नेपाली जहाजलाई नाकाबन्दी लगाएको चीनले नेपालमा उडान थप्न प्रस्ताव



काठमाडौं । नेपाली जहाजलाई उडान गर्ने अनुमति नदिएको चीनले आफ्नो देशका जहाजको उडान थप गर्ने प्रस्ताव गरेको छ । चिनियाँ विमान कम्पनीहरुले अहिले नेपालमा हप्तामा ७० वटा उडान गर्दै आएका छन् । चीन सरकार यो संख्यालाई बढाउने तयारी गरेको छ । तर नेपालबाट भने एउटा पनि उडान हुन सकेको छैन् ।

सन् २०१४ मा चीनको बेइजिङमा भएको सम्झौता अनुसार दुबै देशले समान संख्यामा उडान गर्न पाउने व्यवस्था छ । तर चीनले नेपाली विमानका लागि सहज वातावरण नबनाउँदा नेपालबाट भने हाल एउटा पनि उडान हुन सकेको छैन् ।

यसैबीच नेपाल सरकारले चीनसँग हुने हवाइ सेवा सम्झौताका लागि पुनरावलोकनको स्वीकृति दिइसकेको छ । जसअनुसार मन्त्रिपरिषदको निर्णयबाट सह सचिव सुरेश आचार्यको नेतृत्वमा वार्ता टोली समेत गठन भइसकेको छ ।

टोली र चीन सरकारका प्रतिनिधीबीच आगामी साउन ९ र १० गते चीनको बेइजिङमा यसबारेमा वार्ता गर्नेछ । वार्तापछि दुई देशबीच नयाँ हवाई सम्झौता पुनरावलोकन हुनेछ ।

अहिले चीनबाट नेपालमा ६ वटा चिनियाँ हवाई जहाजले सातामा ७० वटा उडान गरिरहेका छन् । जसमध्ये एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स, काथे प्यासिफिक र तिब्बत एयरलाइन्सले उडान भरिरहेका छन् ।

नेपालबाट भने हिमालयन एयरलाइन्स र नेपाल वायू सेवा निगमले उडान गर्नका लागि अझैसम्म अनुमति पाएका छैनन् ।

नेपाल सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ । जसमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । जसमध्ये चीनबाट मात्रै ५ लाख चिनियाँ पर्यटक ल्याउने लक्ष्य लिएको छ ।

यसै बजारलाई ध्यानमा राख्दै नेपाली एयरलायन्स कम्पनीहरुले पनि चासो देखाएका छन् । जसमध्ये नेपाल वायू सेवा निमगले चीनको ग्वान्जाओ लागि प्रक्रिया अगाडि बढाएको छ । तर चीन सरकारले विभिन्न बाहाना बनाउँदै आएको छ ।

चीनको ग्वान्जाओमा उडानका लागि अहिले निगमले तयारी तीव्र बनाएको छ । जसका लागि चिनियाँ टोली सेफ्टी अडिटका लागि एक सातामा नेपाल आउने तयारी गरेको छ ।

निगमका सह प्रवक्ता नवराज कोइरालाले भने, ‘सेफ्टी अडिटका लागि चिनियाँ टोली नेपाल आउँदैछ, मिति तय नभए पनि एक साताभित्रमा आउने सम्भावना छ ।’ उनका अनुसार सेफ्टी अडिट भइसकेपछि मात्रै चीन उडानबारे निर्णय हुनेछ ।

मन्त्रालयबाट गठित टोलीले भने चीनका सबै गन्तव्यमा समान संख्यामा उडानका लागि अनुमति माग गर्ने तयारी गरेको छ ।

नेपाल एयरलाइन्ससँगै हिमालयन एयरलाइन्सले समेत चीन उडानका लागि अनुमति माग गरेको छ । चीनको सांघाइ, सेन्चुवान, वुहान र च्याङसा जस्ता गन्तव्यमा समेत उडानको अनुमति माग गरिएको छ ।

यस अघि हिमालयन एयरलाइन्सले चाटर्ड गर्नका लागि यस अघि पनि सेफ्टी अडिट गराएको थियो । जसमा हिमालयन एयरलाइन्स पास भएको थियो । तर पनि हिमालयन एयरलाइन्सले चीन उडाका लागि अनुमति पाएको छैन् ।

मन्त्रालयाट गठिन समितिले काठमाडौंसँगै भैरहवास्थित गौतम बुद्ध विमानस्थलका लागि पनि छलफल गर्नेछ ।


क्लिकमान्डु