अर्थमन्त्री डा. खतिवडाको आरोपमा सांसद दिव्यमणीको काउन्टर जवाफ, के भयो अर्थसमितिको बैठकमा ?
काठमाडौं । बुधबार बिहान ८ बजेको लागि संघीय संसद अन्तर्गत अर्थ समितिको बैठक डाँकिएको थियो । बैठकको विषय थियो ‘नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेको विद्येयकमा छलफल ।’
उक्त विद्येयकमा दफावार छलफल सकिएको छ । छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र सांसद दिव्यमणी राजभण्डारीबीच घुमाउरो शैलीको घोचपेचले केही समय लियो ।
जुन निकै अस्वभनीय पनि देखियो । आफ्नो विषयमा निकै जानकार राख्ने र अर्थ व्यवस्थालाई राम्रोसँग बुझेका भनिने अर्थमन्त्री खतिवडा मन्तव्यको क्रममा चुकेको सायदै यो पहिलो पटक होला ।
सांसद राजभण्डारीले नागरिक कोेषले लगानी गर्दा जोखिम हुने ठाँउमा लगानी गर्दा लगानीको जोखिममा पनि ध्यान दिनुपर्ने उल्लेख गरे । उनले १०० प्रतिशत धितोमा लोन दिँदा आउने समस्याको विषयमा सचेत हुने पर्ने र दीर्घकालीन समयको लागि ऋण दिँदा विज्ञको सिफारिस आवश्यक पर्ने बताए । सबै ऋणमा सरकार साक्षी बसेर ऋण दिँदै गर्दा उत्पादन मुलक क्षेत्रमा पनि ऋण दिन आवश्यक रहेको बताएका थिए ।
त्यही समयमा उनको कुरा अर्थमन्त्री खतिवडाले काटे । जुन दृश्य केही अस्वभनीय भयो ।
सांसद राजभण्डारीको कुरा काट्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने ‘सभापति ज्यू, माननिय ज्यूले भनेको कुरा ठीकै हो । तर हामी ऋण तथा जमानत ऐनले बाँधिएका छौं । त्यो ऐनमा नै सीमा तोकिएपछि सरकारले जमानत बस्न सक्दैन । त्यसमा हामी बाँधिएका छौं । त्यो विषयमा मैले संसदमा पनि भनिसकेको छु । त्यसो हुनाले यसमा हामी डराउनु पर्दैन । विषयको कुराले झस्किनु स्वभाविक हो ।
त्यसमा पनि एयरलाइन्स कम्पनी कसरी डुब्छन ? भन्ने त व्यवसाय गरेको माननीय ज्यूलाई नै थाहा छ । त्यसकारण पनि झस्किनु भएको हो । त्यो म बुझ्न सक्नु । तर मुख्य कुरा के हो भने सरकारले यस्तो लगानीमा कुनै संस्थाको ग्यारेन्टी बस्दा त्यो संस्थाले पूर्ण ऋण तिर्न सक्ने कार्य, व्यवसायीक योजना, सरकार ग्यारेन्टीमा बसेपनि भोलि पैसा तिर्नुपर्ने अवस्था नआओस् भन्ने नै कुरा माननीयज्यूले भन्नु भएको छ । त्यो कुरा हामी सबैले सुनेका छौं ।’
लगानीगर्दा आफ्नो पुँजीको कति प्रतिशत लगानी गर्ने भन्ने कुरा व्यवस्था गरिएको पनि मन्त्री डा. खतिवडाले प्रष्ठयाए । उनले केही समय व्यवस्थापकीय कमजोरीले समस्या आएको उल्लेख गर्दै अहिले त्यो समस्या नभएको उल्लेख गरे ।
अरु कुनै व्यवसयाीक क्षेत्रमा सरकार ग्यारेन्टी बसेर ऋण नदिने पनि प्रष्ट पारे । कोषले आफ्नो व्यवसायीक योजना अनुसार लगानी गर्दा अनावश्यक दबाब भएमा त्यो झेल्नका लागि अटोनोमी अधिकार दिन नै यो विद्येयक आएको मन्त्रीको भनाइ थियो । कोषले आगामी दिनमा व्यवसायीक क्षमता देखाउन सक्नुपर्ने र पुँजीको अनुपातभन्दा बढी लगानी नगर्ने भएकाले जोखिम नहुने तर्क गरे ।
मन्त्रीले उक्त कुरा गरेपछि आफूमाथि लागेको आरोपमा खण्डन गर्न खोज्दा सभापति कृष्ण आचार्यले सांसद राजभण्डारीलाई सवाल जवाफ नगर्न आग्रह गरेका थिए । तर सांसद राजभण्डारीले आफूमा लागेको आरोपमा प्रष्टिकरण गर्नुपर्ने भन्दै भने ‘म पहिलो कुरा के जानकारी गराउन चाहन्छु भने म कुनै पनि एयरलाइन्समा संलग्न छैन । भएको भए म कालोसूचिमा हुने थिए । यहाँ सांसद भएर बस्न पाउने थिइन । त्यसकारण तपाईले सबै रेकर्ड हेर्नु होला, तपाईले भनेको जस्तो नेकोन एयरलाइन्समा मेरो संलग्नता छैन । मेरो कुनै पनि एयरलाइन्समा मेरो एक पैसा पनि लगानी छैन । यो मेरो पर्सनल इन्ट्रिग्रिटीको विषय हो । म परराष्ट्र समितिमा रहेको कारणले गर्दा त्यस अन्तर्गत पर्यटन समितिमा थिए । त्यो समयमा सांसदको हिसाबले मैले अध्ययन गरेको थिए । त्यो समयमा देखेको कुरा कानूनमा नै व्यवस्था भएको खण्डमा कुनै पनि कुराको दुरुपयोग हुन सक्दैन । अहिले कोषले वाइड बढीमा गरेको लगानीले पनि चिन्ता जनाएको छ ।’
उनले कोषमा पैसा निक्षेपकर्ताको भएकाले यसमा सिरियस हुनुपर्ने बताए ।
राजभण्डारीले आफ्नो कुरा राखेपछि अर्का सांसद सुरेन्द्र पाण्डले कोषले वाइडबडीमा गरेको लगानी वायुसेवा निगमले तिर्न नसकेको खण्डमा सरकारले नै व्यहोर्ने बताए । त्यो ऋणको जवाफदेही सरकार भएको कारण कोषलाई कुनै असर नपर्ने उनको भनाइ छ ।
सरकारले खरिढुंगामा पनि लगानी गरेको र त्यसमा सरकारले ग्यारेन्टीमा बसेको उनको भनाइ छ । त्यो बाहेक अरु निजीमा सरकारले लगानी नगरेको उनको भनाइ छ । कानूनले पनि सरकार ग्यारेन्टी बस्न नपाउने व्यवस्था गरेको भएपनि खरिढुंगामा स्पेशल केस भएको उनको भनाइ थियो ।
बैठक सकिएपछि अन्य दिनमा सरासर मन्त्रालयतर्फ सोझिने मन्त्री डा. खतिवडा बुधबारको बैठक पछि भने सिधै कार्यकक्षमा गएनन् ।
सभापतिले बैठक सकिएको जानकारी गराएपछि सांसद राजभण्डारीले मन्त्रीले आफूमाथि लगाएको आरोपको पुष्टि गरे । त्यो समयमा मन्त्री खतिवडाको अनुहार निकै मलिन भने देखिको थियो । बैठक सकिएपछि सांसद राजभण्डारी र मन्त्री खतिवडाबीच २ मिनेट जति अनौपचारीक कुरा भयो । बैठक बाहिर पनि घाम ताप्ने क्रममा सांसद राजभण्डारीले आफूले कुनै पनि एयरलाइन्समा लगानी नगरेको र कुरै नबुझी आरोप लगाउनु ठीक नभएको दोहोर्याए । उनले आफूले लगानी गरेको भए आफू कालोसूचीमा पर्ने पुन प्रष्टिकरण दिए ।