जापानिज भाषा सिक्न अब ई–लर्निङ सेवा




जापानिज भाषा अध्ययनका लागि ई–लर्निङ सेवा सुरु भएको छ । बिहीबारदेखि जापानिज भाषा अध्ययनका लागि ई– लर्निङ सेवाको औपचारिक सम्झौता भएको हो ।

जापानस्थित जापनिज इन्स्टिच्युट अफ कलचर एण्ड इकोनोमिक्स (जेआइसिई)का सिइओ नाकाता सुनिइची र नेपालका तर्फबाट लिङकन इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाले नेपालमा जापानिज भाषा अध्ययनका लागि ई–लर्निङ सेवाको औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै जेआइसिईका सिइओ नाकाता सुनिइचीले जापानमा अध्ययनका लागि तथा रोजगारीको खोजीमा थुप्रै युवा जाने गरेकाले नेपाली युवाहरुको सहजताका लागि ई–लर्निङ सेवा सुरु गर्न लागिएको बताए ।

‘जापानमा जाने नेपाली युवाहरु भाषा अध्ययन गरेर गए पनि कन्भरसेसन गर्न सक्दैनन, कतिपय त भाषा पढेर गए पनि राम्रोसँग बुझ्न सक्दैनन्, त्यस्तो समस्या समाधानका लागि हामीले ई–लर्निङ सेवा सुचारु गर्न लागेका हौँ,’ उनले भने ।

सिइओ सुनिइचीका अनुसार ई–लर्निङमार्फत अध्ययन गरेका विद्यार्थी तथा कामदारहरुले जापानमा सामान्य बोलिचालीको भाषा राम्रोसँग बुझ्न र बोल्न सक्छन् । ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिने नेपालका तर्फबाट जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए ।

नेपालमा सुरुवाती चरणमा इन्टरनेटको पहुँच भएका स्थानहरुमा ई–लर्निङ सेवा सुरु गरिने र नेपाल बाहिरका इन्टरनेटको पहुँच नभएका स्थानमा समेत इन्टरनेट पहुँच विस्तार गरी सेवा सुचारु गरिने ओझाको भनाइ छ ।

के हो ई–लर्निङ?
इन्टरनेटका माध्यमबाट अध्ययन गर्न सकिने सेवा नै ई–लर्निङ सेवा हो । ई–लर्निङ सेवामार्फत एन फाइभ तहसम्मको जापानिज भाषा सिक्न सकिन्छ ।

ई–लर्निङमार्फत आफू अनुकूल ठाउँमा इन्टरनेट पहुँच क्षेत्रमा बसेर अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ । आफ्नो मोबाईल, ल्यापटप तथा कम्प्युटरमार्फत ई–लर्निङ सेवा लिन सकिन्छ ।

यो सेवामार्फत जापानिज भाषा सिक्न ४ महिनाको अध्ययन कोर्स राखिएको छ ।

ई–लर्निङका लागि शुल्क कति ?
ई–लर्निङ सेवामार्फत जापानिज भाषा अध्ययनका लागि एक व्यक्तिले एउटा ई–लर्निङ आइडी र पासवर्ड लिन सकिन्छ । सो आइडी र पासवर्ड लिएबापत १५ हजार रुपैयाँ शुल्क लाग्छ ।

एउटा आइडी एक पटकमा एउटा मात्रै मोबाइल, ल्यापटप वा कम्प्युटरमा लगइन गरेर प्रयोग गर्न सकिन्छ ।

‘आफ्नो ई–लर्निङको आइडी एउटा मोबाइलमा लगइन छ र अब मोबाइलबाट नचलाएर कम्प्युटर, ल्यापटप वा अर्को मोबाइलमा लगइन गरेर अध्ययन गर्नुपर्यो भने पहिले लगइन भइरहेको डिभाइसबाट लगआउट गरेपछि मात्रै अन्य डिभाइसमा लगइन गर्न सकिन्छ’ सुनिइचीले भने ।


क्लिकमान्डु