राष्ट्र बैंकको सक्रियतामा २ महिनाभित्र ४ वाणिज्य बैंक मर्ज हुने, यस्तो छ तयारी



काठमाडौं । नियामक नेपाल राष्ट्र बैंक कमजोर बैंकहरुलाई छानिछानि बलिया बैंकहरुसँग मर्ज तथा एक्वायर गराउन सक्रिय हुन थालेको छ ।

अर्थमन्त्रीले भने- बैंक मर्जर जवरजस्ती हुँदैन

मौद्रिक नीतिमा मर्जरमा जाने संस्थालाई प्रोत्साहन गर्न विभिन्न सहुलियतको घोषणा गरेको राष्ट्र बैंकले पछिल्लो समय बैंकका अध्यक्ष, सञ्चालक र सीइओहरुलाई बोलाएर मर्जरमा जान दबाब दिइरहेको छ ।

राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम, कसलाई कति क्यापिटल चार्ज लगायो ? (सूचिसहित)

राष्ट्र बैंकले करिब एक दर्जन बैंकलाई कमजोर बैंकको रुपमा बर्गिकरण गरेको छ । त्यस्ता बैंकलाई मर्जरमा जानका लागि बढी दबाब दिइरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘हाम्रो उद्देश्य बैंकहरु मर्जर जाउन् भन्ने हो, बैंकहरुले पनि राष्ट्र बैंकसमक्ष मर्जरमा जान तयार रहेको लिखित प्रतिवद्धता बुझाइसकेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘हामीले उक्त प्रतिवद्धताको फलोअप गरिरहेका छौं । राष्ट्र बैंककै पहलमा २ महिनाभित्रै ४ वटा वाणिज्य बैंकबीच मर्जर तथा एक्वायरको सम्झौतामा हस्ताक्षर हुन्छ ।’

ती अधिकारीले बैंकको नाम भने खुलाउन चाहेनन् । तर, अन्तिम पुस्ता र दोस्रो पुस्ताका बैंकबीच मर्जरको छलफलले एउटा प्रक्रिया नै पार गरिसकेको उनले बताए ।

यी १३ बैंकलाई मर्जरमा जान तीब्र दबाब, कुन कुन हुन् ती ? (सूचिसहित)

‘हाम्रो पहलमा छिट्टै बिग मर्जरको सुखःद खबर सुन्न पाइनेछ,’ ती अधिकारीले भने, ‘पहिलो चरणमा यी ४ वटा बैंकबीच सम्झौता भएपछि दोस्रो चरणमा अरु ४/५ वटा बैंकलाई मर्ज गराउन हामी सक्रिय हुन्छौं । यो आर्थिक वर्षमा कम्तिमा ६÷७ वटा बैंकहरुलाई मर्जरमा लैजानेगरी हामी काम गरिरहेका छौं ।’

राष्ट्र बैंकसँग फोर्स मर्जर गर्ने कानूनी अधिकार छैन । तर, बैंकका सञ्चालक र सीइओहरुलाई बोलाएर दबाब दिँदै मर्जर गराउने राष्ट्र बैंकको रणनीति छ ।

मर्जर गराउनकै लागि सबै बैंकसँग ‘क्रसहोल्डिङ’को बिबरण मागेको थियो । तर, राष्ट्र बैंकले सोचे अनुसारको ‘क्रसहोल्डिङ’को बिबरण नआएपछि दबाब दिएर मर्ज गराउने बिकल्प रोजेको हो ।

राष्ट्र बैंकका अधिकारीहरु वाणिज्य बैंकको संख्या १२ देखि १५ वटामा झार्नेगरी काम गरिरहेको बताउँछन् ।

‘अर्थमन्त्रीजीले बजेटमा बिग मर्जरको कुरा लेखेपनि मौद्रिक नीति बनाउने क्रममा बिग मर्जरलाई उहाँको सहयोग भएन,’ स्रोतले भन्यो, ‘अर्थमन्त्रीको सहयोग भएको भए राष्ट्र बैंकले यतिबेलासम्म धेरैवटा संस्थालाई फोर्स मर्ज गराइसकेको हुन्थ्यो ।’

कतिपय बैंकहरुले पुाजी बढाए पनि जोखिम बहन गर्नसक्ने क्षमता नबढाएका कारण त्यस्ता बैंकलाई मर्जरमा लानुको बिकल्प नभएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘हामीले बैंकका साथीहरुलाई बोलाएर सम्झाइरहेका छौं, सम्झाउँदा नमान्नेलाई राष्ट्र बैंकले कम्लाइन्समा कुनैपनि कम्प्रमाइज गर्दैन,’ ती अधिकारीले भने, ‘हामीले केही कम्प्रमाइज गरिदिएका कारण धेरै बैंकहरु कारबाहीमा पर्नबाट बचेका हुन् ।’

धेरै बैंकलाई एकैपटक कारबाही गर्दा बजारमा नकरात्मक सन्देश जाने र त्यसले वित्तीय स्थायित्वमा असर पार्नसक्ने संभावनालाई मध्यनजर गर्दै राष्ट्र बैंकले ‘सम्झाउने’ अर्थात् थर्काउने नीति लिएको हो ।

गभर्नर डा. चिरञ्जीबी नेपाल आफ्नै कार्यकालमा ५/७ वटा वाणिज्य बैंकले मर्जरको सम्झौता गरेको हेर्न चाहन्छन् । जसकारण राष्ट्र बैंकले कमजोर बैंकहरुलाई बढी दबाब दिइरहेको छ ।


पुष्प दुलाल