अर्थमन्त्रीको महत्वकांक्षी राजस्व संकलनमा खतराको संकेत, साउन महिनामा लक्ष्य पुरा नहुने



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजस्व संकलनको लक्ष्य यो वर्ष पनि पुरा हुन कठिन हुने देखिएको छ ।

यो वर्ष सरकारले ११ खर्ब १२ अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जसमा राजस्व बाँडफाँट १ खर्ब ३० अर्ब रुपैयाँ हुने छ भने संघिय कोषमा ९ खर्ब ८१ अर्ब रुपैयाँ दाखिला हुनेछ ।

साउन महिनामा सरकारले ८५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । अहिलेसम्ममा ६४ अर्ब १४ करोड रुपैयाँमात्र राजस्व संकलन भएको छ । साउन मसान्तसम्ममा बढीमा ७० अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान राजस्वका अधिकारीहरुको रहेको छ ।

सरकारको लिएको लक्ष्यमा भन्सार महशुलको लक्ष्यमा ठूलो ‘ग्याप’ साउन महिनामा देखिएको छ । सरकारले साउन महिनामा १६ अर्ब ८० करोड रुपैयाँ भन्सारको लक्ष्य निर्धारण गरेको थियो । अहिलेसम्ममा ९ अर्ब ६९ करोड रुपैयाँमात्र राजस्व उठेको छ ।

यस्तै साउन महिनामा २९ अर्ब ७७ करोड रुपैयाँ मूल्य अभिबृद्ध कर(भ्याट) वापत उठाउने लक्ष्य राखिएको थियो । जसमा २२ अर्ब ९६ करोड रुपैयाँ अहिलेसम्म संकलन भएको छ ।

अन्तशुल्क तर्फ ११ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य साउन महिनामा थियो । जसमा अहिलेसम्म ७ अर्ब रुपैयाँमात्र संकलन भएको छ ।

आयकर तर्फ १८ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १४ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व अहिलेसम्म उठेको छ । अन्य करको लक्ष्य अनुसार राजस्व उठेको छैन ।

‘साउन महिना आर्थिक गतिविधि कम हुने राजस्व लक्ष्य नपुग्दा आत्तिनुपर्ने अवस्था छैन,तर,लक्ष्य ठूलो भएको हुँदा चुनौती भने धेरै रहेको छ,’ राजस्वका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

गत आर्थिक वर्षमा पनि अर्थमन्त्री खतिवडा राजस्व संकलनमा असफल भएका थिए । संसद्ले पारित गरेको बजेटको लक्ष्य अर्थमन्त्री खतिवडाले मध्यावधी समीक्षामार्फत पत्रकार सम्मेलन गरेर घटाएका थिए । मध्यावधी लक्ष्यमा घटाइएको राजस्व पनि संकलन भएको थिएन ।

अर्थमन्त्री खतिवडाले गतवर्ष ऐन बनाउनको लागि काम गरेको हुँदा लक्ष्य अनुसार राजस्व नउठेको बताएका थिए । यसबाहेक गाडी लगायत बिलासी बस्तुको आयातमा कडाई गर्दा राजस्व नउठेको खतिवडाले बताएका थिए ।


पुष्प दुलाल