पुँजीगत लाभकर विवादः सेबोन अध्यक्ष र प्रवक्तासँग लगानीकर्ताको छलफलमा के भयो ? (अडियोसहित)



काठमाडौं । पुँजीगत लाभकरको विषयमा देखिएको अन्योलता नहटेपछि सोमबार लगानीकर्ताहरुले धितोपत्र बोर्ड पुगे । लगानीकर्ताले बोर्डका अध्यक्ष रेवत बहादुर कार्की र प्रवक्ता निरज गिरीसँग भेट पनि गरेका छन् ।

उक्त भेटमा लगानीकर्ताहरुले धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा गलत तथ्याङक उपलब्ध गराएको भन्दै आक्रोश पोखे । लगानीकर्ताका ४ वटा संगठनका अधिकारी र बोर्डका अध्यक्ष कार्की र प्रवक्ता गिरीबीच भएको छलफलको अडियो क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

त्यही अडियोलाई आधार मानेर यो समाचार तयार पारिएको हो ।

छलफलमा लगानीकर्ताहरुले आफूले सेयर बिक्री गर्दा खरिद मूल्य पेस गर्न सक्नुपर्ने र त्यो मूल्य पेस हुन नसके प्रतिसेयर अंकित मूल्य एक सयका दरले भारित औसत लाभकर गणना गर्नुपर्ने भन्दै त्यसो हो भने लगानीकर्ताले विगत १ वर्षदेखि आन्दोलन गर्नुको जरुरी रहेको बताए ।

लगानीकर्ताहरुले यो गर्न नसक्ने भएको कारण बोर्डमा बारम्बार छलफल गर्न आएको पनि उनीहरुले जानकारी गराए ।

‘बोर्डले मन्त्रालयमा यहि खालको कुराको रिपोर्टिङ गरेको हो वा के हो ?’ लगानीकर्ताले सोधे ।

लगानीकर्ताले धारणा माग्नासाथ बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले त्यस विषयमा जानकारी गराए ।

‘मन्त्रालयले नै निर्णय गर्नु भनेको हामीले भनेको हो मन्त्रालयको आदेशले गर्दा गरेको हो । हामीलाई त नियमन निकाय लगानीकर्ताको पछि लागेर हिँड्छ भनेर भन्नु भएको छ । हामीले मन्त्रालयमा जे तथ्याङ्क दिएका हौं, त्यो निर्णय हैन सुझाव मात्रै हो,’ बोर्डका अध्यक्ष कार्कीले भने, ‘हामीलाई मन्त्रालयले समस्या समाधान गर्नु भनेर चिठी लेख्नुभयो, त्यसपछि हामीले बोर्डमा लैजाने हो । हामीले पहिला १ राउण्ड छलफल गर्यौं, अनि अर्को राउण्ड पनि छलफल गरेपछि बोर्डमा लैजाने भनेको हो । बोर्डमा पनि १ जना खाली हुनुहुन्छ, १ जना निजी क्षेत्रको प्रतिनिधि शेखर गोल्छाजी आँउदै आउनुहुन्न ।’

बोर्डले बोर्ड भन्दा पनि सञ्चालकको निर्णय अनुसार मन्त्रालयलाई जानकारी गराएको कार्कीले लगानीकर्तासँग बताए ।

कार्कीले भनेको कुरा नबुझेको भन्दै लगानीकर्ताले यसको वास्तविक कुरा बताउँदै लगानीकर्ताले के गरिदिनुपर्ने हो ? भनेर आग्रह गरे । लगानीकर्ताको आग्रहपछि प्रवक्ता निरज गिरीले साउन २४ गतेको निर्णय पढेर सुनाए ।

गिरिले पढेर सुनाएको चिठ्ठी यसप्रकार छः

नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा।

पुँजीगत लाभकर तिर्ने प्रयोजनका लागि सेयर खरिदकर्ता तथा बिक्रेताबीच मूल्य सम्बन्धी केही अनिश्चितता भई सेयर कारोबार प्रभावित भइरहेको बुझीएकोले यसमा के भएको हो ? सरोकारवालासँग छलफल र समन्वय गरी गरी ३ दिनभित्र समस्या समाधान गरी मन्त्रालयमा जानकारी गराउनु धितोपत्र सम्बन्धी ऐन-२०६३ को दफा ११३ बमोजिम निर्देशन दिएको व्यहोराको मिति २०७६/४/२२ मा प्राप्त पत्रको सन्दर्भमा के कस्ता समस्या रहेका छन् र समाधानको लागि के कस्ता विकल्प हुन सक्छन भन्ने बारे नेपाल स्टक एक्सचेन्ज लि र सिडिएससीका प्रमुख कार्यकारी अधिकृतसँग जानकारी माग गरियो ।

जानकारी दिने क्रममा दुवै संस्थाका कार्यकारीका प्रमुखले आफ्नो संस्थाको तर्फबाट यस समस्याको विश्लेषण गरी समाधानको लागि विभिन्न विकल्पसहितको प्रतिवेदन र सुझाव पेश गर्नुहोला । साथै २०७६ साउन १ देखि साउन २३ गतेसम्मको सेयर खरिदबिक्री कारोबारको अवस्था बारे जानकारी गराउनु पर्ने ।

जानकारी गराउने क्रममा २०७५ साल साउनको पहिलो २३ दिनमा दैनिक औसत सेयर कारोबार खरिद बिक्री संख्या ३२१३ भएको र २०७६ असारको पहिलो २३ दिनमा दैनिक औसत सेयर खरिद बिक्री ६४४० भएको तथा चालु आर्थिक वर्षको साउनको २३ दिनमा दैनिक औसत कारोबार संख्या ७४५० भएको विवरण प्रस्तुत गर्नुभयो ।

त्यस्तै सिडिएससीका कार्यकारी प्रमुखले नेप्सेमा २०७६ साउन १ देखि यता भइरहेको राफसाफ उक्त लिको विनियमावलीमा व्यवस्था भए अनुसार टि प्सल थ्रिमा नै भइ प्रचलित आएकर ऐनमा भएको व्यवस्था अनुरुप पुँजीगत लाभकर उठिरहेको व्यहोरा जानकारी गराउनुभयो ।

यसरी साउनको पहिलो २३ दिनको कारोबार विगतको वर्षहरुको सोहि अवधिको कारोबार भन्दा तुलनात्मक रुपमा बढेकोले सेयर खरिद बिक्रीका कुनै नकारात्मक प्रभाव नपरेको देखिएको र सेयर बिक्रीकर्ताबाट आयकर ऐनमा भएको व्यवस्था अनुरुप भारित औषसमा आधार मानी सिडिएससीले पुँजीगत लाभकर सेयर बिक्रेताको मञ्जुरीमा कट्टी रहेको व्यवस्थाले यसै अनुरुप जानु पर्ने भएको छ ।

उद्यपि हाल भारित औषत गणना विधि लगानीकर्ताहरु धितोपत्र दलाल व्यवसायीको कार्यालयमा गई धितोपत्र खरिदको प्रमाणीत गर्नु पर्ने हालको व्यवस्था झण्झटिलो देखिएकोले सोलाई सरल र सहज रुपमा गर्न सक्ने व्यवस्था यथाशिघ्र नेप्से र सिडिएससीलाई गर्न निर्देशन दिने र उपयुक्त सन्दर्भमा नेपाल सरकार अर्थ मन्त्रालयलाई जानकारी गराउने निर्णय भयो ।’

गिरीले बोर्डबाट मन्त्रालयलाई पठाएको पत्रको जानकारी गराएपछि लगानीकर्ताले आफ्नो धारणा राख्न थाले त्यो क्रममा लगानीकर्ताले कारोबार उल्लेख्य पमा भएको बोर्डले देखेको बताए ।

बोर्डले २३ दिनमा केही पनि समस्या नदेखेको भन्दै लगानीकर्ता आक्रोशित भए । १ गतेबाट सुरु भएपछि लगानीकर्ता बोर्डमा ८ गते आएको र त्यो दिन नेप्से, सिडिएसले लगानीकर्ताको हितको विषय मन्त्रालयमा लैजान्छौं भनेर सहमति गरेको बताए ।

ती लगानीकर्ताले बोर्डले शैदान्तिक जालझेल गरेको आरोप लगाए । ८ गतेको निर्णय मन्त्रालयमा नपठाएर समस्या सृजना भएको लगानीकर्ताले आरोप लगाए । त्यो निर्णय मन्त्रायमा नपठाउनको कारण बारे माग गरे ।

बोर्डले ८ गते भएको निर्णय मन्त्रालयमा सिफारीस गर्ने भनेर सबैको अगाडी लगानीकर्ताका संगठनलाई पंगु बनाएको भन्दै आक्रोशित समेत भए ।

एक लगानीकर्ताले अब बढीमा ८ महिना मात्रै यस्ता समस्या भोग्ने धारणा राखे ।

लगत्तै अध्यक्ष कार्कीले भने- ‘मन्त्रालयबाट चिठी आएपनि पुँजीगत लाभकर लिने प्रयोजनको लागि के भएको हो सरोकारवालासँग छलफल गर्न भनेकोले पुँजीगत लाभकरको विषयमा निर्णय गर्ने अधिकार बोर्डलाई छैन ।’

कार्कीले आर्थिक ऐन अनुसार वा आयकर ऐन अनुसार हुने भएकोले हामीले गर्न नसक्ने भएकोले बोर्डमा छलफल गरेको बताए ।

फेरि लगानीकर्ताले साउन महिनाको कारोबार सान्जेन र रसुवागढीको सूचिकृत भएर बढेको जानकारी गराए । यस्तो कारोबारलाई आधार मानेर सेयर बजारमा समस्या नभएको महशुस भएको भन्दै बोर्डलाई धन्यवाद नै दिए ।

बजारमा समस्या नै नभएको हो हैन त्यो विषयमा बोर्डले महसुस नगरेको भन्दै अब त्यो लगानीकर्ताले बुझने विषय भएको भन्दै प्रश्न गरे ।
लगानीकर्ताको प्रश्न भुइमा खस्न नपाउँदै कार्कीले भने ‘हैन हामीले त्यो भनेका छै नौं ।’

कार्कीले त्यसो भन्नासाथ कार्की र लगानीकर्ताको भनाभन नै सुरु भयो । कार्कीले त्यसको निर्णय बोर्डले गर्न नसक्ने तर्क दिए ।

बोर्डले समस्याको समाधान गर्न नचाहेको भन्दै बोर्डले जागिर खाने काम मात्रै गरेको तर्क गरे । गत बिहीबारको सान्जेन र रसुवागढीको कारोबार निकालेर हेर्न पनि आग्रह गरे ।

लगानीकर्ताले बोर्डलाई यो समस्या समाधान गर्न नसक्ने भए हात उठाउन आग्रह गरे । बोर्डले हात झिकेको खण्डमा आफैं समस्याको समाधान गर्ने तर्क गरे ।

बोर्डले बजारमा समस्या छैन भनेर पठाएको भएर झनै समस्या रहेको बताए । अर्का एक लगानीकर्ताले आफूहरु अर्थ सचिवकोमा जाँदा तपाईहरुको कुनै समस्या नै रहेनछ भनेर पठाएको पनि जानकारी गराए ।

बोर्डले पठाएको पत्रको बारेमा जानकारी गराउँदै बोर्डसँग तपाईहरुको कुनै झगडा भएको हो ? भन्दै उल्टै प्रश्न गरे ।

लगत्तै उनीहरुले बोर्डको सञ्चालक समितिका आफूहरुलाई राखेर छलफल गर्न आग्रह गरे । बोर्डका सञ्चालकले सबै नबुझेको र बोर्डका अधिकारीले बुझे पनि बुझाउन नचाहेको तर्क गरे । त्यो समयमा कार्की र गिरी भए एकअर्काको मुख हेराहेर गरेर मात्रै बसे ।

यति भएपछि कार्की १५ मिनेट काम छ भन्दै निस्किए । त्यसपछि लगानीकर्ता र गिरीसँग वार्ता सुरु भयो । गिरीले नेप्से र सिडिएससीबाट आएको रिपोर्ट हेरेको र सिडिएससीले गणनाविधि नै दिएको भन्दै त्यो सबै विषय बोर्डमा राखेको जानकारी गराए । उनले शुक्रबार, आइतबार र २४ गते बोर्ड बैठक बसेको र त्यो बैठकमा सबै विषय राखेर छलफल गरेको बताए ।

बोर्डलाई मन्त्रालयले लगानीकर्तासँग मिलेर के फण्डा गरेको भन्दै प्रश्न गरेको समेत जानकारी गराए । हामीले कुनै पनि फण्डा नरहेको जानकारी गराउँदा पनि मन्त्रालयले किन निर्णय नगरेको भनेर सोधेको छ ।

ल्याप्चे ल्याउने व्यवस्था अनलाइनबाटै काम गर्ने सिस्टम बनाउने पनि गिरीले जानकारी गराए । सिस्टम नै भएपछि कर छलिको गुन्जायस नहुने बताए । बोर्डमा भएको छलफलभन्दा बाहेक अरु बाहिर जान नसक्ने बताए ।

लगानीकर्ताले भने अनुसार ब्रोकरले पठाउने विषयमा छलफल भएको पनि बताए । त्यही क्रममा कारोबार गर्ने सबैले मेरो सेयर चलाउने जानेका छन् भन्दै प्रश्न गरेका थिए । ब्रोकरले जे भनेपनि सबै लगानीकर्ताले मेरो सेयर चलाउन समस्या रहेको बताए ।

बोर्डले मन्त्रालयमा पठाएको पत्रले बजारमा कुनै समस्या नरहेको देखिएको भन्दै अहिले बजारमा कुनै समस्या नरहेको हो, त्यो पत्र पठाउँदा खुसी हुनुहन्छ ? भन्ने लगानीकर्ताको प्रश्नमा गिरीले भने, ‘बोर्डले गरेको निर्णयले हामी खुसी हुने वा नहुने भन्ने कुरा हुँदैन ।’

एक लगानीकर्ताले ल्याप्चेको विकल्प दिने भएपनि आधार मूल्य सबै लगानीकर्ताले इन्ट्री गर्ने पर्ने भन्दै प्रश्न गरे ।

गिरीले त्यसको जवाफ दिँदै बोर्डको निर्णय अनुसार १ पटक दिएपछि हुने बताए । १ पटक दिएपछि सिस्टमले क्याच गर्ने बताए ।

तर हरेक लगानीकर्ता त्यो दिन सक्षम छन् कि छैनन् ? भन्ने लगानीकर्ताले फेरि प्रश्न गरे । सिडिएससीले ल्याउने सिस्टमले अनलाइन प्रयोग नगर्ने लगानीकर्ताले पनि ब्रोकरकोमा गएको खण्डमा ब्रोकरकोमा कुन कम्पनीको सेयर होल्ड गरेको, कतिको रहेको देखिने र नभएकोमा सिस्टमले नै नदेखिने खालको हुने छ ।

त्यसले एभरेज मूल्य देखाउने छ । त्यसपछि हरेक पटक एभरेज मूल्य देखिन्छ । यसले अनलाइन प्रयोग नगर्ने ब्रोकरकोमा जानेको पनि एभरेज मूल्य सिस्टमले देखाउँछ । यसले जुन ब्रोकरबाट भएको कारोबार पनि सिस्टममा आउने छ । मेरो सेयर नहुने ब्रोकरकोमा जाने भएपछि त्यो सिस्टममा जान्छ । त्यसको लागि पनि लगानीकर्ता ब्रोकरकोमा जानै पर्ने गिरीले बताए ।

लगानीकर्ताले बोर्ड बैठकमा राख्न आग्रह गरेपछि गिरीले स्वीकारे ।

गिरीले पुन सबै कुरा बोर्डबाट हुने बताए । उनले भने ‘अब कर्मचारीहरुले यो कुराको जानकारी गराउन सकेनन्, हामी जानकारी गराउँछौं भनेर भन्नु भएको छ, भनेर उहाँहरुलाई इनफर्मल भेटाउन सकिन्छ । उहाँहरुलाई भेटेर यो कुरा बुझाउनु ।’
गिरीले त्यसको लागि बोर्ड बैठकमा लगानीकर्ता आउन चाहेको जानकारी गराउने बताए ।


पुष्प दुलाल