त्री र ३ राज्यमन्त्री सरकारबाट बर्खास्तीमा परे । त्यसको ठाउँमा ६ मन्त्री र ३ नयाँ राज्यमन्त्री नियुक्त भए ।

बर्खास्तीमा पर्ने मन्त्रीमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विस्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणी खनाल र उद्योगमन्त्री मातृका यादव हटाइए ।

त्यस्तै राज्यमन्त्रीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषिराज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादव पनि बर्खास्तीमा परे ।

त्यति मात्रै होइन, स्वास्थ्यमन्त्रालयको जिम्मेवारी सम्हालेका उपेन्द्र यादवलाई कानूनमन्त्री बनाइयो । र, केही समयमा उनले पनि राजीनामा बुझाएर हिँडे ।

कानूनमन्त्रालय सम्हालेका भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइयो । यादवले राजीनामा दिएपछि ढकाललाई नै कानून मन्त्रालयको जिम्मेवारी दिइयो ।

पछिल्लो समय फागुन ८ गते बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिए ।

यसबीचमा मुलुकले नराम्रो घटना बेहोर्यो, राम्रो काम गरिरहेका भनिएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई हेलिकप्टर दुर्घटनामा गुमायो ।

मन्त्रिपरिषदमा १२ जनाको इन्ट्री
सरकारबाट १३ जना बाहिरिँदा १२ जनाले मन्त्रिपरिषदमा इन्ट्री गरेका छन् । जसमा सबैभन्दा पहिले शेरबहादुर तामाङको ठाउँमा भानुभक्त ढकाल मन्त्री बने । रवीन्द्र अधिकारीको दुर्घटनामा निधन भएपछि योगेश भट्टराई पर्यटन मन्त्री बने ।

बर्खास्ती गरेपछि हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट, वसन्त नेम्वाङ, रामेश्वर राय यादव, धनश्याम भुसाल मन्त्री बने । त्यस्तै, नवराज रावत, मोती दुगड र रामवीर मानन्धर राज्यमन्त्री बने । त्यसपछि कानून मन्त्रालयमा पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे नियुक्त भइन ।

बिहीबार गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चारमन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडा र सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिइएको छ ।

यसरी हेर्दा २ वर्षको अवधिमा सरकार स्थिर देखिए पनि अधिकांश मन्त्रालय अस्थिर देखिएका छन् । हिजोका दिनमा ९ महिने सरकारका कारण काम गर्न पाएनौं भन्ने कर्मचारीहरु अहिले फेरि मन्त्री फेरिरहँदा काम गर्न गाह्रो भयो भन्न थालिसकेका छन् ।

मन्त्रिपरिषद् मात्रै होइन ३ महिनाभन्दा बढी समय सभामुख बिहीन हुँदा पनि काम हुन सकेन । सभामुख चयनमा ढिलाइ गर्दा नेकपाकै कारण एक महिना जति संसद नै चल्न पाएन । कैयन विधेयकहरु त्यत्तिकै थन्किए ।


क्लिकमान्डु