बैंकास्योरेन्स बन्द गर्नु गलतः अध्यक्ष चापागाँई



काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले बैंकास्योरेन्स तत्काल बन्द गर्न नमिल्ने बताएका छन् । बैंकिङ् एक्स्पोमा आयोजित छलफल कार्यक्रममा समितिका अध्यक्ष चापागाँईले तत्काल बैंकास्योरेन्स बन्द गर्न नमिल्ने तर यसलाई निमयन गर्ने बताएका हुन् ।

‘बैंकले बैंकको काम गर्ने हो, बीमाले बीमाको काम गर्ने हो’ अध्यक्ष चापागाँईले भने ‘तर बैंकास्योरेन्स बन्द नै गर्न मिल्दैन, यसलाई नियमन गर्दै जानुपर्छ ।’ बैंकले बीमा गर्ने भनेर प्रचार गरेको विषयमा ८, १० दिनमा नै बीमा समितिले केही निर्देशन जारी गर्ने समेत अध्यक्ष चापागाँईले बताए ।

एकै पटक बैंकास्योरेन्सको ढोका बन्द गर्दा विदेशी निकायले प्रश्न गर्ने भएकोले तत्काल बन्द भन्दा पनि नियमन आवश्यक भएको जानकारी गराए । उनले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंकास्योरेन्स बन्द गरेको स्मरण गराए ।

उनले बैंकमा खाता खोल्नासाथ सित्तैमा बीमा गरिदिन्छौं भनेर कुनै बैंकले पनि प्रचार प्रसार गर्न नहुने बताए । अहिले बैंकहरुले बीमा गर्ने भनेपनि त्यो घुम्दै बीमा कम्पनीमा नै आउने गरेको समेत उल्लेख गरे । बैंकले बीमा कै प्रचार गरेपनि त्यसले केही भ्रम सृजना नहोस भन्ने बीमा समितिको अपेक्षा रहेको उनको भनाई छ ।

अध्यक्ष चापागाँईले अहिलेसम्म बीमा क्षेत्रको जागरण २६ प्रतिशत रहेको उल्लेख गरे । असोजमसान्तसम्ममा यो २४ प्रतिशत रहेको उनको भनाई छ ।

अहिले बीमा कम्पनीहरुले बैंकमा पैसा राख्ने गरेको र त्यो पैसा अन्य प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगरेको खण्डमा बीमा कम्पनीहरु नै फ्लप हुने धारणा राखे । उनले भने ‘अहिले त केही बीमा कम्पनीहरुले लाभांशको योजनाले सबैलाई आकर्षण गर्न खोजेका छन्, त्यसले सबैलाई आकर्षण गर्न नसक्ने पनि उल्लेख गरे ।

अहिले बीमाको विषयमा हुने पढाई अमेरिकी शैलीमा भएको र बीमा यूरोपियन शैलीमा भएको कारण समस्या भएको उनको तर्क छ । अध्यक्ष चापागाँईले भने ‘बीमा र त्यसको पढाइमा एकरुपता ल्याउन हामीले विद्यालय तहमा एक खालको, दश जोड २ मा, बीए तहमा, मास्टर तहमा कसरी पढाउने भनेर मोडल तयार पार्दैछौं ।’

संघीय संसद अन्तर्गतको अर्थ समितिमा बीमा ऐनका विषयमा छलफल चलिरहेको र आउने वर्षसम्म त्यो ऐन आउने र त्यसमा एजेन्टको विषयमा पनि प्रष्ट हुने तर्क गरे । उक्त ऐनमा एउटा बीमा कम्पनीको अभिकर्ता अर्कोमा जान नपाउने एउटामा मात्रै रहनु पर्ने व्यवस्था गरेको समेत जानकारी गराए ।

बीमा समितिले लगानी निर्देशिका जारी गरेको र त्यसमा बीमा कम्पनीले बैंकको ऋणपत्रमा लगर्न गर्न सक्ने व्यवस्था गरेको पनि जानकारी गराए । अध्यक्ष चापागाँईले १९ वटा जीवन बीमा कम्पनीमा २ वटाको मात्रै एक्चुरी भ्यालुएसन हुन बाँकी रहेको र केही दिनमा त्यो पनि सकिने जानकारी गराए ।

कार्यक्रममा सहभागीहरुले बैंकले बैंकास्योरेन्स गर्दा कर्मचारीलाई यति पोलिसी बेच्नु पर्छ भनेका कारण उनीहरुलाई रातभरी निन्द्रा नलाग्ने समस्या अहिले केहिहदसम्म कम भएको बताएका थिए । बीमा कम्पनीले १२ प्रतिशत निक्षेपमा बैंकमा पैसा राख्ने र त्यही बैंकले बीमा गर्न थालेपछि बीमा कम्पनीको आवश्यक नभएको जस्तो देखिएको बताए ।

अर्का एक सहभागीले केही बैंकले खाता खोलेपछि ३० लाखसम्मको बीमा हुन्छ भनेर प्रचार गरेका छन ? त्यो हुने हो की नहुने भन्दै प्रश्न गरेका थिए ।


क्लिकमान्डु