करोडौं कमाउने बैंकका सीइओले दशैंमा कति दक्षिणा दिन्छन् ?



काठमाडौं । जागिर खाएर कसैले धेरै पैसा कमाउँछ भने त्यो हो बैंकको प्रमुख कार्यकारी अधिकृत अर्थात् सीइओ । किनभने संसारभर सबैभन्दा बढी तलब बैंकका सीइओकै हुन्छ । सामान्यतया नेपालका वाणिज्य बैंकका सीइओको तलब महिनाको ६/७ लाखदेखि २०/२२ लाख रुपैयाँ छ ।

बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

वार्षिक करोडौं रुपैयाँ तलब लिने बैंकरहरुको दशैं कस्तो हुन्छ उनीहरुले दक्षिणा कति दिन्छन र लिन्छन ? भन्ने जिज्ञाशा सबैमा हुन्छ । हामीले यस विषयमा जानकारी दिने उद्देश्यले केही बैंकका सीइओहरुसँग कुराकानी गरेका छौं ।

ज्ञानेन्द्र ढुंगाना अध्यक्ष, बैंकर्स संघ

हाम्रो घरमा दक्षिणाको रेट नै १०० रुपैयाँ छ । मैले अहिलेसम्म १०० रुपैयाँभन्दा कम र धेरै दक्षिणा दिएको छैन । मेरा ससुरालीले त मलाई अहिले पनि दक्षिणामा १० रुपैयाँ दिन्छन् ।

दक्षिणा दिएर कहिल्यै कोही गरिब हुँदैन । र, दक्षिणा पाएर पनि कोही धनी हुँदैन भन्ने मेरो मान्यता हो । त्यसैले दशैंको दक्षिणालाई आशीर्वादका रुपमा लिनुपर्छ ।

बुबाको पालामा त, उहाँले आफ्नो इच्छाअनुसार फरक-फरक दरले दक्षिणा दिनुहुन्थ्यो । पुराना साथीभाइसँग भेटघाट गर्ने, तास खेल्ने, एक/दुई पेग हृवीस्की लगाइन्छ ।

किरण कुमार श्रेष्ठ सीइओ, राष्ट्रिय वाणिज्य बैंक

मेरो पुर्खौली घर संखुवासभा चैनपूर हो । मेरो घरपरिवार आफन्त सबै यतै भएकाले यो वर्षको दशैंमा काठमाडौंमै बस्छु । दशैंको बिदाभरी म काठमाडौभित्र भएका सबै सांस्कृतिक पिठ तथा मन्दिरहरु दर्शन गर्ने कार्यक्रम बनाएको छु । म तास पनि खेल्दिन । रक्सी पनि खाँदिन । त्यसैले दशैं बिदा अध्ययन गरेर बिताउने सोच बनाएको छु । हामी घरमा काटमार पनि गर्दैनौ ।

मेरो ससुराली धरान हो । टिकाको भोलिपल्ट टिका थाप्न ससुराली धरान जान्छु । ससुरालीले यति नै दक्षिणा दिनुभयो भनेर हेरेको छैन् । खाममा हुन्छ नहेरी नै राख्छु । मैले भने सामान्यतयाः टिका लगाइदिँदा ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म दिने गरेको छु । त्यसमा छोरी ज्वाँइलाई दिने दक्षिणा भने अलिकति बढी हुन सक्छ ।

पर्शुराम कुवँर क्षेत्री सीइओ, जनता बैंक

म दशैंमा सर्लाही जान्छु । फूलपातिको दिन परिवारसँग दशैं मनाउँछु । मलाई दशैं रमाइलो लाग्छ । दशैंमा टिका लगाउँछु र अरुलाई पनि टिका लगाइदिन्छु । टिका र आशीर्वादसँगै दक्षिणा पनि लिने दिने चलन छ । तर डिजिटल दक्षिणा भने दिने गरेको छैन । दक्षिणा दिँदा २०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म दक्षिणा दिने गरेको छु ।

मैले पाउने पनि त्यस्तै हुन्छ । दक्षिणाको विषयमा मलाई एउटा कुरा याद छ, सानो छँदा मलाई हजुरबुबाले एक सुका दिन्छु भनेर २ पैसा दिनु भएको थियो । छोरीहरुलाई २ सुका दिएर मलाई २ पैसा दिनुभएको थियो । त्यसबेला म निकै रिसाएको थिएँ ।

भुवन दाहाल- सीइओ, सानिमा बैंक

दशैंमा बुबा-आमाले टिका लगाइदिनुहुन्छ । म बुबा, आमालाई ४०/५० हजार रुपैयाँ दिन्छु । मेरो मम्मी अलि बढी खर्च गर्न रुचाउनुहुन्छ ।

म दारु पनि नखाने र माछा मासु पनि नखाने म जस्तालाई दशैं खाली भेटघाट मात्रै हुँदोरहेछ । म आफूले १ हजार रुपैयाँ दक्षिणा पाउँछु । र, मैले पनि १ हजार रुपैयाँ नै दिन्छु । मैले पाएको दक्षिणा खाम नै नखोली श्रीमतीलाई दिन्छु । कति हुन्छ भनेर म हेर्दै हेर्दिन । खास दक्षिणा कति आउँछ भनेर श्रीमतिलाई नै थाहा होला ।

गोविन्द ढकाल सीइओ, गरिमा विकास बैंक

मेरो घर स्याङ्जा हो । विगतका ५ वटा दशैं देश बाहिर नै भयो । यो पटकको टिकाको भोलिपल्टसम्म परिवारसहित विभिन्न ठाँउ घुम्ने कार्यक्रम बनाएको छु । पूmलपातीदेखि दशैं सुरु हुन्छ । म दशैंमा तास खेल्दिन । हुस्की भने २/४ प्याग लिन्छु । अहिले डिजिटल दक्षिणाको कुरा चलिरहेको छ । तर मैले नगद दक्षिणा नै दिन्छु । सबै ठाँउमा इन्टरनेटको सुविधा हुँदैन । अहिले नै डिजिटल दक्षिणा लिने र दिने बेला आएको छैन । त्यो संस्कार आउन अझै ३/४ वर्ष लाग्छ ।

दशैंमा मैले आमा, बुवा, ४ जना दाई भाउजु काका–काकी गरेर लगभग २० जना जतिको हातबाट टिका थाप्छु भने ६० जना जतिलाई टिका लगाइदिन्छु । टिका लगाउन आउनेहरुलाई ज्वाँइचेलाहरु र भान्जा-भान्जीलाई १ हजार रुपैयाँसम्म र नातानातिनीहरुलाई १ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म दक्षिणा दिने गरेको छु । मेरो ससुराली पनि स्याङ्जा नै हो । ससुरालीबाट भने म दक्षिणा लिन्न ।

मनोज ज्ञवाली सीइओ, ज्योति विकास बैंक

मेरो पुर्खौली घर बर्दिया हो । फूलपातीको दिन सबै परिवार बर्दिया जान्छौँ । पहिले ८/१० दिन दशैं बिदा हुन्थ्यो । घुम्न जानका लागि समय पनि हुन्थ्यो ।

अब त दशैं बिदा पनि काटिएको छ । बिदा नै थोरै हुने भएकाले कतै घुम्न जाने समय नै हुँदैन । बैंकरहरुको यो बर्षको दशैं तनावपूर्ण नै छ । पहिलो त्रैमासको मुखैमा दशैं भएर रिपोर्ट बनाउनु पर्नेको चपेटा छ । दशैंमा काटमार म गर्दिन ।

दशैंमा टिका लगाएर नयाँ नोट दिनु पर्छ भन्ने मान्यताको विरोध गर्छु । नयाँ नोट दिँदैमा नयाँ नोटको भ्यालु धेरै हुने होइन् । पुरानै सुकिला नोटहरु दक्षिणा दिदाँ पनि हुन्छ । म दशैंमा टिका लगाएर धेरै दक्षिणा दिनेभन्दा पनि दस्तुरमा मात्र दक्षिणा दिएर पछि दशैं उपहार दिँदा पनि हुन्छ ।

मेरा ४ जना बाहिनी ज्वाँई हुनुहुन्छ । उहाँहरुलाई टिका लगाएर ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म दक्षिणा दिन्छु ।

मैले आजसम्म कति दक्षिणा पाएँ भनेर हेर्ने गरेको छैन । ससुराली मेरो लखनउ हो । ससुरालीले खाममा हालेर दक्षिणा दिनु हुन्छ, कति दिनु भयो नहेरी गोजीमा राख्छु । दशैंमा दक्षिणाभन्दा पनि मूख्य आशीर्वाद हो ।

रमेश अर्याल सीइओ, एनसीसी बैंक

यो वर्ष मेरो दशैं छैन । घरपरिवारसँगै बसेर मनाउँछु । मैले दक्षिणा दिनुपर्दा बढीमा १ हजार रुपैयाँसम्म दिएको छु । र, मैले पनि १ हजार रुपैयाँ दक्षिणा पाएको छु । दक्षिणा भनेको पैसा कमाउने कुरा होइन, आशीर्वाद लिने कुरा हो ।


क्लिकमान्डु