व्यापार घाटा कम गर्न आयातमा कडाइ, महंगा मोबाइल र रक्सीकाे भन्सार बढ्ने



काठमाडौं । सरकारले व्यापार घाटा कम गर्नका लागि विलासिता र मानव स्वास्थ्यलाई असर पार्ने सामानको आयातमा कडाइ गर्ने भएको छ ।

सरकारले मन्त्रिपरिषद्बाट पारित भएको व्यापार घाटा न्यूनिकरण सम्बन्धि राष्ट्रिय कार्ययोजना – २०७५ ले मानव स्वास्थ्यलाई हानी पुर्याउन सक्ने र मुलुकमा आयात गर्नु नपर्ने वा नगरे पनि हुने प्रकृतिका मालवस्तुको आयातमा नियन्त्रण÷नियमन र निरुत्साहन गर्ने उल्लेख गरिएको छ ।

बजेट आकारमा व्यापार घाटा हुन थालेपछि सरकारले समयसीमा तोकेर कार्ययोजना ल्याएको हो । जसमा विलासी वस्तुको आयात निरुत्साहन गर्नेदेखि निर्यात प्रबद्र्धनका समयसीमा तोकिएको छ ।

कार्ययोजनाले महंगा मोबाइल र टेलिभिजनको भन्सार दरमा वृद्धि गरी यस्ता वस्तुको आयातमा कडाइ गर्ने उल्लेख गरेको छ । कार्ययोजनामा उल्लेख भएको विषयले विदेशबाट आउने ब्रान्डेड रक्सीको आयातमा समेत कडाइ गर्न सक्ने देखिन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाललाई विदेशी वस्तुको डम्पिङ साइट बन्न नदिने बताउँदै आएका छन् । जसअनुसार खतिवडाले यो वर्षको बजेटमा विदेशबाट आयात हुने विस्कुट, चकलेट, चिप्स, चुइँगम जस्ता वस्तुको भन्सार महसुल बढाएका छन् ।

कार्ययोजनामा ३ वर्षभित्रमा खाद्य वस्तुको आयात ५० प्रतिशतले घटाउने लक्ष्य राखिएको छ । अहिले वार्षिक रुपमा करिब ३० अर्ब रुपैयाँ बराबरको चामल र २० अर्ब रुपैयाँ बराबरको तरकारी आयात हुँदै आएको तथ्यांक छ ।

सरकारले केही वस्तुको आयातमा कोटा समेत तोक्ने कार्ययोजनामा देखिन्छ । मरिच, सुपारी, दाल, केराउ जस्ता वस्तुको नेपालमा हुने खपतको विश्लेषण गरेर त्योभन्दा बढीको आयात रोक्ने उल्लेख गरेको छ ।

व्यापारीहरुले नेपाल र भारतबीचको भन्सार दरको फाइदा उठाउँदै तेस्रो मुलुकबाट मरिच, सुपारी, दाल जस्ता वस्तुहरु नेपाल भित्राएर अवैध रुपमा भारत निर्यात गर्दै आएका थिए । जसले गर्दा नेपालमा खपत हुनेभन्दा ती वस्तुहरुको आयात बढी हुने गरेको थियो ।

त्यस्तै, कार्ययोजनामा स्वदेशी उद्योगहरुले मिलेसम्म नेपाल मै पाइने कच्चा पदार्थ प्रयोग गर्नुपर्ने उल्लेख छ ।


क्लिकमान्डु