२० लाख पर्यटक ल्याउन सकिन्छ तर कनेक्टिभिटी सहज हुनुपर्छ: नाट्टाका अध्यक्ष सीएन पाण्डे



विगत लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध भइ अनुभव संगालेका सीएन पाण्डे नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा)का अध्यक्ष हुन । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ । २० लाख पर्यटक ल्याउनका लागि के गर्नुपर्छ र कत्तिको सम्भव छ भन्ने विषयमा क्लिकमाण्डूले सीएन पाण्डेसँग लिएको अन्तरवार्ताको सम्पादित अंश ।

सीएन पाण्डे
अध्यक्ष, नाट्टा

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटन ल्याउने लक्ष्य लिएको छ ? यसमा नाट्टाले कसरी हेरिरहेको छ ?

भर्खरै पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त हुनु भएको छ । मन्त्रीज्यूले अहिले निजी क्षेत्र तथा पर्यटन व्यवसायीहरुसँग छलफल सुरु गर्नु भएको छ । भ्रमण वर्ष सफल बनाउनका लागि सुझाव पनि मागिसक्नु भएको छ । हामीले पनि दिइसकेका छौं ।

अहिलेको समस्या भनेको कनेक्टिभिटीको हो । भूमिबाट आउने संरचना बलियो छैन् । अर्को हवाई माध्यम हो । यसका लागि अहिले हवाई खर्च निकै महंगो छ । साथै हामीसँग पर्याप्त उडान छैनन् । यसले हामीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गराउन सकेका छैनौं ।

त्रिभुवन विमानस्थललाई २४ घण्टा नै चलाउनुपर्ने आवश्यक छ । हवाई यात्रा महंगो हुनुमा हवाई इन्धन पनि महंगो छ । नेपालमा हवाई इन्धन निकै महंगो छ । अन्य देशको तुलनामा ९० प्रतिशतसम्म इन्धन महंगो छ । यसले यात्रुको टिकटलाई महंगो बनाएको छ । त्यसैले स्वचालित मूल्यका आधारमा इन्धनको मूल्य निर्धारण गर्नुपर्छ ।

२० लाख पर्यटक ल्याउनका लागि कत्तिको सम्भव देख्नुहुन्छ ?

पक्कै पनि सकिन्छ । तर त्यसका लागि हामीले सुरु मै हवाई इन्धनको मूल्य स्वचालित प्रणालीका आधारमा समायोजन गर्नुपर्छ । हाम्रो सिजन बनेको अक्टोबर–नोभेम्बरमा हो ।

त्यो समयमा विदेशमा बस्ने नेपालीहरु दशैं र तिहार जस्ता पर्वमा आउने संख्या पनि धेरै हुन्छ । जसले गर्दा टिकटको समस्या हुन्छ । त्यसका लागि हामीकहाँ आउने पर्यटकको देशहरुमा डाइरेक्ट फ्लाइट गर्न सक्नुपर्छ । स्वदेशमा पर्यटकलाई सेवा दिनका लागि तयार छन् ।

इन्धन मूल्य घट्नुपर्छ भन्ने आधारमा टिकट सस्तो हुन्छ भन्ने ग्यारेन्टी पनि त भएन ?

यसका लागि हामीले उडानहरु बढाउनु पर्छ । अहिले उडान संख्या कम हुँदा टिकट पाउने संख्या बढ्छ । त्यस्तै, इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसारको हुँदा टिकटको मूल्यमा केही न केही फरक पर्छ । विमानहरुको एकाधिकार भएको ठाउँमा हामीले विमानको विकल्प दिन सकियो भने प्रतिष्पर्धाका आधारमा मूल्य पक्कै पनि घट्छ ।

चीनबाट आउने पर्यटक अहिले धेरै देखिए पनि चीनको दृष्टिकोणबाट हेर्दा त्यो निकै कम हो । हवाई भाडा कम भयो भने चीनबाट आउने पर्यटकमा ३ देखि ४ गुणासम्म बढाउन सकिन्छ । यसका लागि तातोपानी नाका र रसुवा नाकाबाट आउने वातावरण बनाउनु पर्छ ।

पर्यटक संख्या मात्रै बढाएर भएन खर्च गर्न सक्ने पर्यटक कसरी ल्याउने ?

विदेशी पर्यटक नेपाल आउँदा उसको धेरै बजेट हवाई यात्रामा जान्छ ।

आन्तरिकतर्फको उडानको हकमा पनि हामीकहाँ विदेशीलाई बढी भाडा लिइन्छ । यो व्यवस्था अफ्रिकाका केही देशमा बाहेक २ थरी भाडा अन्य देशमा भएको पाइँदैन् ।

सुरुमा भाडा निर्धारण गर्दा नेपालीहरु कम हवाई यात्रा गर्छन र उनीहरुलाई सहज बनाउनका लागि विदेशीसँग फूल भाडा लिने र नेपालीलाई सस्तो दरमा टिकट उपलब्ध गराउने आधारमा निर्धारण गरिएको हो । तर अब विदेशी र स्वदेशीलाई एउटै भाडा निर्धारण गर्नुपर्छ । र, यो हाम्रो अहिलेको माग पनि हो ।

अन्तर्राष्ट्रिय बजारबाट प्रति पर्यटक १ हजार डलर खर्च गरेर नेपाल आइसकेपछि पर्यटकलाई खर्च गर्ने ठाउँ बनाउनुपर्छ । यसका लागि रातिमा १० बजेपछि खर्च गर्न पाउँदैनन् । पर्यटकहरु सुत्न त आउँदैनन, दिनभरी घुमेपछि रातिमा खर्च गर्ने ठाउँ छैनन् । सरकारले विभिन्न ठाउँमा पर्यटकले खर्च गर्न सक्ने पूर्वाधारमा खर्च गर्नुपर्छ ।

पर्यटकलाई खर्च गर्ने बनाउनका लागि के गर्न सकिन्छ ?

अहिले हामीसँग प्राकृतिक रुपमा बनेका ठाउँ मात्रै देखाउन सकिएको छ । मानव निर्मित संरचनाहरु छैनन् । जहाँ गएर पर्यटकले खर्च गर्न सकुन । रमाउन सकुन । आजका दिनमा पेरिसको आईफल टावरमा कति धेरै पर्यटक छन् ।

जहाँ पेरिस जाने पर्यटकले खर्च गरेकै हुन्छ । त्यसैले हामीले नेपालमा पनि त्यस्ता प्रकारका रमाउने र खर्च गर्ने पूर्वाधारहरु निर्माण गर्न सक्नुपर्छ ।

र, ती ठाउँमा पर्यटक जाने अवस्था हुनुपर्छ । साथै पर्यटकको बसाइ लम्बाउनका लागि नियन्त्रित रुपमा रहेका हिमाल, निकुञ्ज खुला गर्नुपर्छ र टिकको अवधी एक दिनबाट बढाउनुपर्छ । एक दिनमा मात्रै घुमेर नसकिने ठाउँमा टिकटको अवधी पनि बढाउनुपर्छ ।

भिसा शुल्कको विषयमा पनि बहस उठिरहेको छ, त्यसमा के भन्नुहुन्छ ?

सरकारले भिसा शुल्क बढाउने होइन, घटाउनु त पर्छ नै । त्यसबाहेक पनि जानकारी पुर्याउन सक्नुपर्छ । पर्यटकसँग पुग्ने गरी प्रचार प्रसार गर्न सक्नुपर्छ । जस्तो अहिले चिनियाँ पर्यटकलाई भिसा शुल्क लाग्दैन र पनि सोचे जस्तो पर्यटकहरु आएका छैनन् । त्यसैले प्रचार प्रसारमा बढी जोड दिनुपर्छ ।

भिसा शुल्क पनि धेरै पर्यटक आउने मुलुकका पर्यटकका लागि निशुल्क गर्नुपर्छ । कम्तीमा पर्यटन वर्षका लागि हामीले शुल्क निशुल्क गर्न सकियो भने राम्रो हुन्छ ।


क्लिकमान्डु