कहाँ गए साना उद्योग ? १ लाख उद्योग गायब



काठमाडौं । सरकारले आर्थिक समृद्धिको नारा घन्काए पनि यसको सकारात्मक प्रभाव लघु, घरेलु तथा साना उद्योग भएको देखिँदैन ।
मुलुकको विकासका लागि यस्ता उद्योगको संख्यात्मक र गुणात्मक दुबैखाले वृद्धि हुनुपर्नेमा घट्दो क्रममा देखिएको छ ।

सरकारले त्यस्ता उद्योगहरुलाई व्यवस्थित तथा विकासका लागि प्रोत्साहन नगरेकै कारणले उद्योगको संख्या घटेको उद्योगहरुको बुझाइ छ ।

मुलुकमा हालसम्म ४ लाख १८ हजार ५२ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तर १ लाखभन्दा बढी उद्योग अहिले सञ्चालनमा छैनन् भने जम्मा २ लाख ९९ हजार ३११ मात्रै उद्योग सञ्चालनमा रहेको देखिन्छ ।

जसमध्ये घरेलु उद्योगको संख्या १७ हजार २८९ छ ।

हाल प्रचलित औद्योगिक व्यवसाय ऐन २०७३ को व्यवस्था भन्दा अघि लघू उद्यम सम्बन्धि व्यवस्था नभएको हुँदा बाँकी सबै उद्योग साना मानिन्थ्यो ।

तर २०७३ सालतमा भएको नयाँ परिभाषा अनुसार १ लाख ५० हजार आधिकारिक रुपमा लघु उद्यम सञ्चालनमा छन् ।

औद्योगिक प्रवद्र्धनको २०७४÷७५ को तथ्यांकअनुसार हालसम्म लघु, घरेलु तथा साना उद्योग व्यवसायमा ४१ हजार १९५ करोड रुपैयाँ लगानी भएको देखिन्छ ।

जसमा २६ हजार ६८६ ले प्रत्यक्ष रोजगारी पाइरहेको अवस्था छ । भने समग्र गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान ६ प्रतिशत मात्रै छ ।

यसरी उद्योगको संख्या ठूलो मात्रामा कम हुनुमा दर्ता भइसकेर नविकरण नहुनु र बजार नपाउँदा उद्योग नै बन्द भएकाले यस्तो समस्या आएको उद्योगीहरुको भनाइ छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीका अनुसार सरकारले यसका लागि विशेष व्यवस्था गर्नुपर्ने बताउँछन् । यसरी प्रत्येक वर्ष संख्या घट्दै जानु राम्रो संकेत नभएको उनको बुझाइ छ ।

यद्यपि आर्थिक वर्ष २०७६÷७७ को बजेटमा लघु, घरेलु तथा साना उद्योगलाई सरकारले प्रोत्साहन गरेकाले समग्र व्यवासयमा सकारात्मक प्रभाव देख्न सकिने व्यवसायीहरु बताउँछन् ।

गिरी आगामी बजेटले स्वदेशी वस्तुको उपयोगका लागि दिइएको प्राथमिकता अत्यन्तै राम्रो भएको बताए ।

कपास, रेशम, ऊन, र वनस्पतिजन्य रेशा–केरा, बाँस अल्लोबाट कपडा बुन्ने उद्योगलाई प्रोत्साहित गरिने घोषणा र स्वदेशी कपडा उद्योगलाई विद्युत महसुलमा ५० प्रतिशत छुट र बैंकिङ कर्जाको व्याजमा ५ प्रतिशत व्याज अनुदानले आगामी दिनमा कपडा उद्योगको आयातलाई निरुत्साहित गर्ने र आत्मनिर्भर हुनेतर्फ अग्रसर गराउने अपेक्षा गर्न सकिने उनको भनाइ छ ।


क्लिकमान्डु