लघुवित्तको अबको बाटोः गरिबी निवारण होइन, लघु उद्यममा जोड दानराज पन्तको लेख



लघुवित्तको ऐतिहासिक पृष्ठभूमि

आजको सन्दर्भमा लघुवित्त भनेको विभिन्न किसिमको वित्तीय सेवा जस्तै सानो बचत, कर्जा, बीमा, पेन्सनलगायत विप्रेषण रकमको भुक्तानी जुन औपचारीक वित्तीय संस्थाको सेवाबाट बञ्चित भएका व्यक्ति तथा समूदायलाई प्रदान गरिन्छ त्यसलाई बुझिने व्यवस्था हो ।

वित्तीय क्षेत्रको इतिहास खोतल्ने हो भने लघुवित्त तुलनात्मक रुपमा नयाँ क्षेत्र हो । तर, अधिकांश समूदाय तथा रीतिरीवाजले परम्परागत तथा अनौपचारीक रुपमा बचत तथा ऋणको कारोवार तथा आफ्नो पूँजी परिचालनका साथै वित्तीय व्यवस्थापन गरेको यसको लामो तथा गहन इतिहास रहेको छ ।

यसको ऐतिहासिक पृष्ठभूमि पनि रोचक छ । सानातिना घट्ना र प्रयासले ठूलो अभियानको इतिहासको विजारोपण गर्छ भनेजस्तै ऐतिहासिक विकासक्रममा सुसुस, टोन्टायन्स, किक्सिकिला, चिलाम्वा, र मेरी गो राउन्डस् जस्ता कार्यक्रमका नामको वित्तीय सेवा अफ्रिकाको अधिकांश भागमा भएपछि लुघुवित्तको उठानलाई मलजल पुगेको पाइन्छ ।

भारतमा चिटफन्डस्, मेक्सिकोमा टन्डाज र बचत क्लव, वुरियल सोसाइटी जस्ता कार्यक्रम शताब्दियाैंसम्म चलेको पाइन्छ । यस्ता अनौपचारीक रुपमा भएको वित्तीय क्रियाकलपाको सन्दर्भ र इतिहास पैसाको उत्पतिसँगै भएको अनुमान छ ।

इं.स. १७२० मा अनुदानमा आधारित आइरिस लोन फण्डबाट गरिबलाई बिना ब्याज कर्जा लगानी गरिएको थियो । यस कार्यक्रमको लक्षित समूह बेलायती मोडल जस्तो व्यापारीलाई लक्षित नगरी कृषि मजदुर, गरिव किसान र डिलर्सलाई थियो ।

ई.स.१८४० को वरीपरि ३०० कोष, स्वावलम्वन र दिगो संस्था उदय भए । ति संस्थाले बचत जम्मा गरी गरिबलाई सानो कर्जा लगानी गरेर आफ्नो स्रोत सिर्जना गरे । मुनाफा तथा बचतको स्रोतबाट वित्तीय लगानी गरी आफ्नो कार्यक्रम विस्तार आयरल्याण्डको २० प्रतिशत हस्सा ओगटेको बताइन्छ ।

वित्तीय स्रोतको विस्तारमा तीव्रता दिइएको, बचतमा प्रचलित ब्याजदरको तीन गुणासम्म दिई बचत लिई उच्च व्याजदरमा नै कर्जा लगानी गरेको उल्लेख छ । त्यहाँको वाणिज्य बैंकलाई प्रतिस्पर्धाका लागि ठूलै चुनौती उत्पन्न भयो । ति बैंकले सरकारसँग व्याजदरमा क्याप लगाउन लविङ्ग गरे ।

ई.सं १८४५ को विनासकारी आइरिस फेमिनले त्यहाँको अवस्थालाई झन जटिल बनायो । १९औं शताब्दीको दोस्रो आधातिर लोन फण्ड क्रमशः घट्यो । १९औं शताब्दीको पछिल्लो समयमा युरोपमा ग्रामीण तथा सहरिया गरिबका लागि बचत तथा ऋणको कारोबार गर्ने औपचारीक तथा ठूला संस्थाको उदय भएको पाइन्छ । पिपुल्स बैंक, क्रेडिट युनियन, वचत तथा ऋण सहकारी संस्थाका साथै समानान्तर रुपमा प्राइभेट बैकिङ्ग संस्था आएका थिए ।

ई.स १९५९ मा डा.अख्तर हमिदखानले पूर्वी पाकिस्तानमा कोमिल्ला मोडलको सुरुवात् गरे । डा. खान ग्रामीण जर्मनको राइफेसियन क्रेडिट युनियनबाट प्रभावति भएर बलियो स्थानीय संस्था जसले कोमिल्ला जिल्लाको किसानलाई ऋणका साथै बजारको पहुँच दिन सकोस् भनी परिकल्पना गरेका थिए ।

त्यस सहकारी संस्थाले कृषि प्रसार सेवाका साथै सरकारसँगको सम्झौता अन्तरगत सडक तथा सिँचाइ प्रणालीको मर्मत तथा बैकिङ सेवा प्रदान गरेको थियो । पछि कोमिल्ला सहकारी फेल भयो ।

सरकारको सम्बन्ध तथा सहभागिताको कारणले प्रोजेक्ट संकटमा परे । बलियो सहकारी वनाउने प्रयासमै सीमित रह्यो । ती कार्यक्रम बाटो बिराएर अव्यवस्थापन, भ्रष्टाचार तथा अनियन्त्रणका कारण समस्यामा पर्यो । त्यसमध्ये कर्जा असुली गर्न नसक्नु प्रमुख कारण बन्यो । १९७१ मा बंगलादेश स्वतन्त्र भयो । तत्पश्चात स्थानीय प्रभावशाली व्यक्तिले त्यस सहकारीको व्यवस्थापन हात पारे । तिनीहरु शक्तिशाली तथा बस्तुस्थिति बुझेका थिए ।

आशिंक रुपमा डा. खानको अनुभवको परिणामबाट लघुवित्तका अभ्यासकर्ता डा. महम्मद युनुस तथा फेजलहसन अवेदले सिधै गाउँका संस्थाका कम गरिबलाई समावेश नगरी अती गरिबलाई लक्षित गरी लघुवित्त शुरुवात्को प्रयास गरे । पछि ग्रामीण बैंकका बरिष्ठ कर्मचारीको भनाइअनुसार बंगलादेशको सहकारी असफल हुनुमा ज्यादै ठूलो समूह, फरक-फरक आर्थिक अवस्था भएका मानिसलाई समेट्नु र त्यस समूह तथा संस्थालाई टाढाबाठा व्यक्तिले नियन्त्रणमा लिएको कारण हो भनेका छन् ।

ई.स १९७० को अन्त्यतथा १९८० को शुरूवाततिर लघु उद्यममा लगानी कार्यक्रमको शुरुवात् भयो । गरिब महिलालाई लक्षित गरेर आयआर्जनका गतिविधिमा लगानी गरियो ।

गरिब कर्जा दिन लायक हुन्छन् भन्ने मान्यता थियो । ग्रामीण बैंक बंगलादेशले लघुउद्यम लगानीको गतिको झण्डोत्तलन ग¥यो । यसले कर्जासाथै बचत परिचालन र सदस्यको अनुशासनको प्रर्वद्धनमा जोड दियो ।

ग्रामिण मोडल १९७६ मा शुरुवात् भएर १९८३ मा ग्रामीण बैंकको स्थापना भयो । बैंकका संस्थापक डा. महम्मद युनुसले कर्जा पाउनु गरिबको अधिकार हो भन्ने विषयमा जोड दिए ।

ई. सं १९७४ मा सेवा युनियन, अमेदाबाद सहरमा स्वरोजगार महिलालाई बैकिङ सेवा दिने सोचले भारत भूमिमा उत्पत्ति भएको सेवा बैंक हो जुन महिलाबाट सञ्चालित सहकारी बैंकको रुपमा काम गरेको थियो ।

यसलाई रिजर्भ बैक अफ इण्डियाले नियमन गर्यो । भारतको सेवा बैंक र इन्डोनेसियाको बैंक अफ रोकायत इन्डोनेसिया (बीआरआई) लघुवित्त क्षेत्रमा चर्चित संस्था मानिन्छ । दुबैको स्थापना फरक प्रकृतिबाट भएको पाइन्छ ।

ई.स १९८४ मा बैंक अफ रोकायत इन्डोनेसिया सम्पूर्ण सुविधा सहितको कमर्सियल माइक्रोफाइनान्स संस्थामा परिणत भयो । आफ्नो ग्रामीण शाखा तथा ग्रामीण उपभोक्तालाई ध्यानमा राखेर वित्तीय सेवा प्रदान गर्यो ।

ई.स १९९७ मा ग्लोबल क्याम्पियनले विश्वका ठूलादाताको सहयोग ब्यानरमा माइक्रोक्रेडिट समिट नाममा कार्यक्रम गर्यो । कार्यक्रमलाई माइक्रोक्रेडिट समिट क्याम्पियन १९९७ का नामले चिनिन्छ । तत्पश्चात् विश्वभरनै माइक्रोक्रेडिट तथा लघुवित्त वित्तीय संस्था बनेको पाइन्छ ।

देशभरिका गरिबलाई लघुकर्जा सेवा पुर्याउने उद्देश्यले नेपालको ५ वटै विकास क्षेत्रमा २०४९-२०५३ सालसम्म ५ वटा ग्रामीण विकास बैंक स्थापना भयो । २०५० साल पश्चात ग्रामीण बैंक बंगलादेशको अनुशरण गर्दै ४७ वित्तीय मध्यस्थताको कार्य गर्ने गैरसरकारी संस्थाहरु नेपाल राष्ट्र बैंकमा दर्ता गरी लघुवित्त कार्यक्रम शुरु भयो । २०६३ सालमा वाफिया पश्चात वित्तीय मध्यस्थता कार्य गर्ने गैससलाई अनुमति दिन रोकियो ।

नेपाल सरकारले २०६५ बैशाख २२ गते राष्ट्रिय लघुवित्त नीति,२०६४ जारी ग¥यो जसमा लघुवित्त सेवालाई परिभाषित गरेको छ । दीर्घकालीन रुपमा लघुवित्त सेवाको सहज आपूर्तिका लागि स्रोत साधन उपलब्ध गराउन राष्ट्रिय लघुवित्त विकास कोषको स्थापना गर्ने, लघु वित्तप्रदायक संघ/संस्थाको संस्थागत विकासका लागि समयानुकूल नियमन तथा सुपरिवेक्षण गर्न छुट्टै निकायको गठन गर्ने विषय उल्लेख भयो ।

२०७०÷०७१ को मौद्रीक नीतिमार्फत् वित्तीय मध्यस्थताको कारोबार गर्ने गैह्रसरकारी संस्थालाई २०७२ को असारमसान्तसम्म ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थामा परिवर्तन भइसक्नुपर्ने व्यवस्था गर्यो ।

तर २०७२ सालको विनासकारी भूकम्पको कारण त्यसलाई २०७२ पुससम्मलाई समय थपियो । अन्ततः २०७६ असार मसान्तसम्म सम्पूर्ण वित्तीयमध्यस्थताको कारोबार गर्ने गैरसरकारी संस्था ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थामा परिणत भईसकेका छन् ।

२०७६ पुस मसान्तसम्म ४ थोक लघुवित्त कारोबार गर्ने लघुवित्त वित्तीय संस्था र खुद्रा लघुवित्तको कार्य गर्ने ८६ लघुवित्त वित्तीय संस्था गरी राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था ९० पुगिसकेका छन् ।

सम्भवत आगामी २ वर्षभित्र लघुवित्त संस्था मर्जर/प्राप्ती भएर सबल सक्षम संस्थाको रुपमा स्थापना भई आवश्यकता अनुसारको वृहत सदस्यमूखी सेवा दिन सफल हुनेछन् ।

 

लघुवित्तका दृष्टीकोण तथा अवधारणा

विश्वभरका लघुवित्त संस्थाहरुको उदेश्य, कार्यपद्धति र विभिन्न अभ्यासकर्ताको अध्ययन गर्ने हो भने निम्नानुसारको दृष्टिकोण तथा अवधारणाबाट लक्षित वर्गमा आर्थिक, सामाजिक तथा वातावरणीय प्रभाव हुने गरी लघुवित्त सेवा प्रवाह भएको पाउँछौं ।

१) साना कर्जा लगानीको माध्यमबाट गरिबी निवारण ।
२) कृषि वित्त, ग्रामीण वित्त तथा मूल्य श्रृंखला आधारित वित्तीय सेवा ।
३) महिला सशक्तिकरणका लागि वित्तीय सेवा ।
४) लघु उद्यम लगानीका लागि वित्तीय सेवा ।
५) दिगो वित्तीय प्रणालीमा आधारीत लघुवित्त सेवा ।
६) समूदायमा आधारीत सदस्यबाट सञ्चालित लघुवित्त सेवा ।

दिगो विकासको लक्ष्य, वित्तीय समावेशिकरण र लघुवित्त सेवा

ई.स २०१० मा अन्तर्राष्ट्रिय फाइनिन्सियल डेभलपमेन्टले लघुवित्तको गतिविधि सम्बन्धमा वासेल ३ को दस्तावेज प्रकाशित गर्यो जुन विकास वित्तको लागि कोशेढुंगा सावित गर्यो ।

सन् २०१६ मा अन्तर्राष्ट्रिय फाइनिन्सियल डेभलपमेन्टले २ वटा दस्तावेज प्रकाशित गरेर लघुवित्तको सट्टामा वित्तीय समावेशिकरणको धारणालाई विकास गरेको छ । २०१६ मा नै सहस्राब्दी विकास लक्ष्य (२०००-२०१५) बाट दिगो विकास लक्ष्य (२०१६-२०३०) को अवधारणा विकास भयो । उक्त सन्र्दभमा सिग्याप (विश्वविकास बैंक) ले लघुवित्तको ठाँउमा वित्तीय समावेशिताको शव्दावली प्रयोग गरेको छ ।

परम्परागत लघुवित्त भन्नाले विशेष किसिमका वित्तीय संस्थाका माध्यमबाट गरिबका लागि वित्तीय सेवाको व्यवस्था भन्नुको सट्टा वित्तीय समावेशिता अर्थात दिगो तथा विवेकशिल औपचारीक संस्थाले व्यक्ती तथा व्यवसाय दुबैलाई वित्तीय सेवाको पँहुच पुर्याउनेको अवस्था र तिनीहरुले उपयोग गर्न सक्ने उपयुक्त किसिमको फराकिलो वित्तीय सेवा हुनुपर्ने भन्ने हो । त्यस्तै वासेल ३ ले सेवा नपाएको र पर्याप्त वित्तीय सेवा नपाएकालाई वित्तीय सेवाको व्यवस्था भन्ने परिभाषित गरेको छ ।

संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य एजेण्डा, २०३० ले लिएका १७ वटा लक्ष्य र १६९ लक्ष्यमध्ये विश्वको सबैभन्दा ठूलो चुनौतिको रुपमा गरिबी निवारणलाई लिइएको छ ।

वित्तीय समावेशिकरणको लक्ष्य भनेको वित्तीय सेवाबाट बञ्चीत तथा पर्याप्त तथा अनुकुल वित्तीय सेवा नपाएको मानिसलाई आवद्व गराउनु हो । दिगो विकासको ३ वटा आयाममा आर्थिक, वित्तीय र वातावरणीय आयामलाई लिइएको छ । दिगो विकासको उक्त लक्ष्यको बलियो कार्यान्वयनको माध्यमहरु वित्त, प्रविधि, क्षमताविकास र प्रणालीगत मुद्दाको सम्बोधन रहेको छ ।

वित्तीय समावेशिकरणको समग्र अभ्यासमा पहिलो अभ्यास भनेको न्यून आय भएका वर्गको आम्दानी बढाइ आर्थिक समावेशिकरणको स्थापना गर्ने । दोस्रो आफ्नो देश भित्रको सांगठनिक, संरचनात्मक तथा कानूनी दायारामा बसी नविनतम् वित्तीय सेवाको निर्माण गर्ने । तेस्रो लघुवित्तका संचालक सदस्यलाई सुझबुझपूर्ण निर्णय गर्नका लागि सहयोग गर्ने अर्थात संचालक शिक्षा प्रदान गर्ने । चौथो सरकारले लिएका आर्थिक विकासका लक्ष्यलाई सहयोग पुग्ने किसिमको वातावरण सृजना गर्ने । पाँचौ वित्तीयप्रदायक संस्था र डिजिटल प्रविधिप्रदायक संस्थाको व्यावसायिक सम्बन्ध बीच तालमेल मिलाउने जस्ता समग्र विषयलाई अङ्गालिएको छ ।

वित्तीय समावेशिकरणका उद्येश्यले चारवटा खण्ड÷क्षेत्रका मानिसलाई वित्तीय सशक्तिकरण गर्न जरुरी ठानिएको छ । आधारभूत वित्तीय सेवाबाट बञ्चित मानिस, आफ्नो पारिवारिक आय तथा व्ययलाई सुधार गर्न खोज्ने मानिस, व्यवसायको शुरुवात् गर्न खोज्ने समुदाय र व्यवसाय शुरुवात गरी सकेकालाई स्तरोन्नति गर्न खोज्ने जस्ता विषय छन् ।

निष्कर्ष:

समग्र लघुवित्तको पद्धतिलाई सुक्ष्म ढंगले अध्ययन गर्दा संसारमा २ वटा अवधारणाबाट लघुवित्त सञ्चालित भएको छ । पहिलो, अवधारणा सामाजिक लगानीकर्ताले न्यूनआयका मानिसलाई वित्तीय सेवा दिने उद्देश्यले पूँजीको परिचालन गरी स्थापना भएका संस्था अर्थात बाह्य वित्तीय संस्था अर्थात कमर्सियल लघुवित्त संस्था र अर्को समूदायले आफ्नो वित्तीय आवश्यकता परिपुर्ति गर्न पूँजी परिचालन गरी स्थापित तथा सञ्चालित लघुवित्त संस्था अर्थात सामूदायिकरुपमा सदस्यबाट सञ्चालित लघुवित्त संस्था छन् ।

सामुदायिक रुपमा सञ्चालित संस्था तथा कर्मसियल लघुवित्त संस्थाको उपयुक्त नेटवर्क संघ निर्माण गरी संघीय तथा प्रादेशिक सरकारसँगको समन्वय तथा संयोजन गरी सरकारका नीति तथा कार्यक्रमबमोजिमका स्रोत तथा साधानको परिचालनलाई न्यून आय भएका जनतासँग पुर्याउन सकेमात्र लघुवित्त संस्थाको अपरिहार्यता र दिगोपना सिद्ध हुने देखिन्छ ।

लघुवित्त संस्थाले सधैभरी गरिबी निवारणको भजन गाउँनु सट्टा मूल उद्देश्यमानै लघुउद्यम विकासका लागि लघुवित्त सेवा अर्थात ‘नट गिभ अ लोन, गिभ अ जव टु लो इन्कम पिपुल’ भन्ने दृृष्टिकोणलाई आत्मसाथ गर्न जरुरी त भएको होइन ?

नेपाली लघुवित्त क्षेत्रको गुणात्मक विकास तथा समयानुकुल परिमार्जन गरी दिगो वित्तीय प्रणालिमा आधारीत लघुवित्त सेवा भन्ने दृष्टिकोणको लक्ष्य भेट्न प्रयासरत रहने हो की ?

सरोकारवालाले सोच्नपर्ने बेला आएको छ । लघुवित्तको प्रभावकारीता मापन गर्न सम्पत्तिको वित्तीय प्रतिफल जस्तै लगानीको सामाजिक प्रतिफल हेर्ने तथा मुल्यांकन गरिनुका साथै वार्षिक प्रतिवेदनमा समावेश गरी लघुवित्तीय संस्था समाजप्रति उत्तरदायी रहेको प्रमाणित गर्न आवश्यक छ ।


क्लिकमान्डु