ठूला खेलाडीले धेरै लिए सेयर धितोमा कर्जा, साढे ४५ अर्बमध्ये ६२% कर्जा करोड माथिको



काठमाडौं । सेयर बजारका ठूला खेलाडीहरुले नै सेयर धितो राखेर कर्जा लिने गरेको पाइएको छ । सेयर धितोमा प्रवाह भएको ६२ प्रतिशत १ करोड रुपैयाँभन्दा माथिको हुनुले त्यसको पुष्टि गर्छ ।

यो तथ्यांकले साना लगानीकर्ताको तुलनामा ठूला लगानीर्काहरुले नै बैंकको कर्जा उपयोग गर्न सक्षम भएको देखाउँछ ।

बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्म सेयर धितोमा मात्रै साढे ४५ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा सेयर धितो कर्जा ४१ अर्ब ९४ करोड ८ लाख रुपैयाँ थियो ।

एक वर्षको अवधिमा सेयर धितोमा कर्जा ८.८९ प्रतिशते बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । सेयर बजारमा सुधार नभएको र राष्ट्र बैंकले कर्जाको नीति कडा बनाएका कारण यो क्षेत्रमा अपेक्षा गरेअनुसा कर्जा बढ्न नसकेको हो ।

सेयर बजारका जानकार प्रकाश तिवारीका अनुसार कमै मात्र लगानीकर्ताहरु सेयर धितो कर्जा लिन बैंक जान्छन् । यदि ब्रोकरको कार्यालयबाटै यस्तो कर्जा पाइने हो भने यो संख्या र रकम दुबै बढ्ने उनको भनाइ छ ।

‘सेयर बजारका ठूला ठूला खेलाडीहरुले बैंकको कर्जा उपयोग गरिरहेका छन्,’ तिवारीले क्लिकमाण्डूसँग भने, ‘ब्रोकरबाट कर्जा पाउने व्यवस्था नगरेसम्म अवस्था यही हो ।’

राष्ट्र बैंकको तथ्यांक अनुसार लगानीकर्ताले सबैभन्दा बढी ६२.३० प्रतिशत कर्जा १ करोड रुपैयाँभन्दा बढीको रकममा मात्रै लिएका छन् । त्यस्तै, ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म १२.९९ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म १४ प्रतिशत र २५ लाख रुपैयाँभन्दा कम कर्जा प्रवाह १०.३७ प्रतिशत भएको छ ।

तर, केही महिनायता सेयर बजार सकारात्मक दिशातर्फ उन्मुख भइरहेकाले सेयर धितोमा कर्जा लिने लगानीकर्ताहरुको संख्या बढिरहेको बताउँछन् नेपाल इनभेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार ।

‘बैंकबाट कर्जा लिएर लगानी गर्ने अधिकांश ठुला लगानीकर्ता हुन्, राष्ट्र बैंकले सेयर धितो कर्जाको दायरा बढाएपछि बैंकहरुले यसमा दिने कर्जाको प्रक्रियामा पनि सहुलियत दिएका छन्, जसले गर्दा कर्जा प्रवाह बढेको हो,’ रौनियारले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा बैंक तथा वित्त कम्पनीले ४५ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेकामा २८ अर्ब ४५ करोड २५ लाख रुपैयाँ १ करोड रुपैयाँभन्दा बढीको कर्जा छ । जुन गत वर्षको १४.७८ प्रतिशत बढी हो ।

गत आवको पुस मसान्तमा ४१ अर्ब ९४ करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीबाट प्रवाहित सेयर धितो कर्जाको ५९.१ प्रतिशत् अर्थात २४ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ १ करोड बढीको कर्जा लगानीकर्ताले लिएर बजारमा लगानी गरेका थिए ।

यस्तै गत वर्ष सेयर धितोमा प्रवाहित कुल कर्जाको १५ प्रतिशत अर्थात् ६ अर्ब ४४ करोड ४४ लाख रुपैयाँ ५० लाखदेखि १ करोडसम्म कर्जा लिएर लगानीकर्ताले बजारमा लगानी गरेका थिए ।

सो परिमाणको कर्जा चालु आवको सोही अवधिमा आइपुग्दा ७.८८ प्रतिशतले घटेको छ । चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्त कम्पनीबाट सेयर धितोमा प्रवाहित कुल कर्जाको १२.९९ प्रतिशत अर्थात ५ अर्ब ९३ करोड ६५ रुपैयाँ लगानीकर्ताले ५० लाखदेखि १ करोड रुपैयाँसम्म बैंकबाट लिएर बजारमा लगानी गरेका हुन् ।

यसैगरी, गत आवको पुस मसान्तमा सेयर लगानीकर्ता ५ अर्ब ६८ करोड ६४ लाख रुपैयाँ अर्थात सो अवधिमा सेयर धितोमा प्रवाहित कुल कर्जाको १३.६ प्रतिशत २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कर्जा बैंक तथा वित्त कम्पनीबाट लिएर बजारमा लगानी गरेका थिए ।

सो परिमाणको कर्जा चालु आवको पुस मसान्तमा आइपुग्दा १५.०९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको ६ महिनामा सेयर धितोमा प्रवाहित कुल कर्जाको १४.३३ प्रतिशत अर्थात ६ अर्ब ५४ करोड ४६ लाख रुपैयाँ बैंकबाट सेयर धितोमा कर्जा लिएर लगानीकर्ताले बजारमा लगानी गरेका हुन् ।

चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्त कम्पनीले सेयर धितोमा प्रवाह गरेका कुल कर्जाको १०.३७ प्रतिशत अर्थात ४ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ कर्जा २५ लाखभन्दा थोरै परिमाणको कर्जा लिएर लगानीकर्ताले बजारमा लगानी गरेका छन् ।

जुन गत आवको सोही अवधिको तुलनामा ५.६९ प्रतिशत कम हो । गत आवको ६ महिनामा लगानीकर्ताले बैंकबाट ५ अर्ब २ करोड २१ लाख रुपैयाँ अर्थात सो अवधिमा सेयर धितोमा प्रवाहित कुल कर्जाको १२ प्रतिशत कर्जा २५ लाख रुपैयाँभन्दा थोरै परिमाणको कर्जा सेयर लगानीकर्ताले लिएका हुन् ।

बैंक तथा वित्त कम्पनीहरुले कर्जा प्रवाह गर्दा केही प्रतिशत सेवा शुल्क वापत लिने गर्छन् । बैंकहरुले ठूलो परिमाणका कर्जाभन्दा सानो परिमाणका कर्जाको सेवा शुल्क केही प्रतिशत बढी लिने हुँदा सेयर लगानीकर्ताले बैंकबाट सकेसम्म ठूलै परिमाणमा सेयर धितोमा कर्जा लिने फोरमका अध्यक्ष रौनियार बताउँछन् ।

‘सानो होस् या ठूलो परिमाणका कर्जा लिने प्रक्रिया उस्तै हो, केही बैंकहरुले ५० लाख वा १ करोड रुपैयाँभन्दा थोरैको कर्जामा त्योभन्दा माथिको कर्जामाभन्दा केही प्रतिशत धेरै सेवा शुल्क र ब्याजदर लिने गर्छन्,’ उनले भने ।

कागजी प्रक्रिया र अन्य प्रक्रियाका हुने खर्च सानो र ठुलो परिमाणका कर्जाको उस्तै हुने हुँदा बैंकहरुले सानो कर्जामा सेवा शुल्क र ब्याजदर बढी लिएको हुनसक्ने उनको तर्क छ ।

राष्ट्र बैंकले गत पुसमा कर्जा नीतिमा केही परवर्तन गरेको थियो । व्यक्तिगत कर्जा, आवासीय कर्जा वा अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंकहरुलाई अनिवार्य कर चुक्ताको प्रमाण पत्र लिएर मात्र कर्जा प्रवाह गर्न निर्देशन राष्ट्र बैंकको छ ।

सोही व्यवस्थाको कारणले गत वर्षभन्दा चालु आवमा साना लगानीकर्ताले बैंकबाट कर्जा लिएर बजारमा लगानी गर्न नसकेको नेपाल सेयर ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले क्लिकमाण्डूलाई बताए ।

‘साना लगानीकर्ताले आफ्नो क्षमता अनुसार २५ लाखभन्दा तलको कार्जा बैंकबाट लिएर बजारमा लगानी गर्छन्’ उनले भने ‘ठूला लगानीकर्तासँग पहिलेबाटै कर चुक्ताको प्रमाण पत्र हुन्थ्यो तर साना लगानीकर्तालाई त्यसको ज्ञान पनि थिएन ।’

बैंकले कर चुक्ताको प्रमाण पत्र नभइ सेयर धितोमा कर्जा नदिएको कारणले साना लगानीकर्ताले लिने २५ लाख रुपैयाँभन्दा तलको कर्जाको परिमाण घटेको उनको भनाइ छ ।


पुष्प दुलाल