सरकारले कडाइ गरेको होइन व्यवस्थित गर्न खोजेको हो, डराउनु पर्दैनः शेखर गोल्छा

क्लिकमान्डु २०७६ मंसिर २७ गते १७:०१ मा प्रकाशित

शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

अधिकांश व्यवसायीहरु अनौपचारिकरुपमा कुरा गर्दा सरकारसँग डराएको भन्छन् । के कारणले व्यवसायीहरु सरकारसँग डराउनु पर्ने अवस्थाको सिर्जना भयो ?

अहिले सरकारले व्यापार व्यवसायलाई एउटा लेभलमा ल्याउने प्रयास गरेको छ । लामो समयदेखि एउटा तरिकाले व्यापार व्यवसाय चलिरहेको थियो । सरकारले एकैचोटी त्यसलाई व्यवस्थित गर्न खोजेको छ ।

बैंकमा ऋण लिदा बुझाउने ब्यालेन्ससिट र करमा बुझाउने ब्यालेन्ससिट एउटै हुनुपर्छ भनिएको छ । अर्को तलब दिँदा प्यान नम्बर अनिवार्य गरिएको छ । अरु पनि करका विषय आएका छन् । सरकारले व्यापार व्यवसायलाई कडाई होइन, व्यवस्थित गर्ने प्रयास गरेको छ ।

अहिले आएको ‘स्लो डाउन’को कारण एकैपटक व्यवस्था परिवर्तन हुँदा व्यवसायीलाई समस्या भएको छ । यस्तो बेलामा व्यवस्था परिवर्तन भएको छ, जुन बेलामा बैंकिङ क्षेत्रको तरलताले सबैभन्दा बढी समस्या पारको छ । यस्तो समयमा यो पनि कुरा गर्दा मनोबल खस्केको पक्का हो ।

भनेको विगतमा व्यवसायीहरुले दोहोरो ब्यालेन्ससिट बनाएर काम गरेका थिए । अहिले सरकारले कर कार्यालयमा बैंकमा एउटै फाइल बुझाउनुपर्ने व्यवस्था गरेपछि व्यवसायीहरु डराएका हुन् ?

म यो भन्दिन । म के भन्छु भने दक्षिण एशियामा हेर्ने हो भने नेपालको जिडिपी दर र करको दर सबैभन्दा बढी छ । त्यसले के देखाएको छ भने नेपालका व्यवसायीहरु कर तिर्न चाहन्छन् । र, नेपालको विकासमा आफ्नो सहभागिता चाहेका छन् । हाम्रो अर्थतन्त्रमा ग्रे इकोनोमी पनि छ । हाम्रोमा ९० प्रतिशत व्यवसाय कम्पलाइन्समा गएको छ भने १० प्रतिशतमात्र बाँकी छ । उनीहरुलाई सिस्टममा ल्याउने प्रयास गरेको हो, जसले एकप्रकारको निराशा छाहेको छ ।

‘ग्रे इकोनोमी’ ठूलो भएको र त्यसलाई नियमनको दायरामा ल्याउदा अन्यौल उत्पन्न भएको हो ?

हामीकहाँ अहिलेसम्म सम्पत्तिको अभिलेखिकरण भएको छैन । सम्पत्तिको अभिलेखिकरण मुद्दा हामीले महासंघबाट उठाउँदै आएका छौं । एक पटक अभिलेखिकरण भयो भने व्यवसायमा अझै पारदर्शीता आउँछ । यो कारण सरकारले यसलाई नियन्त्रण गर्न खोजेको देखिन्छ ।

सरकारले राम्रो नियतले ल्याएको नीतिमा व्यवसायीलाई डराउनु पर्दैन भनेर महासंघले के भूमिका खेल्यो त ?

सरकारले राम्रो नियतले नै यो व्यवस्था गरेको हो । तर, समय खराब भयो । बैंकिङ क्षेत्रमा तरलताको ठूलो समस्या छ । त्यो समस्याले गर्दा व्यवसायीको मुड राम्रो थिएन । त्यसपछि नयाँ नियमहरु आउनु जसले गर्दा व्यवसायिक वृत्तमा निराशा छाएको हो ।


अहिले देखिएका समस्या तरलताको समस्या नभएको भए यो ठूलो हुने थिएन । निराशा पनि छाउने थिएन । तरलता समस्या हुँदाहुँदा यस्ता समस्या आउदा निराशा बढेको छ ।

त्यसोभए सरकारसँग उद्योगी व्यवसायी डराएका होइनन्, केही निराशा मात्रै हो ?

मलाई लाग्दैन डराउनुपर्ने कुनै कारण छ । अनुगमनहरु पहिला पनि भएका थिए । अहिले पनि हुन्छ । हामीले जहिले पनि भनेका छौं कि अनुगमन मर्यादित तरिकाले हुनुपर्छ । अनुगमन गर्दा तार्किक निष्कर्श निस्कँदैन, तबसम्म कुनैपनि व्यवसायीको मान–मर्दन हुनु हुँदैन । यो कुरा हामीले सँधै उठाएको हो । मलाई लाग्दैन डराएको हो भन्ने कुरा । नयाँ नीति नियमहरु आउँदा त्यसलाई कार्यान्वयन गर्न समस्या भएको हो ।

१० प्रतिशत व्यवसायीमात्र प्रणालीमा नआएको भनेर भन्नुभयो । त्यतिलाई मात्र नियन्त्रण गर्न खोज्दा अहिले आर्थिक गतिविधि नै सुस्तता आउनुपर्ने स्थिति आएको हो ?

अहिले बजारमा बिक्री घट्नुको कारण सरकारको नीति नियम मात्र प्रमुख कारण छैन । अरु पनि कारण छन् । त्यसमा अर्को कारण बैंकिङ क्षेत्रको तरलता हो । यो कसरी आयो भने हाम्रो अर्थतन्त्र औसतमा ३/४ प्रतिशतको ग्रोथमा थियो । पछिल्लो तीनवर्षमा अत्याधिक बृद्धि भयो । नाकाबन्दीपछि अर्थतन्त्र बृद्धिदर बढ्यो । ग्रोथ बढी हुँदाखेरी पैसाको माग अत्याधिक बढ्यो । जसले तरलताको ठूलो समस्या आयो । तरलताको समस्याले त्यसले ब्यालेन्स गर्न खोजेको छ । अहिले पनि हेर्ने हो भने हाम्रो ग्रोथरेट अहिलेपनि राम्रो नै छ ।

पछिल्लो समय व्यवसायीहरुले जुन रुपमा थप लगानी गर्नुपर्ने हो, त्यो गरेको देखिँदैन । व्यवसायीहरु पर्ख र हेर भन्ने नीतिमा छन् हो ?

धेरै क्षेत्रमा प्रतिस्पर्धा धेरै नै बढेको छ । उदाहरणको लागि सिमेन्ट र छडको कुरा गरौं । यो २ वटामा हाम्रो उपभोगभन्दा उत्पादनको क्षमता बढी भइसक्यो । त्यसले गर्दा पनि व्यापारी व्यवसायी असजिलो स्थितिमा पुगेका छन् । पछिल्ला ३ वर्षमा निर्माण क्षेत्रको बृद्धिदर अत्याधिक बढी थियो । जसले गर्दा लगानी बढ्यो । त्यो अनुसार बिक्री बढेन । मेरो यो निजी धारणा हो । त्यही हुँदा पनि हामी ग्रोथमा नै छौं । यो कुनै वर्ष कम हुनसक्छ । ‘ओभरहिटेड’लाई त्यही अवस्था कायम रहन्छ भन्ने हुँदैन ।

कर्जाको माग पनि अहिले घटेको देखिन्छ नि ?

हाम्रो बैंकिङ सिस्टम धितोबेसमा ऋण दिने हो । ब्यालेन्ससिट बेसमा ऋण बैंकले दिने गर्दैन । त्यसको अर्थ के हो भने बैंकहरुले बिजनेशमा के रिक्स छ उसले नाफा गर्छ कि गर्दैन भन्नुभन्दा पनि धितोको आधारमा ऋण दिन्छ । धितोको आधारमा ऋण दिँदा बैंकलाई ब्यालेन्ससिटको विषयमा सरोकार थिएन । बैंकले ऋण लिँदा ब्यालेन्ससिटको आधारमा दिने भएको भए त्यही विवरण माग गर्ने थियो होला । उसलाई कुनैपनि मतलब थिएन । बैंकलाई मतलब धितोमा मात्र थियो ।

व्यवसायीमा सम्पत्ति शुद्धिकरणको आतंक, गोल्छा भन्छन्- पहिले अभिलेख त्यसपछि कम्प्लाइन्स

धितोको आधारमा मात्र ऋण जाने हो भने यो सबै समस्या हुन्छ । अहिले बैंकिङ क्षेत्रमा ठूलो चुनौती भनेको ब्यालेन्ससिटलाई आधार मानेर कसरी ऋण दिने भन्ने छ । कसरी यसको जोखिमलाई मूल्यांकन गर्ने छ । अहिले पैसाको डिमाण्ड घटेको छ । त्यसको कारणपनि त्यही हो ।

पछिल्लो समय महासंघको नेतृत्व कमजोर भयो । सरकारसँग अडान लिन सकेन भनेर आलोचना भइसकेको छ । अब तपाईं महासंघको अध्यक्ष बन्दै हुनुहुन्छ । पहिलेको नेतृत्वभन्दा तपाईं कसरी बलियो भएर प्रस्तु हुनुहुन्छ ?

उद्योग वाणिज्य महासंघले काम नगरेको होइन । महासंघले काम गर्ने बेलामा अनावश्यक कुरामा समय खेर फाल्यो । जसले गर्दा सोचे अनुसार काम हुन सकेन । विधान संसोधन एउटा कुरा हो । विधान संसोधनको एउटा विवाद २ वर्षसम्म चलिरह्यो । जसले गर्दा यसबीचमा भएका धेरै राम्रा कामहरु ओझेलमा परे ।

शेखर गोल्छालाई अध्यक्ष बनाउने वा नबनाउनेभन्दा पनि विधान संसोधनको कुरा मात्र बढी चल्यो । उद्योग वाणिज्य महासंघले विधान संसोधन गर्दै छ । त्यसमा विवादहरु बढी छ । त्यो कुरा बढी चर्चामा रह्यो जसले गर्दा हाम्रा राम्रा काम ओझेलमा परे ।

निजी क्षेत्रका धेरै संस्था भएका कारण पनि सरकारसँग बलियो भएर प्रस्तुत हुन नसकिएको हो भन्ने फिल गर्नुभएको छ कि छैन ?

धेरै संस्थाहरु खुलेका छन्, उदेश्य सबैले एउटै बोकेका छन् । त्यो उदेश्य भनेको निजी क्षेत्रको स्वार्थ पुरा गर्ने, निजी क्षेत्रको वाकालत गरेर, म भने त्यसलाई नकारात्मक मान्दै मान्दिन । हाम्रो सयुनियन संस्थाहरुको मुख्य उदेश्यभ नेको के हो भने, निजी क्षेत्रको वाकालत गर्नु हो । संस्था जुन भएपनि त्यसले निजी क्षेत्रको लागी काम गरिरहेको छ भने म त्यसलाई गलत मान्दिन ।
हामीले आफ्नो इगोलाई मात्र हेर्ने हो भने जुन उदेश्यका लागी हामी बनेका छौंँ, कहिलेकाहीँ त्यो उदेश्य ओझेलमा पर्छ । म अध्यक्ष भइसकेपछि मेरो प्राथमिकता निजी क्षेत्रका अरु पनि प्रतिनिधि संस्थाहरुसँग सहकार्य गरेर काम गर्ने हुन्छ । एकता बनाउनका लागि मैले चेम्बर र सीएनआईका अध्यक्षहरुसँग पनि कुरा गरिसकेको छु । म नेत्तृवमा आइसकेपछि मेरो प्रयास भनेको निजी क्षेत्रका नेशनल इन्ट्रेटका विषयहरुमा एउटै विज्ञप्ती निकालेर एउटै आवज उठाऔं भनेर योजना बनाएको छु । त्यो नै मेरो अध्यक्ष भएर गर्ने पहिलो प्राथमिकताको काम हुनेछ ।

तपाईंले महासंघको विधान संशोधन हुन नदिन ठुलो खर्च गर्नुभयो रे नि ? कसलाई कति खर्च गर्नुभयो भन्दिुनुहोस् न ?

तपाईंले डाइरेक्ड प्रश्न गर्नुभयो । मलाई के खुसी लागेको छ भने एउटा सत्बुद्धि हाम्रो महासंघमा आएको छ । सही समयमा त्यो सतबुद्धि आएकोले त्यो सम्भव भएको हो । यसका लागि बजारमा धेरै किसिमका कुराहरु गरिएका छन् । तर एउटा कुरा म के विश्वास दिलाउन चाहन्छु भने महासंघलाई सबै स्टेक होल्डरले कसरी बलियो बनाउन सकिन्छ भनेर सोचेर गहिरो चिन्तन गरेर भएको निष्कर्ष हो यो । मैले कैलाई पनि एक रुपैयाँ दिएको छैन । यो त भ्रामक हल्ला मात्रै हो ।

पैसा खर्च नगरेको भए रातारात विधान संशोधन गर्नुहुँदैन भन्ने सत्बुद्धि रातारात आयो भन्दा कसरी पत्याउने ?

सत्बुद्धि आएर सत्य कुराको जीत भयो, हामीले सँधै भनिरहेका थियो । विधान संशोधन हुनैपर्छ भनेर त्यही भएर सम्भव भयो । गहन फलफल पछि सतबुद्धि आयो । सबैको सतबुद्धि आएकाले महासंघ ठूलो दुर्घटनाबाट बच्यो पनि । म सबैलाई धन्यबाद दिन चाहन्छु ।

महासंघमा तपाईंको टिम कस्तो हुन्छ ?

म अध्यक्ष हुने निश्चय भइसकेपछि जो सुकै टिम आए पनि मैले उनीहरुसँग कार्यएकता बनाउनु नै पर्छ । यसमा पक्ष विपक्ष भन्ने कुरा नै आउँदैन । जो पनि पदाधिकारी भएर आउँछन् वा कार्य समितिमा चुनिन्छन् । उहाँहरु सबैसँग मिलेर महासंघको हक हितका लागि काम गर्छु । किनभने म चुनावमा लड्ने मान्छे हैन । त्यस कारण मैले कसैलाई पक्ष र विपक्ष बनाउन पनि जरुरी छैन । जो आए पनि सहकर्य गरेर निजी क्षेत्रका लागि काम गर्ने हो ।

महासंघमा पनि अलि बढी राजनिती भइरहेको चर्चा चलिरहेको छ, बिगतमा तपाईंलाई जसले सहयोग गरे उनीहरुको गुन त तिर्नु पर्ला नि ?

त्यो गुनको कुरा जहासम्म छ, मलाई यहाँसम्म सहयोग गर्नेलाई मैले धन्यवाद दिएको छु । कुनैपनि पक्ष विपक्ष नगरिकन अब कार्यगत एकताको साथ सहकार्यको नीति लिएर म अगाडि बढ्दै छु ।

तपाईंको बुवा पनि पहिले महासंघको पदाधिकारी हुनुन्थ्यो । तर पछि अध्यक्ष हुन पाउनु भएन । तपाईंले बुबाको सपना पूरा गर्ने अवसर पनि पाउनुभएको छ । व्यवसायीहरुलाई महासंघ मेरो हो भन्ने बनाउन तपाईं के गर्नुहुन्छ ?

यो संस्था मेरो लागि विशेष किन पनि रहन्छ भने यसलाई जन्माउनमा मेरो बाउ–बाजेको ठुलो हात थियो । पहिलो विधानदेखि लिएर नै पुरानो डकुमेन्ट हेर्नुभयो भने तपाईहरुले मेरो बुवाको हस्ताक्षर पनि भेट्नुहुन्छ । यसले के पुष्टि हुन्छ भने मेरो बाउ-बाजेले यो महासंघको लागि रगत पसिना बगाउनु भएको छ । त्यसपछि मेरो अग्रज दाईहरुको योगदान रहेको छ । मेरो लागि उद्योग वाणिज्य महासंग भनेको मन्दिर जस्तै हो । जसमा ५० वर्षभन्दा बढी हाम्रो परिवारले समय दिएको छ । यसको नेतृत्व गर्न पाउनु मेरो लागी यो भन्दा ठुलो कुरा हुनु सक्दैन् ।

उद्योग वाणिज्य महासंघको सार्थकता त्यतिबेला मात्र हुन्छ, जतिबेला ठुला वा साना हरेक उद्योगी व्यवसायीले उद्योग वाणिज्य महासंघलाई शितल छहारीको रुपमा लिन सकोस् । आफ्नो मनमा लागेका कुराहरु यहाँ आएर राख्न सकोस् । र, जति पनि जायज मागहरु हुन्छन् त्यसलाई हामी उठाउन सकेर माग पुरा गराउन सक्नु पर्यो । जबसम्म यो विस्वास हामी हाम्रा सदस्यहरुलाई दिलाउँन सक्दैनौँ तबसम्म महासंघ भएको कुनै अर्थ रहन्दैँन । त्यस कारण मेरो प्रमुख उदेश्य पनि यो नै रहनेछ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स