प्रचण्डका घरबेटीले पाटनको सडक बनाएनन्, विरोधमा स्थानीयले भने- आन्दोलन गर्नैपर्ने हो ?



काठमाडौं । सडक, गाडिका सिसा र पर्खाल सबैतिर भिजिट नेपाल २०२० का स्टिकर टाँसिएका छन् । स्वागतार्थ राखिएका बोर्ड र स्टिकर राखेर पर्यटकलाई लोभ्याउने प्रयास सडकको दुर्गतीले भने गिज्याइरहेको देखिन्छ ।

विश्वसम्पदा सूचीमा रहेको पाटन पुग्ने सडक यतिबेला धुलाम्मे छ । पर्यटकलाई त्यहाँसम्म पनि निकै सास्ती खेप्नु परिरहेको छ । त्यसमाथि गाडीको अत्यधिक चापले एतिहासिक पाटनसम्म पुग्ने रहरलाई धुलो र धुँवा बाधक बनेको देखिन्छ ।

त्यसैले अधिकांश पर्यटक जाने मूख्यस्थल पाटनको सडकको दुर्गती भएपछि स्थानीय आक्रोशित बनेका छन् ।

सरकारी कार्यालयहरुमा बाटोको मर्मत सम्भार गर्नका लागी पटकपटक धाउँदा पनि कुनै सुनुवाइ नभएपछि उनीहरु सडकमा विभिन्न बोर्डहरु राख्दै दवावमूलक कार्यक्रममा उत्रिएका हुन् ।

असन्तुष्ट स्थानीयले ‘सडक बनाउन आन्दोलन आवश्यकै हो ?’, ‘सरकार धुलो प्रदुषण कहिले सम्म ?’ जस्ता लेखिएका प्लेकार्डहरु सडक राखी विरोध शुरु गरेका छन् ।

ललितपुरका वडा नं ६, ८ र १२ का स्थानीयबासीहरु यसरी दबाबमूलक कार्यक्रममा उत्रिएका हुन् । वडा नं ६ का कनिवहाल, सिंचाहिटी, ओखुवहाल वडा नं ८ का सउगल, सुन्धारा, ढालाछीं तथा वडा नं १२ का मंगलबजार, लगनखेल, हखाँ क्षेत्रका स्थानीयहरु दबाबमूलक आन्दोलनमा उत्रिएका हुन् ।

मेलम्चीको खानेपानी आयोजनाले खानेपानीको पाइपलाइन बनाउनका लागि गत जेठमा महिनामा खनेको बाटो अझै मर्मत् हुन सकेको छैन । सडक मर्मत् हुन नसकेको कारण घाम लागेको बेला धुलाम्मे हुने र पानी परेको बेला बाटो हिलाम्मे हुने भएकाले स्थानीयहरु समस्यामा परेका हुन् ।

सडकमा उड्ने धुलोको कारण व्यापार आफ्नो व्यपार व्यवसाय नै चौपट हुने अवस्था आईसकेको स्थानीयबासी तथा व्यपारी सोनी श्रेष्ठले बताइन ।

‘घाम लागेका दिन उठेको धुलोले पसलका सामान नै धुलाम्मे हुन्छ, मान्छे नै नचिनेने हुन्छन, पानी परेको दिन सडक हिलाम्मे हुन्छ, खाल्डाखुल्डी र जमेको पानीको कारण दैनिक ४/५ ओटा बाइक दुर्घटना भइरहेका हुन्छन्,’ उनले भनिन् ।

खराब बाटोकै कारण व्यापार गरी बसेका व्यापारीहरुले त्यो ठाँउ छोडी अर्कै ठाँउमा जान थालेको अर्की स्थानीय बासिन्दा अनिता शाक्य बताउँछिन ।

‘सरकारले सोझालाई सुन्दैन । बाटो बन्द गर्दा सर्वसाधरणलाई दुःख पुग्ने भएकाले आफूहरुले अहिले दबाबमूलक कार्यक्रम मात्रै गरेको हो, सरकारले सुनेन भने बाटो बन्द गर्न पनि बाध्य हुन्छौ,’ उनले भनिन् ।

मेलम्ची खानेपानी आयोजनाले पहिलो पटक जेठमा पाइपलाईनका लागी बाटो खनेकोे थियो । पहिले खनेको पाइपलाइनमा समस्या आएपछि फेरि दशैंताका बाटो खनिएको स्थानीयहरु बताउँछन ।

सडक मर्मतका लागि अनुरोध गर्दै आफूहरु ५÷६ पटक सडक डिभिजन कार्यालय ललितपूर धाएको स्थानीय बासिन्दा प्रेम रञ्जित बताउँछन् ।

‘टोलका सबै पसल बन्द गरेर सडक डिभिजन कार्यालयका दवाव दिन गए पनि केही प्रगति भएन, हामी दवाव दिन जाँदा अब तपाईहरुकै काम गर्ने हो भन्छन् तर काम कहिले हुने हो टुंगो लागेको छैन,’ उनले भने ।

मेलम्ची खानेपानीले काम सकेको पत्र पठाएपछि काम शुरु गर्ने सडक डिभिजनले बताए पनि खानेपानीको पत्र पाइसक्दा पनि काम शुरु नभएको अर्का स्थानीय विनोद शाक्यले बताए ।

उनले धुलोका कारण पर्यटकहरु नाकमुख छोपेर हिँड्न बाध्य भएको बताउँदै रातिको समयमा हिँड्ने अधिकाशं मान्छेहरु खानेपानीले राखेको पाइपमा अल्झेर लड्ने गरेको बताए ।

खानेपानी आयोजनाले आफ्नो काम सकिएको पत्र पुस ३ गते कार्यालयलाई पठाएको थियो । कार्यालयबाट सडक मर्मतको काम शुरु गर्नका लागि सम्बन्धित निकायलाई ४ गते नै पत्र पठाईसकेको सडक डिभिजन कार्यालय ललितपुरको सूचना अधिकारी सुमित्रा अधिकारीले बताइन् ।

विभिन्न टुक्रामा विभाजित गरिएको यो सडकको मर्मतका लागि सैलुङ कन्सट्रक्सनले ८ करोड ३४ लाख ७९ हजारमा ठेक्का पाएको थियो । २०७३ भदौ ९ गते खोलिएको टेन्डरमा २ वर्षमा काम पूरा गर्ने सम्झौतामा कन्ट्रक्सनले असोज १० गते ठेक्का पाएको थियो । सम्झौताअनुसार बाटोको मर्मतको काम २०७५ असोज १० मा नै सम्पन्न हुनुपर्ने हो ।

सैलुङ कन्सट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डका घरबेटी समेत हुन् ।

खानेपानीको काम चालु रहेकाले काम समयमा शुरु हुन नसकेको सूचना अधिकारी अधिकारीको दाबी छ । गत शुक्रबार बाटो मर्मतको काम छिटो अघि बढाउन सैलुङ कन्ट्रक्सनसंग सडक डिभिजनको छलफल भएको पनि उनले जानकारी दिइन ।

सडक मर्मतको म्याद सकिए पनि सार्वजनिक खरिद ऐनको ९औं संशोधन अनुसार बिना हर्जना १ वर्षसम्म म्याद थप गर्न सकिने भएकाले म्याद थपको फाइल उठाइसके पनि म्याद थपको निर्णय भने भइसकेका छैन ।


क्लिकमान्डु