गभर्नरको निर्देशनः मर्जरमा जान तयार हुनुहोस्, मौद्रिक नीतिपछि रोइकराइ गर्न पाइँदैन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले माइक्रो फाइनान्सको चिन्ताले आफूहरु रातभरी नसुत्ने गरेको बताएका छन् ।

शुक्रबार राजधानीमा आइविएन मिडिया एण्ड रिसर्चले आयोजना गरेको कार्यक्रममा लघुवित्त सम्बन्धी कार्यक्रममा गर्भनर नेपालले अब लघुवित्त कम्पनीहरुलाई मर्जरमा लैजाने बताए ।

‘मौद्रिक नीति आउन १ महिना मात्रै बाँकी छ, तपाईहरु आफै मर्जरमा जान तयार भएर आउनुहोस, हामी विशेष व्यवस्था गर्छौ त्यसपछि रोइकराई गर्न पाइँदैन’ गभर्नर नेपालले भने ।

मौद्रिक नीति आइसकेपछि माथिल्लो निकायमा गएर जस्तोसुकै दबाब दिए पनि राष्ट्र बैंक आफ्नो निर्णयबाट पछि नहट्ने उनले जानकारी गराए ।

‘बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने निर्णय गरेपछि पनि माथिल्ला निकायहरुबाट राष्ट्र बैंकलाई धेरै ठूलो दबाब आयो तर हामीले त्यसको सामाना गर्र्यौ’ उनले भने, ‘५० औं पटक त प्रष्टिकरण दिन त म आफै पनि संसदीय समितिमा जानु पर्यो ।’

लघुवित्त संस्थाहरुमा डुब्लिकेशन र अन्य बिकृतीहरु देखिएको चिन्ताले राष्ट्र बैंक रातभर नसुत्ने गर्भनरले बताए ।

‘तपाईहरुले भनेको कुरा हामीले सुन्ने हो, तर हामीले भनेको कुरा तपाईहरुले मान्नुपर्छ, मोनोपोली गरेर माइक्रो फाइनान्स चलाएर हुँदैन’ उनले भने ।

लघुवित्तका गतिविधीलाई राष्ट्र बैंकले नजिकबाट नियालिरहेको उनले बताए । त्यसैगरी गर्भनरले लघुवित्त कम्पनीहरको सेयर मूल्य अस्वभाविक भएको भन्दै चनाखो हुन आग्रह गरे ।

‘८ अर्ब पुँजी भएका वाणिज्य बैंकको सेयर मूल्य २/३ सय रुपैयाँ हुने अनि गरिबलाई ऋण दिने लघुवित्तको सेयर मूल्य ३५ सयदेखि ४ हजार रुपैयाँ हुने ? यो कसरी सम्भव छ’ उनले प्रश्न गरे ।

लघुवित्तका सञ्चालकहरुले मर्जर लगायतका विभिन्न किसिमका हल्लाहरु चलाएर सेयर मूल्य बढाएको हुन सक्ने गर्भनरको आशंका छ ।

‘संसारमा ठूलो पुँजी भएका संस्थाको तुलनामा सानो पुँजी भएका संस्थाको सेयर मूल्य कम हुन्छ, नेपालमा भने किन यस्तो अस्वभाविक भएको हो’ उनले भने ।

त्यस्तै, लघुवित्तहरु बैंक जस्तै हुन खोजेको गर्भनरको आरोप छ । काठमाडौंमा नैल अफिस राख्नका लागि धेरै लघुवित्त कम्पनीहरु लागीपरेको र काठमाडौं आएर ग्राहक तान्ने होडबाजीमा लागेको उनको भनाइ छ ।

त्यसैले आजको आवश्यकता भनेको लघुवित्त कम्पनीको मर्जर भएको गर्भनर नेपालको निष्कर्ष छ ।

‘हामीले अध्ययन गरेरै नै मर्जरमा जान भनेका हौं, मनलाग्दी भनेको होइन’ उनले भने, ‘श्रीमान एउटा कम्पनीमा हुने र श्रीमती अर्को संस्थामा हुँदा डुब्लिकेशन भएको छ त्यसलाई नियन्त्रण गर्न अत्यावश्यक भएको छ ।’

गर्भनर नेपालका अनुसार हालसम्म १६७ वटा वित्तीय संस्था मर्ज भएका छन् । मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीहरु मर्जर गराउने उनले प्रष्ट संकेत गरे ।


क्लिकमान्डु