६५ प्रतिशत कर्जा घरजग्गा धितोमा, ऋण दिन कहिलेसम्म घरजग्गा नै धितो खोज्छन् बैंकहरु ?



काठमाडौं । विश्वव्यापी रुपमा नै कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई विश्वासका आधारमा (बिनाधितो) र धितोे मूल्यांकनका आधारमा ऋण दिने गर्दछन् ।

विकसित देशहरुमा नयाँ आइडिया, परियोजनालाई पनि बैंकहरुले ऋण दिन्छन् । तर, नेपालका बैंकहरुले भने ऋण दिनका लागि घरजग्गा धितो खोज्छन् ।

राष्ट्र बैंकले नै धितो सुरक्षणमा कर्जा दिनुपर्ने नियम बनाएका कारण बैंकहरुले इनोभेटिभ आइडिया र प्रोजेक्ट फाइनान्सिङ गर्न नसकिएको बैंकरहरु बताउँछन् ।

बैंकहरुले घरजग्गा धितोमा मात्रै ऋण प्रवाह गरेका कारण देशको विकास हुन नसकेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डे बताउँछन् ।

‘हाम्रो बैंकिङ सिस्टममा ठूलो परिवर्तन गर्नु जरुरी छ, घरजग्गा धितोमा मात्रै ऋण दिएर देशको विकास हुँदैन,’ पाण्डेले क्लिकमाण्डूसँग भने ।

नेपालका बैंक तथा वित्तीय संस्थाले ऋणीलाई ऋण दिने प्राथामिक धितोको रुपमा घरजग्गालाई लिने गरेका छन् । बैंक वित्तीय संस्थाले कात्तिक मसान्तसम्म २७ खर्ब १९ अर्ब ९६ करोड ३० लाख रुपैयाँ धितोमा कर्जा प्रवाह गरेको छन् । जसमध्ये ६४.५ प्रतिशत अर्थात् १७ खर्र्ब ५४ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ घरजग्गा धितोमा कर्जा प्रवाह गरेका हुन् ।

घरजग्गा धितोमा ऋण दिँदा नकारात्मक प्रभाव धितो नहुने व्यक्तिलाई पर्ने नविल बैंकका सीइओ अनिल केशरी शाह बताउँछन् ।

‘कर्जा लिएर उद्यमी हुन्छु भन्नेहरुले धितो नभएको कारणले नै कर्जा लिन पाउँदैनन्, यो समस्यालाई बैंकिङ क्षेत्रले मात्र नभएर राज्यले नै विचार गरेर त्यही अनुसारको नीति तथा कायक्रमहरु ल्याएर लागू गराउन सक्नुपर्छ,’ शाहले भने ।

जोखिम न्यूनिकरणका लागि बैंकहरुले कर्जा दिनका लागि धितो खोज्ने गरेको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट बताउँछन् ।

‘पछिल्लो समय बैंकहरुले प्रोजेक्ट फाइनान्सिङका योजनाहरु ल्याएका छन्, बिनाधितो कर्जाको लागि भेन्चर क्यापिटल, बेल्नडेट फाइनान्सिङका कुराहरु आइरहेका छन्,’ भट्टले भने ।

बैंकिङ इतिहासको शुरुवातमा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीसँग कृषि उपजलगायत भण्डारन रहेका सामान वा (कृषि तथा गैर-कृषिजन्य वस्तु) चालु सम्पत्ति धितोको रुपमा राखी ऋण सापटी दिने भनेर सरकारले बैंकिङ कारोबारको शुरुवात गरेको थियो ।

तर उक्त अभ्यास हाल बैंक तथा वित्तीय संस्थाले पन्छ्याउँदै गएको स्पष्ट राष्ट्र बैकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कात्तिक मसान्तसम्ममा कुल धितोमा प्रवाहित कर्जा चालु सम्पत्तिको धितोमध्ये १४.७ प्रतिशत अर्थात् ३ खर्ब ९९ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जामध्ये सबैभन्दाबढी घरजग्गा धितोमा प्रवाह भएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको घरजग्गा धितोमात्र ६४.५ कर्जा प्रवाह गरेका हुन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वित्तीय विवरणअनुसार बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६४.५ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७५ कात्तिक मसान्तमा घरजग्गा धितोमा ६३.२ प्रतिशत र कृषि तथा गैर-कृषिजन्य वस्तुको धितोमा १४.७ प्रतिशत कर्जा प्रवाह भएको थियो ।

बैंकहरुले कर्जा लगानी गरिसकेपछि असुलीका लागि भरपर्दो हुने भएकै कारणले पनि अन्य सम्पत्तिलाई भन्दा घरजग्गालाई कर्जाको सुरक्षित धितोमा मानेका हुन् ।

जसकारण वर्षेनि नै धितोमा प्रवाहित कर्जामा घरजग्गा धितोे कर्जाको हिस्सा बढ्दो छ । राष्ट्र बैंकका अनुसार ५ वर्षमा घरजग्गा धितो कर्जा ५ प्रतिशतले बढेको छ भने चालु सम्पत्ति धितो कर्जा २ प्रतिशतले मात्र बढेको छ ।

घरजग्गा धितोमा राखेर बैंक तथा वित्तीय संस्थाले आव २०७१/७२ मा कुल कर्जाको ५९.६ प्रतिशत, ०७२/७३ मा ६०.८ प्रतिशत, ०७३/७४ मा ६०.९ प्रतिशत, ०७४/७५ मा ६१.४ प्रतिशत र ०७५/७६ मा ६४.४ प्रतिशत र चालु आवको कात्तिक मसान्तसम्म ६४.५ प्रतिशत घरजग्गा धितोमा कर्जा प्रवाह गरेका हुन् ।

यसैगरी कुल धितोमा प्रवाहित कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) धितोमा भने बैंक तथा वित्तीय संस्थाले आव २०७१/७२ मा १२.८ प्रतिशत, ०७२/७३ मा १५.२ प्रतिशत, ०७३/७४ मा १३.९ प्रतिशत, ०७४/७५ मा १४.४ प्रतिशत र ०७५/७६ मा १३.५ प्रतिशत र चालु आवको कात्तिक मसान्तसम्म १४.७ प्रतिशत चालू सम्पती धितोमा कर्जा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाले ५ वर्षको अवधिमा घरजग्ग धितोमा कर्जा क्रमिकरुपले बढाउँदै गएका छन् भने चालू सम्पत्ति धितोमा कर्जा घटाउँदै गएका छन् ।

आव ०७२/७३ मा १५.२ प्रतिशतले चालु सम्पत्तिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा गत आवको असार मसान्तसम्म १.७ प्रतिशतले घटेको हो ।

यस्तै राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २.९ प्रतिशतले वृद्धि भएको छ साथै, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.१ प्रतिशतले बढेको छ ।

यस्तै, सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ८.६ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा ६.८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशत, हायर पर्चेज कर्जा १.१ प्रतिशत र ओभरड्राफ्ट कर्जा ०.९ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा १.५ प्रतिशतले घटेको छ ।

कर्जाको सुरक्षण धितो नै हो: गुणाकर भट्ट

बैंकहरु सर्वसाधारण जनताको निक्षेप लिएका छन् । बैंकले त्यही निक्षेपबाट नै ऋणीलाईलाई कर्जा दिएका हुन्छन् । निक्षेपको सुरक्षाको प्रत्याभुति गर्ने किसिमको व्यापार व्यवसाय नभई चालू व्यापार व्यवसाय वा वर्किङ क्यापिटलको धितोमा गर्दा दिन बैंक विश्वस्त नभएको कारणले धितोमा कर्जा बढी प्रवाह भएको हो ।

बैंकहरुले वर्किङ क्यापिटलको विषयमा बैंक विश्वस्त नभएर घरजग्गा वा कुनै अचल सम्पत्ति धितोमा माग्ने गर्छ । हामी कहाँ अझै पनि मुवेवल प्रोपर्टीको धितोमा कर्जा प्रवाह गर्नका लागि उद्यमशिलताको विकास हुन पनि बाँकी छ । बैंकहरुले पनि ऋणीलाई पत्याउनु पर्यो ।

बैंकहरुले धितोमा मात्रै कर्जा दिन खोज्नुको मुख्य कारण भनेको कर्जाको जोखिम कम होस भनेर नै हो । जोखिम न्यूनिकरण गर्नको लागि त बैंकले सोच्नै पर्छ । आज पनि कर्जाको गुणस्तरमा प्रश्न उठिरहेको हुन्छ । कर्जाको गुणस्तरमा सचेत हुनुपर्छ भनेर अन्तर्राष्ट्रिय मुद्राकोष विश्व बैंकले भनिरहेका छन् । त्यसैले कर्जा नडुबेस्, निक्षेपकर्ताको निक्षेप नडुबोस भनेर बैंकहरु सचेत भएर धितोमा मात्र कर्जा प्रवाह गरेका हुन् ।

नेपालमा पनि दिगो रुपमा उद्यमशिलता विकास भएर नीतिगत रुपमा केही सुधार भएपछि बिनाधितोमा कर्जा प्रवाहको हिस्सा बढ्छ । बैंकहरुले आफ्नो लगानीको सुरक्षा हेरेर जोखिम न्यूनिकरणको लागि धितोमा कर्जा प्रवाह गर्न पाउँछन् ।

अन्तर्राष्ट्रिय परिवेसमा बिना धितो वोरकिङ क्यापिटल, सेयर धितो विभिन्न चालु परियोजना लगायत अन्य विश्वासकै आधारमा पनि धितोको कारणले नै कर्जा विस्तार गरिरहेका छन् ।

घरजग्गालाई नै बैंकले प्रमुख कर्जाको धितो मान्नुको कारण भनेको नेपालमा अरु धितोमा राख्ने सम्पत्ति नै नभएर हो । नेपालमा औद्योेगिकरणको विकास भएको भए उद्योगको सेयरहरु बजारमा धेरै हुन्थ्ये तर नेपालमा बैंकिङ क्षेत्रको नै सेयर बढी छ ।

बैंककको सेयर बैंकमा नै राखेर धितोमा दिने भनेको नेपाल मात्र हो अरु देशमा त्यो पनि गर्दैनन् । सुन धितोमा राख्नलाई नेपालीसँग प्रयाप्त सुन नै हुदैन् । त्यस कारण पनि धितोमा राख्ने भनेको घरजग्गा नै भएको कारणले धितोमा प्रवाहित कुल कर्जामा घरजग्गाको हिस्सा बढेको हो ।

तर घर जग्गाको मुल्यमा धेरै उतारचढाव भइरहने हुँदा कर्जा दिदाँ धितोको मुल्यांकन राम्रोसँग गर्नु आवश्यक हुन्छ ।

नेपालमा धितो बिना कर्जा नपाउने व्यवस्था कै कारणले कर्जा विस्तार नै रोकिएको भए नियमनकारी निकायले सोच्नु पर्ने हुथ्यो । विगत ४ वर्षको कर्जा विस्तारको तथ्यांकलाई हेर्दापनि कर्जा विस्तार राम्रो छ । बैंक तथा वित्त संस्थाले २०७२ असार मसान्तमा १३ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए भने अहिले कर्जा लगानी ३० खर्ब रुपैयाँ नाघिकेको छ ।

धितो राख्न केही पनि नहुनेका लागि अहिले सरकारले नै बिना धितोमा सहुलियतपूर्ण ब्याज कर्जा कार्यक्रम ल्याएको छ । आवश्यकता हुनेहरुले सबै बैक तथा वित्तीय संस्थाहरुबाट यस्तो प्रकारका कर्जा लिन सक्छन् । लघुवित्त संस्थाहरुले बिनाधितो वा अन्य चालु सम्पत्तिमा कर्जा दिइरहेका छन् ।

अहिले बैंकहरुले प्रोजेक्ट फाइनान्सिङका योजनाहरु ल्याएका छन् । बिनाधितो कर्जाको लागि भेन्चर क्यापिटल, बेल्नडेट फाइनान्सिङको कुराहरु भइरहेको छ ।

उद्यमशीलता गर्छु भन्नेलाई कठिन: अनिल केशरी शाह


राष्ट्र बैंकको कर्जा ऐनले नै कुनैपनि कर्जा दिँदा धितो हुनु पर्छ भनिएको छ । हामीले कर्जा दिने भनेको निक्षेपकर्ताको निक्षेपबाट हो । निक्षेपकर्ताको पैसाको सुरक्षाको लागि पनि बैंकहरुले धितो नै नलिई कर्जा दिन पाउँदैन् ।

प्रविधिमा बैकिङ क्षेत्र धेरै अगाडि बढेको भएपनि धितोबिना कर्जा प्रवाह हुन सकेको छैन । त्यसको नकारात्मक प्रभाव धितो नहुने व्यक्तिलाई त अवश्य पर्छ । कर्जा लिएर उद्यमी हुन्छु भन्नेहरुले धितो नभएको कारणले नै कर्जा लिन पाउँदैनन् ।

यो समस्यालाई बैंकिङ क्षेत्रले मात्र नभएर राज्यले नै विचार गरेर त्यही अनुसारको नीति तथा कायक्रमहरु ल्याएर लागू गराउन सक्नु पर्छ । त्यसपछि मात्र बैंकहरुले पनि केही गर्न सक्छन् ।

धितोबिना वा कम धितोमा कर्जा दिँदा बैकको सीइओदेखि कर्मचारीसम्मलाई कारवाही हुने पक्रिएर जेल हुने सम्मको बैंकिङ कसुर ऐन सरकारले लागू गरेको छ । त्यस्तो ऐन हुँदा हुदै कुनै पनि बैंकले धितो नलिएर कर्जा दिन मानदैनन् ।

धितोबिना पनि बैंकबाट कर्जा लिएर उद्यमी हुनेलाई बैंकले मात्र नभएर सबै सम्बन्धीत निकायले परिस्थीति हेरेर नीति नियम परिवर्तन गर्नु पर्यो । बैकमा जुनसुकै साना ठुला कर्जा लिन आउने लाई धितो खोज्छ नै । हाम्रो सिस्टम नै त्यस्तो भएका कारणले धितो नभई कर्जा दिँदैनौं ।

बैंकले कर्जा लिनेलाई धितो माग्छन् । बैंकले धितो माग्नु भनेको नै घरजग्गा के कति छ भनेर धितो मागेका हुन् । बैंकहरुको प्राथमिक धितो भनेको नै घरजग्गा धितो हो ।

ठूल्ठुला उद्योगका लागि पनि कर्जा दिँदा बैंकले घरजग्गा नै धितो लिएको हुन्छ । चालू सम्पत्तिमा भनेको साना साना कर्जाहरु मात्र प्रवाह भएको हुदाँ घरजग्गाको हिस्सा बढी र चालु सम्पती धितोको कर्जाको हिस्सा थोरै भएको हो ।

बैंकले घरजग्गालाई प्राथमिक धितोको रुपमा राखेर फाइदा पनि छ । नेपालमा सबैभन्दा बढी घरजग्गाको नै मुल्य बढी रहेको छ । त्यस काराण् बैंकलाई कर्जाको भाका नाघेर धितो लिलामी गर्दा पनि धेरै फाइदा हुन्छ भने ऋणीले पनि घरजग्गा बेचेर नै भएपनि बैकको कर्जा चुक्ता गर्छ ।

कर्जामा कुनै पनि कर वा अन्य किसिमका उजुरी पर्यो भने सबै भन्दा पहिले धितोमा के राखेको थियो भनेर हेर्ने गर्छन् । बैंकले हैन ऋणी विस्वासीलोे थियो अनि धितो नै नलिएर कर्जा दियौ भन्ने जवाफ दियौ भने बैंक नै कानुनी कारवाहिमा पर्छ ।


पुष्प दुलाल